Teej banner
विरही कार्की, लोकगायक

विरही कार्की, लोकगायक

वैशाख १२, २०७१

एकै वर्ष चारवटा एल्बम सार्वजनिक गर्ने गायक बन्न पाउँदा कस्तो लागिरहेको छ ?

असाध्यै खुसी लागिरहेको छ। लोकसंगीतमा लागेको करिब डेढ दशकको अवधिमा मैले गत वर्ष (२०७० साल) सर्वाधिक चारवटा एल्बम सार्वजनिक गर्ने अवसर पाएँ।

ती एल्बमबाट दर्शक तथा श्रोताको प्रतिक्रिया कस्तो पाउनुभयो ?

यो वर्ष मैले तयार पारेका एल्बमहरू 'मनकामना माई', 'मायाको नाम जपिया', 'भन्देऊ के हो माया' तथा 'मायालु हजार' हुन्। यी चारवटै एल्बमका शीर्षक गीत लोकप्रिय भएका छन्। एउटा गीतबाट त मैले एवार्डसमेत जित्ने अवसर पाएँ।

एल्बमको बजार छैन भन्ने चर्चा छ, एउटै वर्ष चार एल्बम कसरी सम्भव भयो ?

एल्बमको बजार नभएको पक्का हो। एल्बमको बिक्री नभए पनि सांगीतिक कार्यक्रमहरूमा हाम्रो सहभागिता बढ्दो छ। कार्यक्रममा सहभागिता जनाइरहने गायक-गायिकालाई एल्बम बिक्रीको खासै चिन्ता हुँदैन।

सांगीतिक क्षेत्रमा प्रवेश गर्नु भएको कति भयो ?

ठ्याक्कै १७ वर्ष भयो। म २०५३ साल पुस १७ गते रेडियो नेपालमा 'सररर मिनी बसैमा...' गीत रेकर्ड गराउँदै यो क्षेत्रमा प्रवेश गरेको थिएँ। यो अवधिमा मैले १५ वटा एल्बम बजारमा ल्याउन सफल भएको छु। 'सुनखानीमा सुन' मेरो पहिलो एल्बम हो।

तपाईंका पाँचवटा लोकप्रिय गीत कुन-कुन हुन् ?

हरेक एल्बमका शीर्षक गीत श्राेताले मन पराएनुभएको छ। खासगरी सुनखानीमा सुन...मलाई चिनाउने गीत हो। त्यसबाहेक आमा तिमीले लगाएको चुरा, भन्देऊ के हो माया, मनकामनामाई, मायालु हजार आदि गीत लोकप्रिय छन्।

काठमाडौंको पहिलो एकल गायन कार्यक्रम कस्तो रह्यो ?

जीवनकै पहिलो एकल गायन कार्यक्रम ऐतिहासिक रह्यो। कार्यक्रममा मैले करिब एक दर्जन लोकप्रिय गीत सुनाएको थिएँ। कार्यक्रममार्फत मकवानपुरकी एक चेपाङ बालिकालाई आर्थिक सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ।

प्रकाशित :वैशाख १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्