
दीपाश्रीको प्रगति
जेष्ठ ९, २०७१
हास्यश्रृंखला 'तीतो सत्य' की सह-निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले गत साता पुरानो वानेश्वर हाइटमा किनेको नयाँ घर आफ्ना सहकर्मी तथा सञ्चारकर्मीहरूलाई देखाएकी छिन्। साइत जुराएर घर पूजा गरेपछि प्रसाद ग्रहण गर्न उनले थुप्रै कलाकार तथा सञ्चारकर्मीलाई घरमा निम्त्याएकी थिइन्। तीनतले घरमा दीपाले बुद्धजयन्तीको दिन पारेर घर पूजा, होम, वास्तुपूजा, सत्य नारायणको पूजा लगाएकी हुन्। 'काठमाडौंमा घर किन्ने, आफ्नै मेहनतले गाडी चढेर हिंड्ने सपना पूरा भयो,' पूजापछि साप्ताहिकसँग कुराकानी गर्दै दीपाले भनिन्— 'जीवनमा धेरै दु:ख गरियो, भगवान्ले साथ दिएर यो स्थानसम्म आइपुगेकी छु। सबै दर्शक तथा श्रोतालाई धन्यवाद भन्न चाहन्छु।'
धुर्मुसको बढुवा
हास्यश्रृंखला 'मेरी बास्सै' का निर्देशन सीताराम कट्टेल 'धुर्मुस' नेपाली चलचित्रतर्फ आकषिर्त भएका छन्। विकास आचार्यका दुई चलचित्र 'रिदम' तथा 'नाइँ नभन्नु ल-२' मा अभिनय गरेर दर्शकको मन जितिसकेका धुर्मुस अब चलचित्र निर्देशक बन्ने भएका छन्। लामो समयदेखि मेरी बास्सैको निर्देशन गरेर अनुभवी बनेका धुर्मुसले विगतमा आधा दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन्। यतिबेला उनी आफूले निर्देशन गर्ने चलचित्रको स्क्रिप्ट तयार पारिरहेका छन्। दुईवटा कथामा काम गरिरहेका धुर्मुसले तीमध्ये एउटा कथालाई चलचित्रको रूप दिने छन्। आफूले डेब्यु निर्देशन गर्ने चलचित्रको निर्माता आफैं हुने उनले बताइसकेका छन्।
प्रकाशित :जेष्ठ ९, २०७१














तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्