
भिजेले गरे विवाह
माघ ३, २०७०
सगरमाथा टेलिभिजनका भिडियोजक्की तथा चलचित्र अभिनेता दिनेश दुलाल वैवाहिक जीवनमा बाँधिएका छन्। सगरमाथा टेलिभिजनबाट प्रत्येक बुधबार साँझ ६ः३० बजे प्रसारण हुने कार्यक्रम
'मनोरञ्जन एक साथ' का प्रस्तोता दुलालले मिचिगन, अमेरिकामा बसोबास गर्दै आएकी दमक, झापाकी इन्दु शर्मालाई जीवनसाथी बनाएका हुन्। उनीहरूले गत मंसिरको अन्तिम साता काठमाडौंमा दुवै परिवारका सदस्यहरूको उपस्थितिमा कोर्ट म्यारिज गरेका हुन् । लामो समयदेखि टेलिभिजन कार्यक्रममा सक्रिय दुलालले पछिल्लो समय दुई चलचित्र 'काले' तथा 'राहदानी' मा नायकको भूमिका निर्वाह गरेका छन्।
इमेजको स्कुल डान्स च्याम्प
इमेज च्यानलको नृत्यमा आधारित रियालिटी शो 'स्कुल डान्स च्याम्प' को प्रसारण टुंगिएको छ। डि्रम फ्याक्टि्र इन्टरटेन्मेन्टले तयार पारेको उक्त रियालिटी शोको गत साता ग्रान्ड फिनाले सम्पन्न भएको थियो। यो कार्यक्रम नेपालका विभिन्न जिल्लाबाट छानेर ल्याइएका ६० जना प्रतिस्पर्धीबाट प्रारम्भ भएको थियो। कार्यक्रमको प्रसारणसँगै उत्कृष्ट ३०, २० तथा अन्त्यमा उत्कृष्ट १० सँगै ५ जना प्रतिस्पर्धीलाई वाइल्ड कार्डमार्फत फिर्ता बोलाएर ग्रान्ड फिनालेका लागि १५ जनालाई समावेश गरिएको थियो। रियालिटी शोमा क्रिस्टिना पुन प्रथम, निष्मा अधिकारी द्वितीय तथा सञ्जय लामा तृतीय भएका थिए। कार्यक्रमको प्रारम्भदेखि नै उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै आएका तथा नृत्यका विभिन्न विधामा उत्कृष्ट प्रतिभा प्रस्तुत गरेर प्रतिस्पर्धी सुजन मार्पाले वेस्ट पर्फम अफ स्कुल डान्स च्याम्प सिजन वन, जजेज च्वाइस एवार्डका साथै एउटा मोबाइल फोन उपहार पाए।
शान्तिको खोजी
विगतमा भएको सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिहरूको वर्तमान अवस्था, बिगि्रएका भौतिक संरचनाको पछिल्लो जानकारी, द्वन्द्वबाट विस्थापित भएकाहरूको पीडा आदि विषय समेटिएको नयाँ कार्यक्रम 'शान्तिको खोजी' को प्रसारण नेपाल टेलिभिजनबाट प्रारम्भ भएको छ। बुधबार राति १० बजे प्रसारण हुने यो कार्यक्रमको निर्माण नेपाल टेलिभिजनकै सञ्चारकर्मी राजु सिलवालले गरेका हुन्। अञ्जना शिल्पकारले सञ्चालन गर्ने यो कार्यक्रम ५२ भाग लामो हुनेछ। कार्यक्रमको ११ औं श्रृंखला गत बुधबार प्रसारण भएको छ। नेपाल सरकारको शान्ति कोषको सक्रियतामा यो कार्यक्रम तयार पारिएको हो।
प्रकाशित :माघ ३, २०७०



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्