
राजेन्द्रको अग्लो ज्यान
चैत्र १४, २०७०
अग्लो र छरितो ज्यान कसलाई मन पर्दैन? तर वीरन्चीबर्वा, पर्साका राजेन्द्र पटेललाई भने आफ्नो अग्लो ज्यान हर्ष न बिस्मात बनेको छ। ६ फिट ७ इन्च अग्ला, पातलो र अस्वाभाविक अग्लो ज्यानका धनी पटेल जहाँ जाँदा पनि सबैले एकटकले हेर्छन्। 'कतिपयले जबर्जस्ती बोल्न खोज्ने र सँगै तस्बिर खिचाउन खोजेर हैरान पनि पार्छन्,' ४५ वर्षीय राजेन्द्र भन्छन्, 'सबैको ध्यान खिचेको छु भनेर सोच्दा रमाइलो पनि लाग्छ, तर कहिलेकाहीं अरूको जिज्ञासा समाधान गर्न र तस्बिर खिचाउनु पर्दाचाहिँ दिक्क हुन्छु।' ७ कक्षासम्म पढेका राजेन्द्र लामो समयदेखि वीरगन्जको छपकैयास्थित लोकराज प्याकेजिङ उद्योगमा मजदुरी गर्दैछन्। फुर्सदमा उनी खेतीपाती गर्छन्। भीडमा पनि सहजै छुट्टिने पटेलको वजन जम्मा ६१ किलोग्राम मात्र छ। अग्लो भए पनि ज्यादै दुब्लो भएकाले गत वर्ष आफूले काठमाडौंमा शिरदेखि पैतालासम्मको परीक्षण (एमआरआई) गराएको राजेन्द्र बताउँछन्। 'कुनै रोग देखिएन' उनले भने- 'अब ढुक्क छुँ।'
राजेन्द्रका २ छोरा र २ छोरी छन्। किशोरावस्थाका २ छोरा पनि करिब ६ फिट अग्ला भैसके। छोरीहरूको उचाइ पनि त्यही अनुपातमा बढ्दै गएको छ। उनकी श्रीमती प्रभा भने साढे ५ फिट अग्ली छिन्। बुवा ललन पनि ६ फिट अग्ला छन्। पटेल परिवारनै गाउँमा अग्लाहरूको परिवारका रूपमा चर्चित छ।
उनको ज्यानलाई सुहाउने रेडिमेड कपडा किन्न पनि पाइँदैन। जुत्ता-चप्पलको समस्या पनि उत्ति नै छ। पटेललाई ९ नम्बरको जुत्ता-चप्पल चाहिन्छ। ८ नम्बरभन्दा माथिको चप्पल नबनाइने भएकाले उनले सधैं पैतालाभन्दा १ नम्बर छोटै चप्पल लगाउनुपरेको छ। जुत्ता भने अर्डर दिएर बनाउने गरेका छन्। ७ कक्षा पढ्दासम्म पनि उनको उचाइ सामान्य मानिससरह करिब ५ फिट नै थियो। त्यसपछि अस्वाभाविक रूपमा उचाइ बढ्दै गएको पटेलले बताए। नेपालकै अग्ला राजन अधिकारी हुन् भन्ने कुरा भने उनलाई हेक्का छ। 'राजन देशकै अग्ला व्यक्ति हुन् भन्ने सुनेको छु,' राजेन्द्र भन्छन्, 'तर मभन्दा कति अग्ला छन् त्योचाहिँ थाहा छैन, एक पटक उनलाई भेट्ने इच्छाचाहिँ छ।'
प्रकाशित :चैत्र १४, २०७०









तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्