Teej banner
सम्बन्ध सार्वजनिक

सम्बन्ध सार्वजनिक

फाल्गुन २, २०७०

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा संगीतकार अम्बर गुरुङले अमेरिकामा बस्दै आएका गायक रोशन गुरुङको चौथो गीति एल्बम 'सम्बन्ध' को विमोचन गरेका छन्। एल्बममा लोक-आधुनिक शैलीका सातवटा गीत समावेश छन्। संगीतकार शम्भुजीत बाँस्कोटाको अध्यक्षतामा सम्पन्न उक्त सांगीतिक समारोहमा संगीतकमीहरू बुलु मुकारुङ, श्रवण मुकारुङ, उदय सोताङ, राजेशपायल राई आदिले गायक गुरुङलाई शुभकामना दिएका थिए।

नमस्तेको वाषिर्कोत्सव तयारी

पुरानो सांगीतिक समूह 'नमस्ते ब्यान्ड' ले आफ्नो २५ औँ वाषिकोत्सवका अवसरमा लाइभ कन्सर्ट दिने भएको छ। सन् १९८८ मा स्थापना भएको यो ब्यान्डले थुप्रै लोकप्रिय गीत-संगीतमार्फत दर्शक तथा श्रोताको मन जितिसकेको छ। कन्र्सटकै लागि ब्यान्डका संस्थापक प्रमुख तथा गायक इश्वर गुरुङ केही दिनदेखि नेपालमा छन्। ब्यान्डले वार्षिकोत्सवको अवसर पारेर सन् १९९४ देखि प्रारम्भ गरेको 'महाशिवरात्री विश्व संगीत महोत्सव' यो वर्ष काठमाडौं तथा पोखरामा हुनेछ। काठमाडौँको भृकुटीमण्डपमा फागुन १५ गते तथा पोखरामा फागुन १७ गते कन्र्सट गर्ने योजना रहेको गायक गुरुङले बताएका छन्।

संगीतकारको एकल गायन

संगीतकार सन्तोष श्रेष्ठ जीवनकै पहिलो एकल गायन साँझमा प्रस्तुत हुँदै आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गरेका छन्। राप्ती साहित्य परिषद्को अधुरो भवन निमार्ण सहयोगार्थ गत मंगलबार दाङमा सम्पन्न एकल साँझमा संगीतकार श्रेष्ठले आफ्ना डेढ दर्जन गीत प्रस्तुत गरे।

प्रेमप्रकाश पुरस्कृत

पुराना संगीतकर्मी प्रेमप्रकाश मल्ल मधुकर स्व.गंगाराम खत्री स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन्। विगत १३ वर्षदेखि पक्षघातबाट अशक्त गीतकार, संगीतकार तथा गायक मल्ललाई उनकै निवास नेपालगन्जमा ५५ हजार ५ सय ५५ रुपैयाँ ५५ पैसा नगद पुरस्कार प्रदान गरिएको हो। अन्तर्राष्ट्रिय नेपाली संगीत समाज अमेरिकाका अध्यक्ष हस्त गौतम मृदुलले आफ्ना स्व. बुबाको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्।

मलेसियामा बिमोचन

मलेसियामा श्रम गरिरहेका विनोद बस्नेत र शिवु घर्ती मगरले रोजगारी गर्दा-गर्दै लोकदोहोरी गीति 'पिरतीको गाउँमा' तयार पारेका छन्। उक्त एल्बम रिमिक्स धमाका-७ शीर्षकको सांगीतिक कार्यक्रमका क्रममा लोकदोहोरी गायक शिव हमालले विमोचन गरेका हुन्। विनोद बस्नेतको शब्द रचनाको उक्त एल्बममा पुस्कल शर्मा तथा टिका पुनको स्वर समावेश छ।

दुई एल्बम सार्वजनिक

वैदेशिक रोजगारीमा विदेशमा पुगेका नेपाली स्रष्टाहरूको सिर्जना समेटेर तयार पारिएका दुई गीति एल्बम 'साक्षता' भाग-१ र भाग-२ को विमोचन काठमाडौंमा सम्पन्न भएको छ। समारोहमा गीतकार डा. कृष्णहरि बराललाई सम्मान गरिएको थियो। दुबै एल्बमका १६ वटा गीतमा प्रमोद खरेल, अन्जु पन्त, स्वरूपराज आचार्य, उदय सोताङ, रिमा गुरुङ होडा, मेश सेवा, कर्मा ग्याल्छेन, बानिका प्रधान आदि गायक-गायिकाको स्वर समेटिएको छ।

डिजेको सहयोग

अल नेपाल डिजे एसोसिएसन नेपालका संस्थापक डिजे साकारले एक कार्यक्रमबीच असहाय बालबालिका संरक्षण गृहलाई १७ हजार रुपैयाँबराबरको शैक्षिक सामग्री वितरण गरेका छन्। अस्ट्रेलियास्थित रत्न फाउन्डेसनमार्फत उनले कपी, कलम, पेन्सिल, जियोमेटि्रबक्स तथा मसी उक्त गृहलाई प्रदान गरेका हुन्। डिजेहरू पनि समाज सेवामा अघि बढ्नुपर्ने बताउँदै आफूले यो सहयोग गरेको डिजे साकारले बताएका छन्।

काव्य यात्रामा वसन्त

गीतकार तथा कवि वसन्त चौधरीद्वारा डेढ वर्षअघि प्रारम्भ गरिएको विश्व काव्ययात्राको नयाँ श्रृंखला गत सोमबार काठमाडौंबाट प्रारम्भ भएको छ। विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूबीच नेपाली भाषा, साहित्य, संगीत, कला र संस्कृतिलाई पुर्‍याउँदै तिनको महत्त्वका सम्बन्धमा प्रकाश पार्न चौधरीले यो अभियानको थालनी गरेको बताए। मण्डला नाटक घरमा सम्पन्न चौधरीको एकल काव्य वाचन कार्यक्रममा चौधरीले विभिन्न गीत तथा कविता प्रस्तुत गरेका थिए।

व्यस्त हुँदै सोल्टी

हङकङको युनलङ थियटरमा किराँत राई यायोक्खा हङकङद्वारा आयोजित पाँचौं यलम्बर नाइटमा आकर्षक प्रस्तुुति दिएर स्वदेश फर्किएका गायक तथा हास्यकलाकार गजबको गुरुङ सोल्टी अहिले पूर्वी नेपालमा व्यस्त छन्। पूर्वी नेपालका विभिन्न सहरमा भैरहेका महोत्सव तथा सांगीतिक कार्यक्रममा सोल्टीले एकैपटकमा उद्घोषण, गायन तथा हास्यव्यंग्य प्रस्तुत गरिरहेका छन्। यो अवधिमा उनले धरानको छिमेकी लाईन, सरस्वती साँझ म्युजिकल नाइट, इटहरीको पूर्वाञ्चल महोत्सव आदि समारोहमा सहभागिता जनाइसकेका छन्। कार्यक्रममा उनी 'खाउँला चना चट्पटे' र 'मिलेको जीउ' गीत गाउनुका साथै तुक्का र सायरीमार्फत दर्शकलाई हसाउँछन्।

प्रकाशित :फाल्गुन २, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्