
बलियाको मिश्रति प्रदर्शन
चैत्र २१, २०७०
क्रिकेट आफैंमा अनिश्चितताको खेल हो, त्यसमाथि ट्वान्टी-२० क्रिकेटमा यो अनिश्चितता अझ बढेको छ। एउटै ओभरले पूरा खेलको नक्सा फेरिन्छ। अहिले बंगलादेशमा चलिरहेको ट्वान्टी-२० विश्वकपमा पनि यस्तै देखियो। त्यहाँ केही बलिया टिमको प्रदर्शन अपेक्षाअनुरूप ठीक रह्यो भने केही बलिया मुलुकले आफ्नो प्रतिष्ठा पनि धान्न सकेनन्। यस्तोमा एसोसिएट राष्ट्रका रूपमा बंगलादेश पुगेको नेदरल्याण्डले आफ्नो अन्तिम खेलमा इग्ल्याण्डलाई निराश पारेर एसोसिएट राष्ट्रहरूको बढदो प्रभावका बारेमा आइसीसीलाई सोच्न बाध्य बनायो ।
प्रतियोगिता अब अन्तिम सातामा प्रवेश गरेको छ र फाइनल हुनेछ, आइतबार। यसपटकको ट्वान्टी-२० वल्ड कप क्रिकेटमा कुन-कुन टिमबीच प्रतिस्पर्धा हुने हो, त्यसमध्ये एकको निर्णय भैसकेको छ। डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले हिजोको पहिलो सेमिफाइनलमा श्रीलंकाको सामना गरेको थियो। आज शुक्रबार पूर्वविजेता भारतले दिण अफ्रिकाको सामना गर्दैछ। पूरा प्रतियोगितामा सबैभन्दा प्रभावशाली प्रदर्शन भारतको रह्यो।
मिरपुरमा उसले सुपर टेनको समूह टुमा कुनै पनि खेल गुमाएन भने अहिलेसम्मको अपराजित एक मात्र टिम रह्यो। भारत समूहको शीर्ष स्थानमा रह्यो। त्योभन्दा पनि ठूलो भारत अहिलेसम्म कुनै प्रकारको परीक्षाबाट गुजि्रएको छैन। यही समूहबाट वेस्ट इन्डिज दोस्रोमा रहेर सेमिफाइनल पुगेको हो। यसका लागि अघोषित क्वाटरफाइनलमा उसले अर्को पूर्व विजेता पाकिस्तानलाई हराएको थियो।
पाकिस्तान पहिलो पल्ट ट्वान्टी-२० विश्वकपको इतिहासमा सेमिफाइनल पुग्न सकेन, तर टिमको प्रदर्शनमा निराश हुने अवस्था भने थिएन। समूह टुमा सर्वाधिक निराश तुल्याउने टिम अस्टे्रलिया रह्यो। प्रतियोगिता अघि सम्भावित विजेता मानिएको अस्ट्रेलियन टिमले बंगलादेशबाहेक अरू कसैलाई हराउन सकेन। अहिले अस्ट्रेलियनहरू आफ्नो टिम कहाँ र कसरी चुक्यो भनेर विश्लेषण गर्न व्यस्त छन्।
बंगलादेशको प्रदर्शनलाई लिएर टिमको क्रिकेटस्तरमै पनि प्रश्न उठिसकेको छ। सुपर टेनको समूह वान समूह टुको तुलनामा बढी उतारचढावबाट गुजि्रयो। चिटगोंगमा भएका खेलमा शीतले पनि ठूलो भूमिका खेलेको थियो, त्यसले नतिजामै प्रभाव पारेको थियो, जसमा एक-एक खेल गुमाएका श्रीलंका र दिण अफ्रिकाले अन्तिम चारमा आफ्नो स्थान बनाए।
यो समूहमा कुनै एक टिमले समानस्तरको प्रदर्शन गर्न सकेनन्, फलस्वरूप प्रतिस्पर्धा बढी रोमाञ्चक रह्यो। न्युजिल्यान्ड अन्तिम चारको नजिक पुगेर पनि त्यसलाई आत्मसात् गर्न सकेन। इङ्ल्यान्डले पनि सबैलाई निराश तुल्यायो। एसेज सिरिजमा बिर्सनलायक हार बेहोरेको इङ्ल्यान्डको प्रदर्शन बंगलादेशमा पनि त्यस्तै रह्यो। अब इङ्लिस क्रिकेटमा लगभग नयाँ पुस्ता आउने विश्वास गरिएको छ।
प्रकाशित :चैत्र २१, २०७०















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्