Teej banner
मलेसियामा हुँदैछ नेफ्टा एवार्ड

मलेसियामा हुँदैछ नेफ्टा एवार्ड

माघ ३, २०७०

नेपाली चलचित्रकर्मीहरू पहिलो पटक मलेसियामा पुरस्कृत हुने भएका छन्। नेपाल चलचित्र प्रविधिक संघ (नेफ्टा) ले छैटौं संस्करणको नेफ्टा चलचित्र एवार्ड माघ १७ गते शुक्रबार साँझ मलेसियाको सेतीया आलम सहरस्थित सेतीया कन्भेन्सन सेन्टरमा प्रस्तुत हुने एउटा भव्य समारोहकाबीच वितरण गरिनेछ।

एवार्ड वितरण समारोहमा नेपालका लोकप्रिय कलाकारहरूको उपस्थिति रहनेछ। एवार्ड वितरण समारोहको व्यवस्थापनको जिम्मा लिएका सुवास गिरीले यो कार्यक्रम सम्पन्न गर्न करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छन्। गिरी भन्छन्- 'नेपाली चलचित्रको विदेशी बजार विस्तारका लागि ठूलो लगानीमा विदेशमा एवार्ड वितरण गर्न लागिएको हो।

एवार्ड आयोजना हुने मलेसियाको सेतियो सहरको स्थलगत भ्रमण गरेर केही साताअघि काठमाडौं फर्किएका नेफ्टा एवार्डका संयोजक मनोज केसीको समूहले दुई साताअघि पत्रकार सम्मेलन गरेर एवार्ड सम्पन्न हुने हल तथा नेपालबाट गएको टोली बस्ने होटलको भिडियो क्लिप देखाएको थियो। मलेसिया भ्रमण गरेर फर्किएका जुरी सदस्य सुनील थापाले त्यहाँ पुग्ने कलाकार तथा प्राविधिक सबैलाई अनुशासित भएर रहन सुझाव दिएका थिए। यसअघि ३ पटक स्थगित गरिएको यो एवार्ड समारोह चौथो मितिमा जसरी पनि सम्पन्न हुने दाबी गर्दै संयोजक केसीले पैसामा एवार्ड किनबेच नहुने समेत दाबी गरेका थिए। पत्रकार सम्मेलनमा नेफ्टा एवार्डका मलेसियन प्रायोजक मिस्टर रजिकले एवार्ड समारोह भव्य र सभ्य हुने विश्वास व्यक्त गरेका थिए।

एवार्ड वितरण समारोहमा नेपालबाट १ सयभन्दा बढी कलाकार तथा सञ्चारकर्मी सहभागी हुँदैछन्। समारोहमा नेपाली चलचित्रका लोकप्रिय अनुहारले गीत, नृत्यसहित आकर्षक प्रस्तुति दिनेछन्। एवार्ड वितरण समारोहमा अभिनेता नीर शाहलाई 'अभिनय शिरोमणी' का रूपमा सम्मान गरिँदैछ। चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले चलचित्रको पर्दा पछाडि काम गर्ने प्राविधिकको टोलिले गर्न लागेको यो एवार्ड समारोह स्मरणिय हुने विश्वास गरेका छन्। एवार्ड कार्यक्रमका लागि ५५ रिङ्गेट अर्थात् ३ हजार ५ सय नेपाली रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। अध्यक्ष मनोज केसीले मलेसियामा नेपालीको जनसंख्या करिव ६ लाख रहेकाले आफ्नो कार्यक्रम सफल हुने अनुमान गरेका छन्।

एवार्ड समारोहको बजार व्यवस्थापनको जिम्मा कि एड्भरटाइजिङले लिएको छ। एड्भरटाइजिङका मिडिया म्यानेजर पुष्प अर्यालका अनुसार पहिलो पटक विदेशमा वितरण हुने एवार्ड भएकाले प्रभावकारी ढंगले बजार व्यवस्थापन भैरहेको छ। उनका अनुसार सगरमाथा टेलिभिजनले यो समारोहको प्रत्यक्ष प्रसारण गर्नेछ।

यस्तो छ मनोनयन

नेफ्टा एवार्डमा ३१ विधामा चलचित्रकर्मी तथा चलचित्रहरू पुरस्कृत हुनेछन्। सार्वजनिक गरिएका उत्कृष्ट तीन मनोनयनमा पनि अधिकांश कलाकार दोहोरिएका छन्। उत्कृष्ट नायक, नायिका, चलचित्र तथा निर्देशकको  विधामा भने पाँच जनाको नाम मनोनयन गरिएको छ। एवार्डको मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये विजेताको छनौट एसएमएसका आधारमा गरिने बताइएको छ। उत्कृष्ट पाँचमा रहेका नायक तथा नायिकामध्येबाट एमएमएसकै आधारमा 'पपुलर एक्टर अफ द इयर' पनि घोषणा गरिनेछ। वर्ष २०६८ देखि २०६९ सालको भदौसम्म प्रदर्शन भएका चलचित्रमध्येबाट भरत शाक्य, विजयरत्न तुलाधार, जावेद शाह, प्रभाकर शर्मा तथा सुनील थापा सम्मिलित जुरीले उत्कृष्ट पाँचको सूची तयार पारेको थियो।

उत्कृष्ट चलचित्रको विधामा अन्दाज, काठमाडौं, लुट, मेरो लभ स्टोरी तथा शायदबीच प्रतिस्पर्धा हुँदैछ। नायकतर्फ जीवन लुइँटेल, राजबल्लभ कोइराला, आर्यन सिग्देल तथा सौगात मल्ल भिड्दैछन् भने नायिकातर्फ केकी अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ, निशा अधिकारी तथा रेखा थापाबीच प्रतिस्पर्धा हुँदैछ। उत्कृष्ट निर्देशकको विधामा उज्ज्वल घिमिरे, आकाश अधिकारी, नीर शाह, सुदर्शन थापा तथा सुरज सुब्बा नाल्बोलेे प्रतिस्पर्धा गर्दैछन्। उत्कृष्ट कथातर्फ ओम प्रतीक, आकाश अधिकारी तथा कर्ण शाक्य प्रतिस्पर्धा गर्दैछन् भने पटकथाका लागि सुरज सुब्बा, साम्तेन भुटिया र निश्चल बस्नेत मैदानमा छन्। संवाद विधामा ओम प्रतीक, कर्ण शाक्य र सौगात/दयाहाङ/निश्चलबीच प्रतिस्पर्धा हुँदैछ। नृत्य निर्देशकतर्फ शंकर बीसी र रेनशा राईबीच प्रतिस्पर्धा हुँदैछ। द्वन्द्व निर्देशनमा एनबी महर्जन, योगेन्द्र श्रेष्ठ तथा चन्द्र पन्त अन्तिम तीनमा छन्। संगीतकारको विधामा वसन्त सापकोटा, सुरेश अधिकारी तथा कालीप्रसाद बासकोटाबीच प्रतिस्पर्धा हुँदैछ। छायांकारको विधामा पुरुषोत्तम प्रधान, राजेश श्रेष्ठ तथा सञ्जय लामा मनोनीत छन्। हास्यकलाकारको विधामा दयाहाङ राई, विल्सन विक्रम राई तथा जयकिशन बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ। नव नायकतर्फ संयम पुरी, सविन श्रेष्ठ तथा गजित विष्टबीच प्रतिस्पर्धा हुँदैछ भने नवनायिकातर्फ प्राप्ति घिमिरे, एन्नी जिम्बा  तथा अनुष्का ढकालबीच प्रतिस्पर्धा छ। नवनिर्देशकको विधामा सुवास कोइराला, साम्तेन भुटिया तथा निश्चल बस्नेत प्रतिस्पर्धा गर्दैछन्। गायकतर्फ राजेशपायल राई, दीपक लिम्बु तथा हेमन्त राना भिड्दैछन् भने गायिकाको एवार्डका लागि माण्डवी त्रिपाठी, आस्था राउत तथा मल्लिका कार्कीबीच प्रतिस्पर्धा हुनेछ।

के भन्छन् कलाकार?

उत्कृष्ट नायिकाको विधामा मनोनित नायिका ऋचा शर्मा अन्तर्राष्ट्रिय स्तरमा हुन लागेको एवार्ड भव्य रूपमा सम्पन्न हुनुपर्ने कुरामा जोड दिन्छिन्। चलचित्र 'मेरो लभ स्टोरी' कि यी नायिका भन्छिन्—'एवार्ड समारोह अवलोकन गर्न आएका दर्शकलाई मनोरञ्जन हुने गरी कार्यक्रम सञ्चालन गरिनुपर्छ।' कार्यक्रममा नृत्य प्रस्तुत गर्ने तयारी गरिरहेकी नायिका सुमिना घिमिरेले एवार्डमार्फत सकारात्मक सन्देश दिनुपर्ने धारणा व्यक्त गरेकी छिन्। एवार्ड समारोहमा नृत्य प्रदर्शन गर्ने तयारी गरिरहेका नायक एशराज गराचले कार्यक्रममा प्रस्तुत गरिने नृत्य कार्यक्रमको थिमसँग मिल्नुपर्ने बताएका छन्। नायक आयुष रिजालले भने समारोहको प्राविधिक पक्ष बलियो हुनुपर्नेमा जोड दिएका छन्। नायिका झरना थापाले समारोहमा सहभागी हुने कलाकारले सक्दो मेहनत गर्नुपर्ने धारणा व्यक्त गरेकी छिन्। समारोहमा नृत्य प्रदर्शन गर्ने तयारी गरिरहेकी फेसन स्टाइलिस निलिमा शर्मा समारोहमा स-साना पक्षमा पनि ध्यान दिनुपर्ने बताउँछिन्। निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारीले सबै सहभागिले आ-आफ्नो जिम्मेवारी महसुस गरे समारोह सफल हुने अनुमान गरेका छन्। समारोहका उद्घोषकद्वय नरेश भट्टराई र सन्दिप क्षेत्रीले एवार्ड वितरण समारोहको समयावधि अघि नै तोक्नुपर्ने बताएका छन्। क्षेत्री भन्छन्- 'विदेशमा आयोजना हुने यो शैलीको पहिलो कार्यक्रमले सकारात्मक छाप छोड्न सक्नुपर्छ।' सञ्चारकर्मी नरेश भट्टराईको तर्क छ- 'समारोहमा कलाकारले बोल्ने, हिँड्ने र लगाउने पहिरनमा समेत ध्यान दिइनुपर्छ।'

प्रकाशित :माघ ३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्