Teej banner
सिइएसको धमाका

सिइएसको धमाका

- एकराज सुवेदी

माघ ३, २०७०

नेपालमा क्यान इन्फोटेकको समापनकै क्रममा अमेरिकाको लस भेगासमा विश्वकै ठूलो मानिने कन्जुमर इलेक्ट्रोनिक शो अर्थात् सिइएस प्रारम्भ भयो। गत जनवरी ७ देखि १० गते सम्म चलेको उक्त शोमा ३ हजार २ सय प्रदर्शक कम्पनीहरू सहभागी थिए। सिइएसमा स्मार्टफोन, ट्याब्लेट तथा ल्यापटप मात्र होइन, आश्चर्यलाग्दा प्रविधि पनि प्रदर्शित गरिए। कुनै साइन्स फिक्सन चलचित्रमा देखिने उत्पादन जस्ता ती प्रविधि निकै रोचक थिए।

अमेरिकाको लस भेगासमा सन् १९६७ देखि नै सिइएसको आयोजना हुँदै आएको छ। यो यस प्रकारको विश्वकै ठूलो इभेन्ट हो, जुन वर्षको सुरु अर्थात् जनवरी महिनामै सम्पन्न हुन्छ। प्रत्येक वर्ष यो इभेन्टमा १ लाख २५ हजार भन्दा बढी दर्शक उपस्थित हुन्छन्, जसमा इलेक्ट्रोनिक्स र कन्जुमर टेकका क्षेत्रमा रहेका विश्वका ठूला-ठूला कम्पनीले भाग लिन्छन् र विश्वका अत्याधुनिक ग्याजेटहरू प्रदर्शित हुन्छन्। हाइ पर्फमेन्स अडियो, लाइफस्टाइल इलेक्ट्रोनिक्स तथा गि्रन टेक्नोलोजी पनि यसमा प्रदर्शित हुन्छन्। १८ लाख बर्गफिट क्षेत्रफलमा फैलिएको यो कन्भेन्सन सेन्टरमा यो वर्ष पनि १ लाख ५० हजार भन्दा बढी संलग्न थिए भने अमेरिकाबाहिरका देशबाट मात्र ३५ हजार व्यक्ति सहभागी थिए।

सिइएसमा विभिन्न प्रविधि पहिलो पटक प्रदर्शन हुँदै आएको छ। सन् १९७० मा भिसिआर, १९७४ मा लेजर डिस्क, १९८१ मा क्यामकर्डर, १९८१ मा कम्प्याक्ट डिस्क (सिडी), १९८५ मा निन्टेन्डो इन्टरटेनमेन्ट सिस्टम, १९९३ मा मिनी डिस्क, १९९६ मा डिभिडी, १९९८ मा हाई-डिफिनिसन टिभी, १९९९ मा डिजिटल भिडियो रेकर्डर, २००० मा स्याटेलाइट रेडियो, २००३ मा ब्लु-रे डिस्क, २००८ मा ओएलइडी टेलिभिजन, २०१० मा ट्याब्लेट, २०११ मा स्मार्ट डिभाइस, २०१२ मा अल्ट्राबुक तथा सन् २०१३ को प्रदर्शनीमा वेरेबल अर्थात् शरीरमा जडान गरिने प्रविधि पहिलो पटक प्रदर्शन गरिएका थिए। ती सबै प्रविधि मानिसको जीवनलाई सहज बनाउन लोकप्रिय रहे। यी त केही उदाहरण मात्र हुन्। यस पटकको प्रदर्शनीमा पनि विभिन्न रोचक प्रविधि प्रदर्शनमा राखिए। प्रदर्शनीका केही रोचक प्रविधि ः

कभ्र्ड टिभी

पहिले प्रयोगमा आएका हाई-डिफिनिसन टिभीले अब नपुग्ने भएको छ। अब त्यस्ता स्क्रिनलाई प्रयोगकर्ताको चाहनाअनुसार दोबार्न र पट्याउन मिल्ने बनाइएको छ। सामसुङ र एलजीले यस्तै किसिमका टिभी प्रदर्शन गरे। ती टिभीका स्क्रिनलाई आवश्यकता अनुसार फ्ल्याट वा कभ्र्ड आकारमा हेर्न सकिन्छ। सामसुङले यही बर्ष नै अमेरिकी बजारमा ८५ इन्च तथा १ सय ५ इन्चको कभ्र्ड टिभी ल्याउने घोषणा गरेको छ।

अल्ट्रा एचडी

अब रिज्योलुसनमा आधारित टिभी पनि काम लाग्ने छैनन्। त्यसैले यसपटकको सिइएसमा अल्ट्रा हाई-डिफिनिसन अर्थात् फोर के टिभीको पनि निकै चर्चा भयो। अहिले प्रयोगमा आएका १०८० पिक्सेल भन्दा ४ गुणा बढी रिजोलुसन भएको टिभीलाई फोर के भनिएको हो। यसको भिडियो कन्टेन्ट पनि अझ सार्प छ। सोनी, एलजी र भिजिओ आदिले यस्ता टेलिभिजन बजारमा उतार्ने घोषणा गरेका छन्। युट्युबले फोर के प्रविधिमा आधारित भिडियो प्रदर्शन गर्‍यो भने नेटफिक्सले पनि सन् २०१४ को अन्त्यमा यो प्रविधिमा आधारित कन्टेन्ट स्टि्रमिङ गर्ने बताएको छ। ग्राहकले छिट्टै सोनीको फोर के क्यामकर्डरजस्ता डिभाइस प्रयोग गरी आफ्नै युएचडी कन्टेन्ट रेकर्ड गर्न सक्ने बताइएको छ।

कारः अर्को टेक हटस्पट

अब प्रविधिको अर्को प्रयोग कारमा पनि हुने भएको छ। अहिले कतिपय कारमा जिपिएसको प्रयोग भैरहेको छ। अब भने म्युजिक सर्भिस प्यान्डोरा तथा सर्च इन्जिन बिङ आदिका एप्स पनि कारको ड्यासबोर्डमा प्रयोग हुने भएका छन्। हुन्डाई कम्पनीको कार जेनेसिसमा ड्राइभरले स्मार्टफोन अथवा ट्याब्लेटको एप्स प्रयोग गरी कार चलाएको देखाइयो। यी सबैका आधारमा भविष्यमा कारमा विभिन्न प्रविधि प्रंयोगमा आउने अनुमान गरिएको छ।

तकियामै मोबाइल चार्ज

यो एक प्रकारको तकिया हो, तर यसले कुनै पनि मोबाइललाई चार्ज गर्छ। क्यानाडाका दुई जना डिजाइनरले यसको डिजाइन गरेका हुन्। यसको नाम 'पावर पिलो' राखिएको छ। यसलाई सोफा वा बेडमा राख्न सकिन्छ। यसलाई चार्ज गर्न युएसबीका साथै लिथियम-पोलिमर ब्याट्री समेत राखिएको छ। यो हेर्दा सामान्य तकिया जस्तै छ।

स्मार्ट टुथब्रस

फ्रान्सको कोलीब्री नामक कम्पनीले विश्वकै पहिलो स्मार्ट टुथब्रस प्रदर्शन गर्‍यो। यसमा प्रयोग गरिएको सेन्सरले ब्रस गर्दा कति फोहोर निस्कियो भन्ने देखाउँछ। यसले ब्रसिङ हिस्ट्री समेत सेभ गरेर राख्छ, जसले गर्दा प्रत्येक दिन त्यतिकै वा त्योभन्दा राम्रो तरिकाले ब्रस गर्न सकिन्छ। ती सबै जानकारी स्मार्टफोनको एप्समा समेत संग्रहित हुन्छ।

याहु न्युज डाइजेस्ट

न्युज साइट याहुले याहु न्युज डाइजेस्ट उपलब्ध गराउने घोषणा गर्‍यो। यो नयाँ एप्सले प्रयोगकर्तालाई दिनको दुई पटक समाचार सारांश उपलब्ध गराउनेछ। प्रत्येक सारांशमा नौवटा छोटा समाचार हुनेछन्। विभिन्न टि्वट्स, भिडियो र म्याप आदि विभिन्न स्रोतका आधारमा ती समाचार तयार पारिनेछ। उक्त एप्सले प्रयोगकर्ताले कति समाचार पढे भन्ने कुराको पनि रेकर्ड राख्नेछ।

एजेन्सीको सहयोगमा

प्रकाशित :माघ ३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्