ईश्वर गुरुङ, गायक/गीतकार (नमस्ते ब्यान्ड)

ईश्वर गुरुङ, गायक/गीतकार (नमस्ते ब्यान्ड)

- युवराज गौतम

चैत्र ७, २०७०

बिदेसिएको मान्छे नेपाली संगीतमा यति धेरै लगाव किन?

संगित भनेको प्राण रहेछ। झन् नेपाली मौलिक संगीतले त विश्वका जुनसुकै कुनामा पुगे पनि सधैं नेपाली माटोको सम्झना दिलाइरहँदो रहेछ। म बाल्यकालदेखि नै नेपाली गीत-संगीतलाई माया गर्ने मान्छे अनि यसमै आफ्नो ठूलो श्रम खर्चिएकाले यो लगाव स्वाभाविक पनि हो।

तपाईं कस्ता प्रकारका गीत गाउन र सुन्न मन पराउनुहुन्छ?

मैले गाएका प्रायः गीत लोक-पप टाइपका छन्। तिनीहरूलाई रेगी विधामा ढालेर गाउन मन पराउँछु, तर गीत लेख्दाचाहिं सन्देशमूलक लेख्न रुचाउँछु। सुगम संगीतलाई पनि औधी माया गर्छु।

संगीतमा बाँच्न नसकेर बिदेसिनुभएको हो?

होइन, म लाहुरे परिवारमा जन्मिएको मान्छे बाँच्नकै लागि त के समस्या भयो र? जापान पुगेर मैले नेपाली संगीतमा छलाङ मारें। विश्वका ठूला-ठूला संगीत फेस्टिबलमा नेपाली टिमको प्रतिनिधित्व गरेर नेपाली संगीतलाई चिनाउने काम गरिरहेको छु।

जापानमा नेपाली संगीतलाई कुन रूपमा हेरिन्छ?

जापानीहरू नेपाली संगीत खुब रुचाउँछन्। शब्द नबुझे पनि मेलोडी सुनेर रमाउँछन्। हरेक कन्र्सटमा जापानीहरू उल्लेख्य रूपमा सहभागी हुन्छन्।

अहिले नेपाली संगीतको अवस्था कस्तो पाउनुहुन्छ?

धेरै विकास भएको छ। नयाँ-नयाँ प्रतिभाहरूको जन्म भएको छ, तर पाइरेसीका कारण स्टेज कार्यक्रमकै भरमा बाँच्नुपर्ने बाध्यताले नेपाली कलाकारहरूलाई सताइरहेको पाउँदा अलिक दुःख लाग्यो।

'महाशिवरात्रि वल्र्ड म्युजिक फेस्टिबल’को सुरुवात कसरी भयो?

म विदेशमा छँदा एउटा इभेन्ट कम्पनीमा काम गर्थें। त्यहाँ भव्य म्युजिक सिस्टमको सहायताले विशाल कन्सर्ट आयोजित गरिन्थे। ममा पनि नेपालमा यस्तै केही गर्नुपर्छ भन्ने इच्छा जाग्यो र नेपालमा ओपन कन्सर्टको जग बसाउन मन लाग्यो। हामी देशभर ओपन कन्सर्ट टुर लिएर हिँड्यौं अनि १९९४ देखि देशी-विदेशी ब्यान्ड तथा कलाकारलाई बोलाएर 'महाशिवरात्रि म्युजिक फेस्टिबल' सुरु गर्यौं।

प्रकाशित :चैत्र ७, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्