
घर नजिकको प्लस टु पढ्नु उपयुक्त हो
असार ६, २०७१
एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएपछि फेल हुनेहरू मात्र तनाव हुन्छन् भन्ने होइन। जो पास हुन्छन् उनीहरूमाथि पनि ठूलो मानसिक दबाब सिर्जना हुन्छ। राम्रो कलेज छान्ने, सहरमा बसेर पढ्ने अनि भविष्य सुन्दर बनाउने योजना साकार तुल्याउन विद्यार्थीहरूले विभिन्न समस्याबाट गुज्रनुपर्छ। कहाँ पढ्ने, कस्तो कलेज छान्ने र त्यहाँको वातावरणमा कसरी आफूलाई एड्जस्ट गर्ने भनेर सुझाव दिने उचित माध्यम नभएका कारण अभिभावकहरू पनि अप्ठ्यारोमा पर्ने गरेका छन्। यो समस्या सुल्झाउन यसपटक साप्ताहिकले प्लस टुको र्याङ्किङमा आफूलाई उत्कृष्ट सावित गर्दै आएको प्रसादी एकेडेमीका अध्यक्ष विक्रम राईको अनुभव प्रस्तुत गर्दैछ। साप्ताहिकले एक दशकअघि प्रारम्भ गरेको उत्कृष्ट प्लस टुको सूचीमा प्रसादी एकेडेमी विगत केही वर्षदेखि उत्कृष्ट रहँदै आएको छ।
------------
एसएलसीको नतिजा आएपछि प्लस टु कहाँ पढ्ने भन्ने चिन्ता सुरु हुन्छ। यति धेरै प्लस टु छन्, तैपनि यस्तो चिन्ता किन हुन्छ ?
आजका विद्यार्थी आफ्नो भविष्यप्रति चिन्तित छन्। सन्तानको उज्ज्वल जीवनका लागि अभिभावकहरू पनि चिन्तित हुनु स्वाभाविक हो। सुझाव-सल्लाह दिने उचित अनि विश्वसनीय माध्यम नभएकाले पनि यस्तो चिन्ता बाहिर देखिएको हो। प्लस टुहरूबीच जुन प्रतिस्पर्धा छ त्यसले, राम्रो कलेज छानिएन भने बर्बाद पो भइन्छ कि भनेर पनि विद्यार्थी एवं अभिभावकहरूको चिन्ता बढाएको हुनुपर्छ।
यस्ता विद्यार्थी तथा अभिभावकलाई कस्तो सल्लाह दिनुहुन्छ ?
१७ वर्षदेखि प्रसादी एकेडेमी चलाएको र ३३ वर्ष अध्यापन गरेको मेरो अनुभवले भन्छ- प्लस टुमै यति आत्तिएर राम्रा कलेज खोज्दै हिँड्ने, धेरै पैसा खर्च गरे मात्र राम्रो शिक्षा पाइन्छ भन्ने मानसिकता त्याग्नु नै राम्रो हुन्छ। प्लस टु सामान्य कलेजमै पढेर भएको पैसा जोगाउने र त्यो पैसाले स्नातक तह राम्रो कलेजमा अध्ययन गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगेको छु म। पढ्नका लागि राजधानी नै आउनुपर्छ, ठूला अनि भव्य पूर्वाधार भएका कलेज नै उपयुक्त हुन्छन् भन्ने कुरा सधैं ठीक हुँदैन। आफ्नो जिल्ला वा छेउको जिल्लामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने प्लस टु हुन सक्छन्। तिनलाई बेवास्ता गरेर राजधानीमै आउनुपर्छ भन्ने कुराको म विरोधी हुँ। घरको भात खाएर राम्रो कलेजमा पढ्न पाइन्छ भने त्यो ठूलो कुरा हो।
विद्यार्थीलाई कलेज पढेको अनुभूति पनि हुनुपर्यो नि ?
प्लस टु विद्यालय शिक्षाको उच्च रूप हो। यो कुरा कलेज, विद्यार्थी एवं अभिभावक सबैले बुझ्नुपर्छ।
त्यसो भए अहिले प्लस टुबीच जसरी ठूलो प्रतिस्पर्धा देखिन्छ, त्यो ठीक होइन ?
शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा हुनुपर्छ। प्रतिस्पर्धाबाटै गुणस्तरीय शिक्षाको वातावरण सिर्जना हुन्छ। यद्यपि प्रतिस्पर्धा बाहिरी आवरणमा होइन, त्यसको गुणस्तरमा हुनुपर्छ। विद्यार्थी जुन भविष्यको सपना देखेर हाम्रो कलेजमा भर्ना भएका छन्, त्यसलाई पूरा गर्ने दायित्व कलेजहरूको हो। बढीभन्दा बढी विद्यार्थी भर्ना गर्ने, एसएलसीको बोर्डमा आएका विद्यार्थीलाई विभिन्न सुविधा दिएर तान्ने आदि प्रवृत्तिले शिक्षालाई हल्ला गर्ने माध्यम बनाइदियो। यस्तै प्रवृत्तिका कारण शिक्षाको गुणस्तरमा भन्दा अरू कुरामा ध्यान दिइएको हो कि भन्ने लाग्न थालेको छ।
अहिले यस्ता कुरा कम भैरहेको देखिन्छ, यसको खास कारण के होला ?
यसको जस म साप्ताहिकलाई पनि दिन्छु। १० वर्षअघि जब साप्ताहिकले परिणामका आधारमा टप टेन कलेजको विवरण दिन थाल्यो, मान्छेको ध्यान राम्रा कलेज कसरी छान्ने भन्नेतर्फ मोडियो। यसलाई नेपाल, हिमाल आदि विश्वसनीय म्यागजिनहरूले जारी राखे। परिणामस्वरूप बिस्तारै-बिस्तारै प्लस टुभित्रको विकृति कम हुन थाल्यो। दलाल प्रथा त पूर्ण रूपमा हट्न पुग्यो। आज १० वर्षपछि यसो मनन गर्दा झट्ट देखिने कतिपय गलत प्रवृत्ति बन्द नै भएजस्तो लाग्छ।
ती विकृति कस्ता थिए ?
मैले माथि नै भनें, एसएलसी बोर्डमा आएका विद्यार्थीहरूसमक्ष विभिन्न प्रस्ताव राख्ने, एमबीबीएससम्म अध्ययन निःशुल्क गराउने, अनि तिनै विद्यार्थीलाई देखाएर आफ्नो कलेजमा अरू विद्यार्थी तान्ने प्रवृत्ति यति मौलायो कि राम्रा विद्यार्थी तान्नु नै प्लस टुको ठूलो सफलता हो भन्ने जस्तो देखियो। ती कलेजले पनि राम्रो शिक्षा दिएका थिए होलान्, तर ती कुरा गौण हुन पुग्ो। त्यस्तै मजबुत पूर्वाधार, ठूला-ठूला विज्ञापनजस्ता कुराबाट पनि प्लस टुको मापन हुने गरेको थियो। अहिले त्यस्तो प्रवृत्ति कम भएर गएको छ।
तपाईंको कलेज लगातार उत्कृष्ट कलेज घोषित भैरहेको छ, यसको कारण के मान्नुहुन्छ ?
सबै कलेजले राम्रो शिक्षा दिइरहेका छन्। म पनि राम्रै शिक्षा दिइरहेको छु। फरक के छ भने हामी विद्यार्थीलाई राम्रो पढाएर मात्र चित्त बुझाउँदैनौं। उनीहरूमा पढ्ने संस्कार बसाइदिन्छौं। विद्यार्थीहरूमा पढ्ने संस्कार मात्र बसाइदिने हो भने उनीहरू आफैं पढ्न थाल्छन्, उनीहरूको थप चिन्ता गर्नुपर्दैन।
यो पढ्ने संस्कार भनेको के हो ?
मैले विद्यार्थीलाई सम्झाउँदा एउटा उदाहरण दिने गरेको छु। जस्तो आजका विद्यार्थीलाई अहिलेको लोकपि्रय गीत सोध्नुभयो भने उनीहरू सजिलै भन्न सक्छन्। म विद्यार्थीलाई क्लासमा उठाएर कुनै गीत गाउन लगाउँछु। त्यो गीत उनीहरूले गाउन सक्छन् तर अपवादबाहेक सबै लाइन भन्न सक्दैनन्। जुन गीत हजारौं पटक रेडियो, टेलिभिजनमा सुनिसकिएको छ, त्यो गीतका सबै लाइन किन सम्झना भएन ? किनभने हामीले त्यसलाई हलुका ढंगले सुन्छौं। पढाइ पनि त्यस्तै हो। वर्षभरि हामी पाठ त पढिरहेका हुन्छौ तर त्यही गीतजस्तै। परीक्षामा गीत लेख भन्ने प्रश्न मात्र हुँदैन, त्यसको रचनाकार को हो, त्यसको संगीतकार को हो भन्नेसम्म सोधिन्छ। यस्तो अवस्थामा विद्यार्थीले कसरी राम्रोसँग उत्तर दिन सक्छन् ? पढ्ने संस्कारले के गर्छ भने कुनै पनि कुराको सीधा पाठ मात्र पढ्ने होइन, त्यसको दायाँ बाँयाका कुरा के रहेछ भन्ने कुरा सिक्न प्रेरित गर्छ।
एसएलसीसम्म एउटा तरिकाले पढेका विद्यार्थीहरूले कलेजमा आएर कसरी आफ्नो बानी परिवर्तन गर्न सक्लान् ?
हरेक विद्यार्थी पढ्न चाहन्छन्, केवल त्यो संस्कार सिकाउन नसकिएको हो। जस्तो हाम्रा अभिभावकहरू मकहाँ आएर भन्छन्- इन्टरनेटका कारण छोराले पढेन, त्यही भएर इन्टरनेट नै काटिदिएँ। मैले भन्ने गरेको छु, त्यसो भए टेलिभिजनको केबुल पनि हटाइदिनुहोस्। बिजुलीको लाइन पनि काटिदिनुहोस्। आखिर यी पनि पछि थपिएका सुविधा हुन्। हामीले बुझ्न नसकेको कुरा के हो भने उनीहरू टेलिभिजन वा इन्टरनेटमा आफ्नो रुचिका कुरा खोजिरहेका हुन्छन्। हामी के भन्छौं भने तिमीले कोर्सकै पुस्तक पढिरहनुपर्छ भन्ने छैन। तिमीलाई उपन्यास पढ्न मन लाग्छ भने उपन्यास पढ, कमिक्स पढ्न मन लाग्छ भने कमिक्स नै पढ तर पढ्न नछाड। पढ्ने बानीको विकास भएपछि मात्र कोर्सको पनि पुस्तक पढ्ने रहर जाग्छ। करमा पढेको कुराले प्रगति हुन सक्दैन। पढाइ मात्र यस्तो लडाइँ हो, जसमा हार हुँदैन, जित मात्र हात पर्छ।
कतिपयले त के पनि भन्छन् भने तपाईंले विद्यार्थीलाई यति धेरै अनुशासनमा बाँध्नुभयो कि उनीहरू पढाइबाहेक केही सोच्नै सक्दैनन्। यो विद्यार्थीमाथि एक प्रकारको अन्याय नै होइन र, के भन्नुहुन्छ ?
समयमै पाठ सक। पढ्ने संस्कारको विकास गर। महिनैपिच्छे नमुना परीक्षा देऊ, त्यसले तिम्रो फाइनल रिजल्ट राम्रो आउँछ भनेर संस्कार बसाउनुलाई कडा अनुशासन भनिन्छ भने, हो मेरो कलेजले यस्तो अनुशासन पालना गर्छ, यस्तो अनुशासन हुनु राम्रो कुरा हो। कलेजमा विद्यार्थी पढ्न आएका हुन्, रमाइलो गर्न होइन। जहाँसम्म पर्याप्त भौतिक पूर्वाधार र खेल मैदान नभएको कुरा छ, त्यो गलत हो। हाम्रो देशमा +२ मा वर्षमा १ सय ५० दिन मात्र विद्यार्थीले पढ्न पाउँछन्। यति थोरै समयमा राम्रोसँग कोर्स पूरा गर्नु कि खेल्न पठाउनु ? एक हप्ता खेल्ने छुट्टी दिएर बहुमुखी प्रतिभा जन्मन्छ ? फुटबल मैदानबाहेक सामान्य खेलका लागि हामीसँग पर्याप्त स्थान मात्र होइन क्यान्टिन, बास्केट बल कोर्ट, लाइब्रेरी, खुल्ला ग्राउण्ड, ल्याब आदि अनेकन सुविधा उपलब्ध भएकाले म यस्ता कुरामा सहमत छैन।
मानिसले किन यस्ता कुरा उठाएका होलान् ?
हाम्रो समाज नकारात्मक कुरामा रमाउँछ। कुनै पनि कुरामा केही न केही खोट देखाउने चलन छ। मेरो हकमा पनि त्यही भएको हो। अरुले कुरा गर्दै जान्छन्, म आफ्नो बाटो हिँडिरहन्छु। म आफ्नो काममा अलिकति पनि सम्झौता गर्दिनँ। केही वर्षअघि मेरो आफ्नै भान्जाले मेरो कलेजमा साइन्स पढ्न पाएनन्। किनभने उनी प्रवेश परीक्षामा थोरै अंकले पछि परे। उनका आमा-बुवा नै यो कलेजका सञ्चालक हुन्, म अध्यक्ष हुँ। यति हुँदाहुँदै पनि हामीले उनको भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई पावर लगाएर पछि पारेनौं। उनले बाध्य भएर म्यानेजमेन्ट पढ्नुपर्यो। यो हामी आफ्नो काममा कति गम्भीर छांै भन्ने एउटा उदाहरण मात्र हो।
एउटा कलेज मात्र माथि गएर हुँदैन, यहाँ लाखौं विद्यार्थीले तपाईंको कलेजकै जस्तो गुणस्तरीय शिक्षा हासिल गर्न चाहन्छन्, त्यसका लागि के उपाय छ ?
अहिलेको शैक्षिक वातावरणमा त्यो सम्भव छैन। जबसम्म हामीले शिक्षालाई पूर्ण रूपमा विकेन्दि्रत गर्दैनौ, केन्द्रको शक्तिलाई गाउँ-गाउँसम्म पुर्याउँदैनौं, गुणस्तरीय शिक्षा असम्भव छ। गाउँका विद्यार्थीले शिक्षा, स्वास्थ्य एवं रोजगारीका लागि काठमाडौं आउने वातावरणको अन्त्य नगरुन्जेलसम्म यो सम्भव छैन। जब हामी सबै सुविधा गाउँमा पुर्याउँछौं, पढेलेखेका मानिस गाउँमै बस्न थाल्छन्। उनीहरू गाउँमा बस्ने र सरकारले शिक्षामा उचित लगानी गर्नेबित्तिकै गाउँमै विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण बन्छ। एउटा कलेज वा केही प्राइभेट कलेजले राम्रो शिक्षा दिएर मात्र देश सुध्रँदैन, देशले नै यस्तो खालको वातावरण बनाउनुपर्छ, जहाँ विद्यार्थीले शिक्षाका लागि आजको जस्तो दुःख गर्नु नपरोस्।
प्रकाशित :असार ६, २०७१


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्