चरा महोत्सव

चरा महोत्सव

- मनोज पौडेल

फाल्गुन २, २०७०

कपिलवस्तुकमा सम्पन्न दुईदिने चरा महोत्सवमा ३ हजारभन्दा बढी दर्शक सहभागी भए। चरा पर्यटनको गन्तव्य बनाउन विश्वसिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा चरा महोत्सव सम्पन्न गरिएको हो। नारायणी पश्चिमकै लागि चरा महोत्सव नौलो र पहिलो भएकाले टाढा-टाढाबाट चरा हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो। सिमसार दिवसका उपलक्ष्यमा माघ १९ र २० मा आयोजित महोत्सवमा चरा हेर्न बुटवल, भैरहवा र परासीसम्मका पाहुना उपस्थित थिए।

महोत्सवमा चरा, प्रकृति तथा सिमसारको अन्तरसम्बन्ध झल्कने वृत्तचित्र, पोस्टर-पम्प्लेट एवं तस्बिरहरू प्रर्दशन गरिएको थियो। त्यस्तै चरासम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला र निबन्धलेखन प्रतियोगिता पनि सम्पन्न गरिएका थिए भने जगदीशपुर तालको वरिपरि ५ किलोमिटरमा म्याराथुन दौड पनि आयोजित गरिएको थियो। उक्त अवसरमा थारु कला-संस्कृतिसमेत प्रदर्शन गरियो।

१ सय ५७ हेक्टरमा फैलिएको जगदीशपुर ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत भएको थियो। यो तालमा १ सय १० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, ८ प्रजातिका उभयचर तथा ३८ प्रजातिका सरिसृप पाइने नेपाल पन्छी संरक्षण संघले गरेको अध्ययनमा देखिएको छ।

 

प्रकाशित :फाल्गुन २, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्