Teej banner
बराह क्षेत्र

बराह क्षेत्र

फाल्गुन २३, २०७०

धरानदेखि २८ किलोमिटर उत्तरपश्चिममा अवस्थित बराह क्षेत्र सुविख्यात तीर्थस्थलका रूपमा स्थापित छ। महाभारत महाकाव्य तथा पुराणहरूमा महिमा गाइएको कोकाहा र कोसी नदी संगममा पर्ने यो धार्मिक देवस्थल अनन्तकालदेखि पुजनीय रहँदै आएको छ। कथाअनुसार भगवान् विष्णुको दशावतारमध्ये तेस्रो अवतार बराहको उत्पति यही भएको थियो। यहाँ प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशी, माघे संक्रान्ति, ऋषि पञ्चमी, फागुपूणिर्मालगायत अन्य एकादशीहरूमा स्वदेशी एवं विदेशी तीर्थयात्रीहरूको मेला नै लाग्छ। बराह क्षेत्रमा लक्ष्मी, पाञ्चायनको बराह, सूर्य बराह तथा नागेश्वरलगायत नौवटा मन्दिर, छुट्टाछुट्टै मूर्ति एवं धर्मशालाहरू छन्। पश्चिम उदयपुर/सप्तकोसी र उत्तरमा अवस्थित धनकुटाको संगम स्थलका रूपमा समेत परिचित यो क्षेत्र सिमसार, वनजंगल तथा चराचुरुंगी आदिका कारण प्राकृतिक पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको क्षेत्र पनि हो।

यसपालिको विशेष प्रसंग के भने बराह क्षेत्रको प्राचीन हरिद्वार चतराधाममा भारतको इलाहावाद (उत्तरप्रदेश), उज्जैन (मध्यप्रदेश), नासिक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड) मा लाग्दै आएजस्तै १२ वर्षे मेला २०७० सालको चैत १७ देखि २०७१ सालको वैशाख १९ गतेसम्म लाग्दैछ। महिना दिनसम्म सञ्चालन हुने उक्त महाकुम्भ मेला भर्न करिब १ करोड स्वदेशी एवं विदेशी भक्तजन आउने अनुमान छ। उक्त मेलालाई सफलतापूर्वक सम्पन्न गर्न बराह क्षेत्रकै बालसन्त जगत्गुरु श्री विभूषित मोहनशरण देवाचार्यको संयोजकत्वमा ३००१ सदस्यीय मूल आयोजक समिति गठन भरिएको छ। २०५९ सालमा सम्पन्न भै त्यसपछिको १२ वर्षमा हुने गैरहेको १ महिने महाकुम्भ मेलामा सहभागी भै मोक्ष प्राप्ति गर्न जो कसैलाई अवसर छ। त्यसै पनि नेपालका चार धाम मुक्ति क्षेत्र, रुरु क्षेत्र, देवघाट र बराह क्षेत्रमध्ये एक प्रमुख धार्मिक पुण्यभूमिका रूपमा यो क्षेत्र सुविख्यात रहँदै आएको छ। यहाँ नदीकिनारको संगममा बसी केही समय ध्यान, जप/तप, दान एवं तर्पण मात्र गर्दा पनि अपूर्व शान्ति एवं वैभव प्राप्त हुने जनविश्वास छ।

बराह क्षेत्र पुग्न झुम्का, पकली वा धरानबाट निजी वा सार्वजनिक सवारी साधन पक्रन सकिन्छ। बराह क्षेत्रमा धर्मशालाहरू छन् भने धरान, इटहरी आदि अन्य स्थानमा सुविधायुक्त होटल/लजहरू उपलब्ध छन्। १ दिन बराह क्षेत्र घुम्ने योजनाका साथ काठमाडौंबाट ३ दिनको समय मिलाएर ५/७ हजारको जोहो गरी हिँडे सजिलै बराहक्षेत्रको दर्शन अवलोकन गरी पुण्य आर्जन गर्न सकिन्छ।

- एलपी शर्मा

प्रकाशित :फाल्गुन २३, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्