
तलेजु मन्दिर
पुस २६, २०७०
काठमाडौं हनुमान ढोका दरबार परिसरमा अवस्थित तलेजु भवानीको मन्दिर वर्षको एक दिन मात्र खुल्छ। दसैंको महानवमीका दिन मात्र खुल्ने यो मन्दिर परिसरमा दर्शनार्थीको बिहानैदेखि भीड लाग्छ। तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पुजिन्छ। तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा-अर्चना गरिन्छ। तुलजा भवानीलाई दैवी शक्ति वा मातृशक्तिका रूपमा पुजिन्छ। तुलजा भवानीको पूजा-अर्चना नेपाल, भारत लगायत तिब्बतमा पनि गरिन्छ।
काठमाडौं उपत्यकाका तीन सहरबाहेक उपत्यकाकै साँखु, फर्पिङ, कीर्तिपुर, ठिमी, चापागाउँ साथै नुवाकोट, पनौती र दोलखामा पनि तुलजा भवानीका मन्दिर छन्। भारतको हैदरावादको तुलजापुर तथा तिब्बतको भाखौरमा तुलजा भवानीको मन्दिर छ। नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कार्नाटवंशी राजा हरिहरसिंह देव हुन्। उनी सिम्रौनगढका राजा थिए।
मल्ल राजाहरूले तलेजु मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए। तीनतलाको हनुमानढोकाको तलेजु मन्दिर १ सय २ फिट अग्लो छ। सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरवारको मुलचोकमा ल्याएर राखिन्छ। नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा लगिन्छ र दिनभर पुजा अर्चना गरी सर्वसाधारणका लागि खुला गरिन्छ।
प्रकाशित :पुस २६, २०७०















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्