Teej banner
लिग तीन प्रश्नको उत्तर खोज्दै

लिग तीन प्रश्नको उत्तर खोज्दै

पुस १९, २०७०

सहिद स्मारक लिगको नयाँ संस्करण यसै साता सुरु भैसकेको छ। लिगको संरचना प्रत्येकपल्ट फेरिनु राम्रो मानिँदैन, तर नेपाली फुटबलमा यस्तै हुन्छ। यसपल्ट लिगमा १३ टिम छन्। एनआरटीले भाग नलिएपछि १४ औं टिम नरहेको हो। यस्तोमा रेलिगेसनमा दुई टिम मात्र पर्नेछन्, एनआरटीले स्वतः रेलिगेसन बेहोरेको छ।

पहिलो चरणमा १३ टिमले एक-आपसमा खेल्नेछन् र ७८ खेलपछि सुपर लिग सुरु हुनेछ। त्यसमा कम्तीमा पाँच टिम हुनेछन्, बढीमा छवटा टिम। छैटौं टिम शीर्ष स्थानमा रहने टिमसँग १५ अंकको दूरीमा रहने हो भने मात्र उसले सुपर लिग खेल्ने अवसर पाउनेछ। यसपल्ट लिगमा के हुने हो ? यसपल्ट मूलभुत रूपमा लिग तीन प्रश्नमा अल्भिmनेछ र त्यसको उत्तर खोज्ने प्रयास हुनेछ।

पहिलो प्रश्न

यसपल्ट लिग कसले जित्ने छ ? यसको सिधा सिधा उत्तर दुई क्लब हुनेछन्, थ्री स्टार र मनाङ-मस्र्याङ्दी। संयोग कस्तो भने पोहोरेको लिगमा पनि यिनै दुई क्लब शीर्ष दुईमा थिए, थ्री स्टार भने विजेताका रूपमा। यसपल्टको लिगमा पनि दुई पक्षीय भिडन्त हुने निश्चित छ। अहिलेसम्मका तीन नकआउट प्रतियोगितालाई आधार मान्ने हो भने मनाङ लयमा छ।

मनाङले गोर्खाकप, सफल पोखराकप तथा एनसेलकप जितेको छ। भुटानमा पनि उसले नकआउट उपाधि जितेको छ। थ्री स्टारले भने सिक्किममा गभर्नर्स गोल्डकप मात्र जितेको छ। फाइनलमा उसले मनाङलाई हराएको थियो। यी दुई टिमलाई टक्कर दिने एकमात्र विकल्पका रूपमा आर्मी छ। पछिल्लो लिगमा पनि आर्मी तेस्रो नै भएको थियो।

लिगमा पुलिसको प्रदर्शनले पनि धेरै फरक पार्नेछ, तर समस्या के छ भने यो टिम अहिले उपाधिको होडमा छैन, किनभने पुलिस पहिले जस्तो छैन। उपाधि होडको समीकरणमा उसले फरक भने पार्न सक्नेछ। फ्रेन्ड्स, मछिन्द्र, हिमालयन शेर्पा र संकटाजस्ता टिमले सुपर लिगमा प्रवेशका लागि खेल्ने हुन्। उनीहरू अप्रत्याशित नतिजा निकाल्न सक्षम छन्।

दोस्रो प्रश्न

रेलिगेसनमा पर्ने दुई टिम कुन-कुन हुनेछन् त ? पहिलो प्रश्नको उत्तर जस्तो साँघुरिएको छ, दोस्रो प्रश्नको उत्तर भने धेरै हदसम्म खुल्ला छ। लिगको मध्य भागमा पर्ने टिमहरू लगभग उस्तै छन्। आरसीटीले कस्तो खेल्नेछ, त्यसको अनुमान गर्न गार्‍हो छ। किनभने उसले सिधै यसपटकको लिग खेल्दैछ। ब्वाइज युनियन 'बी' डिभिजन विजेताका रूपमा माथि उक्लिएको हो।

ब्वाइज युनियनले एनसेलकपको फाइनल खेलेको थियो, तर पनि ब्वाइज युनियन ढुक्क हुने स्थितिमा छैन। एपीएफले रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको लामो समय भयो। यसपल्ट पनि उसलाई सजिलो हुनेछैन। पोहोर जावलाखेल बल्लतल्ल रेलिगेसनबाट बचेको थियो, यसपल्ट पनि उसमाथि समस्या रहने नै छ। पोहोर राम्रो खेलेको सरस्वतीका सामु पनि धेरै चुनौती छन्।

तेस्रो प्रश्न

लिग कसले जित्नेछ अथवा को-को रेलिगेसनमा पर्नेछन् भन्दा पनि महत्त्वको प्रश्न हो, क्लबहरूले नेपाली फुटबललाई कहिलेसम्म धान्न सक्नेछन् ? सबैभन्दा पुरानो इतिहास भएको एनआरटीले आर्थिक समस्या देखाउँदै लिग नखेल्ने निर्णय गरेको हो। छ पल्टको विजेता आरसीटी पनि आयभन्दा ब्यय बढ्न थालेपछि धेरै समय अन्यौलमै रह्यो।

अन्तिम समयमा मात्र उसले खेल्ने निर्णय गरेको हो, एनसेलकप त खेल्दै खेलेन्। विभागीय तीन टिम छाडेर सबै क्लब आर्थिक समस्याबाट गुजि्ररहेका छन्। एकातर्फ खेलाडीको पारिश्रमिक र अरू खर्च बढेको बढ्यै छ। आम्दानीका स्रोत भने उही छन्। यो समस्या प्रत्येक वर्ष चुलिँदै छ। डर के छ भने कतै लिगसँगै नेपाली फुटबल नै 'क्रास' हुने त होइन ? स्थिति वास्तवमै गम्भीर छ।

प्रकाशित :पुस १९, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्