होलीको रंग : रोहित रुम्बा, नायक

होलीको रंग : रोहित रुम्बा, नायक

चैत्र ७, २०७०

वसन्तपुरमा चीर ठड्याएपछि सुरु हुने होली पर्वलाई रंगीन पर्व मानेर हरेक वर्ष साथीभाइहरूसँग रमाइलो मान्दै खेल्ने गरेको छु। होली पहाडतिरभन्दा तराईमा बढि खेलिन्छ, म हुर्किएको काठमाडौं उपत्यकामा भने होलीका नाममा विकृति बढेको छ। एकपटक बिरगञ्ज गएर होली खेलियो, निकै रमाइलो हुँदो रहेछ तराईको होली। शुभकामना आदानप्रदान गर्ने, एक-अर्कालाई आदर-सम्मान गर्ने, मिठा परिकारहरू खाने र ख्वाउने, 'बुरा नमानो होली है' भन्दै रंग लगाइदिने। पानीभन्दा रंगको प्रयोग बढी हुने भएकाले तराईको होली वास्तवमै रंगीन हुँदो रहेछ।

मेरो घर भक्तपुरमा छ। म हरेक वर्ष यतैको होलीमा रमाउँछु। यताको होलीमा रंगको साटो विभिन्न रसायन, फोहोर पानी, सवारी साधनमा प्रयोग भएका लुब्रिकेन्ट्स आदिको प्रयोग गर्नाले स्वच्छ होली मनाउन खोज्नेहरूले पनि खुलेर मनाउन पाउँदैनन्। केही वर्षअघि म केही त्यस्तै मित्रहरूको संगतमा परेँ। होलीमा लुब्रिकेन्टस् दलेर खेल्न थालियो। सडकको बिचमा एउटा साथीले ममाथि लुब्रिकेन्ट्स खन्यायो, रिसको झोंकमा मैले पनि उसलाई ताकेर लुब्रिकेन्ट्सको मगले हिर्काएँ। साथीले छल्यो र त्यो लुब्रिकेन्ट्स उछिट्टिएर उसको पछाडि देखा परेकी एउटी सोझी युवतीलाई लाग्यो। उनी कालो भइन् र डाँको छाडेर रुन थालिन्। मेरा साथीहरू भागे, म चाँही उनको नजिक गएँ। उनीसँग माफी मागे र पानी भएको ठाउँमा गएर सफा गर्न सहयोग गरेँ। त्यसपछि मलाई लुब्रिकेन्टस् दलेर होली खेलेकोमा ग्लानी भयो। त्यसपछिका दिनहरूमा कसैले रंग वा पानीको साटो विभिन्न रसायन, फोहोर पानी, लुब्रिकेन्टस् दलेर होली खेल्न लागेको देखे सम्झाउने प्रयास गर्छु र मेरो त्यो तीतो अनुभव सुनाउँछु।

होली रंगहरूको चाड हो। यसमा रंग वा पानीले मात्र उल्लास ल्याउँछ। खराब पदार्थलाई रंग वा पानीको विकल्पमा प्रयोग गर्दा होलीको उल्लास दुःखमा परिणत हुनसक्छ।

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्