
रियल प्रश्न गजुरियल जवाफ
- राजनीतिमा अराजकता भित्र्याएर राष्ट्रिय एकताको कमाण्ड तोड्न मिल्छ, त्यसको विरोध गरेर प्रहरीले चेन अफ कमान्ड तोड्न मिल्दैन पार्टीभित्र गुण्डाराज भित्र्याएर शान्तिको कमाण्ड तोड्न मिल्छ, त्यसलाई स्वीप गरेर प्रहरीले चेनअफ कमान्ड तोड्न मिल्दैन।
जेष्ठ १६, २०७१
यो साता नेपालमा दुईवटा प्रश्न चर्चित भए। पहिलो, के एसएसपी रमेश खरेलले भनेको कुरा ठीक थियो ? दोस्रो, के वामदेवले बाटो काट्ने तरिका सही थियो ? यी मूल प्रश्नसँग जोडिएका उपप्रश्नहरू पनि थुप्रै आए। वामदेव देव हुन् कि महादेव ? रमेश खरेल रेल हुन् कि डोजर हुन् ? वामदेव पोलिटिसियन हुन् कि स्किप खेलाडी हुन् ? डोरी टाँग्ने ट्राफिक दोषी हुन् कि डोरी नाघ्ने वामदेव दोषी हुन् ?
आदि-इत्यादि।
जवाफ पनि दुई खेमामा बाँडिएको छ। कोही वामदेवलाई डोरी नाघ्ने बच्चासँग तुलना गर्छन्। कोही रमेश खरेललाई नेता पेल्ने डोजरसँग दाँज्छन्। कतै जेब्रा क्रसिङको फोटोमा भाले टाँसेर वामदेवको बेइज्जत गरिएको भेटिन्छ। कतै रमेश खरेललाई अराजक प्रहरी भनेर बदख्वाइँ गरेको देखिन्छ। विश्लेषकहरू भन्छन्, वामदेवको बाटोकटाइ र रमेश खरेलको भाषणगराईंले मात्र यो प्रसंग चर्चित भएको होइन, वामदेव गौतम र रमेश खरेलबीचको पुरानो ठाकठुक पनि जोडिएको छ।
प्रश्न धेरै छन्, उत्तर झन् धेरै हुन सक्छन्। आउनुहोस्, खरेल-वामदेव प्रसंगमा उठेका केही रियल प्रश्नको गजुरियल विश्लेषण गरौं।
के प्रहरीका हाकिमहरू ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउँछन् त ?
सरासर गलत हो। रमेश खरेलको आरोप अतिरञ्जित छ। देख्दैमा शंका लाग्ने गरी कोही पनि ब्रिफकेस लिएर नेताकहाँ जाँदैन। चेक लिएर गए होला, आफ्नो एटीएम दिएर फर्किए होला। अनलाइन बैंकिङमार्फत नजराना टक्र्याए होला। त्यसैले ब्रिफकेस बोकेर गएको कुरामा खासै सत्यता छैन भन्ने गजुरियल ठम्याइ छ।
ब्रिफकेस नै लिएर गएका भए पनि त्यसमा नजरानाका लागि रकम होइन, आफ्ना लागि बन्दोबस्तीका सामान लिएर गएका हुन सक्छन्। कोलगेट मञ्जन, ब्राइटर ब्रस, लाइफब्वाय साबुन, भिजन क्रिम, जिलेट रेजर, तौलिया, अन्डरवेयर आदि सामानसहितको ब्रिफकेसचाहिँ स्वीकार गर्न सकिन्छ। किनभने मन्त्रीको चाकडी र मन्त्राणीको चाप्लुसी एकै दिनमा सम्पन्न नहुन सक्छ।
के प्रहरीले राजनैतिक भाषण गर्दै हिँड्न मिल्छ ?
अहँ, पटक्कै मिल्दैन। भाषण गर्ने काम नेताको हो। प्रहरीले त काम मात्र गर्ने हो। नेतासँग भएको जम्मा एउटा चिज भनेकै भाषणकला हो। त्यो पनि गैरनेताले गर्न थाले भने नेताको के काम ? प्रहरीको काम शासकको सुरक्षा गर्ने हो। प्राकृतिक कानुन हातमा लिएर अर्काको कार्यक्षेत्रमाथि हस्तक्षेप गर्नु गैरकानुनी कार्य हो भन्ने गजुरियल ठम्याइ छ।्
हाम्रो देशमा सबैभन्दा बढी संख्या नेताको छ। विद्यालय, विश्वविद्यालयमा विद्यार्थी संगठन, डाक्टर संघ, जेब्रा क्रसर संघ, नाई संघ, दाइ संघ, महिला संघ, आमा समूह, बुहारी समूह, श्रीमती संघ आदि नेताको डंगुर भएको हाम्रोजस्तो विकासोन्मुख देशमा भोलि नेताहरू बेरोजगार भए भने त्यसको जिम्मा कसले लिन्छ ? त्यसैले प्रहरीले नेताको भाषण पेसा खोस्नु हुँदैन भन्ने गजुरियल ठम्याइ छ।
प्रहरीले चेन अफ कमान्ड तोड्न मिल्छ ?
तोड्ने काम त राजनीतिज्ञको हो, प्रहरीले त राजनीतिज्ञका लागि जोडिदिने काम मात्र गर्नुपर्छ। राजनीतिमा अराजकता भित्र्याएर राष्ट्रिय एकताको कमाण्ड तोड्न मिल्छ, त्यसको विरोध गरेर प्रहरीले चेन अफ कमान्ड तोड्न मिल्दैन पार्टीभित्र गुण्डाराज भित्र्याएर शान्तिको कमाण्ड तोड्न मिल्छ, त्यसलाई स्वीप गरेर प्रहरीले चेनअफ कमान्ड तोड्न मिल्दैन। भ्रष्टलाई सुरक्षा दिएर कानुनको कमाण्ड तोड्न मिल्छ, तिनलाई कारबाही गरेर फौजको चेन अफ कमान्ड तोड्न पटक्कै मिल्दैन भन्ने गजुरियल ठम्याइ छ।
के कुनै प्रहरीले नयाँ मन्त्रीज्यूको दर्शन-भेट गर्न अनिवार्य छ ?
किन छैन, अवश्य छ। त्यसमा पनि समग्र बामहरूका देवको दर्शन त अति अनिवार्य छ। दर्शनभेटले बढुवामा महत्वपूर्ण रोल खेल्छ, दर्शनभेट अस्वीकारले घटुवामा सहयोग पुर्याउँछ। कहिलेकाहीं फोनबाटै भए पनि हेलो गर्नाले हाई-हाई हुन्छ। सम्पर्क भएन भने बाई-बाई पनि हुनसक्छ भन्ने गजुरियल ठम्याइ छ।
प्रकाशित :जेष्ठ १६, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्