
नक्कली नेताहरू
पुस २६, २०७०
हास्यव्यंग्य श्रृंखलाहरूमा राजनितिक नेताहरूको नक्कल गर्ने कलाकारहरू लोकप्रिय भैरहेका छन्। पछिल्लो समय हास्य श्रृंखलामा नक्कली नेताका रूपमा घनश्याम गौतम (प्रचण्ड) बाहेक ज्योति काफ्ले (बाबुराम भट्टराई), सीताराम कट्टेल (केपी शर्मा ओली), दमन रूपाखेती (शेरबहादुर देउवा), कमल मैनाली (माधवकुमार नेपाल), राजा राजेन्द्र/प्रदीप सिलवाल (सुशील कोइराला), विपना बस्नेत (हिसिला यमी) स्थापित छन्। नेताहरूको नक्कल गर्दै पछिल्लो समय दर्शकमाझ स्थापित भएका एक कलाकार हुन्- घनश्याम गौतम। हास्य श्रृंखला झ्याँइकुटी झ्याइँमा एमाओवादी अध्यक्ष प्रचण्डको नक्कल गरेर चर्चामा आएका गौतम दोस्रो संविधानसभाको निर्वाचनपछि हास्यश्रृंखला 'मेरी बास्सै' मा आबद्ध भएका छन्। कालो सुट, चस्मा, नक्कली जुँगामा दुरुस्तै प्रचण्डजस्ता देखिने कलाकार गौतम नक्कली प्रचण्डका रूपमा श्रृंखलामा आउन थालेपछि अचेल महोत्सव तथा स्टेज कार्यक्रममा समेत व्यस्त हुन थालेका छन्। गौरादह, झापाका गौतम विगत दुई दशकदेखि अभिनय क्षेत्रमा छन्। हातेमालो रेडियो नाटक हुँदै सर्वनाम नाट्य संस्थाबाट थुप्रै नाटकमा अभिनय गरेका गौतमले एमआर्ट थिएटरबाट अभिनयको प्रशिक्षण लिएका थिए।
शान्तिको लोकप्रियता
नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको टेलिश्रृंखला 'शान्ति' ले कम समयमै दर्शकको मन जितेको छ। पवन केसीद्वारा निर्देशित यो टेलिश्रृंखलामा रवि गिरी, रश्मी भट्ट, सिर्जना अधिकारी, श्री थापा, कमल कृष्ण, अमृता पौडेल, लक्ष्मण विक्रम बस्नेत, अन्जन शर्मा, संगीता यादव आदि कलाकारले अभिनय गरिरहेका छन्। नेपाल पिस ट्रष्ट फण्डले निर्माण गरेको यो टेलिश्रृंखला देशमा विद्यमान शान्ति र पुनःस्र्थापनाको प्रयासमा केन्दि्रत छ। कृष्ण ढुंगानाद्वारा लिखित यो टेलिश्रृंखलाका छायांकार वसन्त रूपाखेती हुन् । ५२ भाग लामो यो टेलिश्रृंखला प्रत्येक शनिबार साँझ ७ः२५ बजे तथा आइतबार बिहान १० बजे प्रसारण हुन्छ। श्रृंखलाको ११ वटा श्रृंखला प्रसारण भैसकेको निर्देशक केसीले बताएका छन्।
ठगिए बद्री
केही वर्षअघि 'तँ त साह्रै नै बिगि्रस नि बद्री' शीर्षकको चलचित्र निर्माण भएको थियो जहाँ बद्री नामको फटाहा चरित्रको कर्तुत देखाइएको थियो। चलचित्रको शीर्षक नै बद्री भएकाले त्यतिबेला धेरै बद्रीले लज्जित महसुस गरे। अहिले प्रसारण भैरहेको एक हास्यश्रृंखलामा पनि बद्रीलाई नै सिकार बनाइएको छ। लोकगायक बद्री पंगेनीले उक्त श्रृंखलामा ठगिने पात्रको भूमिकामा अभिनय गरेका छन्। हास्यश्रृंखला मेरी बास्सैको गत मंगलबारको प्रसारणमा गायक बद्रीलाई धुर्मुस अर्थात् सीताराम कट्टेलले नमज्जाले ठगेको देखाइएको थियो। 'मेरी बास्सैमा अभिनय गर्ने कुरा अप्रत्याशित थियो, तर मैले हास्य अभिनयको फरक स्वाद पनि चाखें,' बद्रीले मेरी बास्सैमा अभिनयको अनुभव सुनाउँदै भने।
प्रकाशित :पुस २६, २०७०















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्