Teej banner
म्युजिक खबरमा 'गाला रातै’को वर्चस्व

म्युजिक खबरमा 'गाला रातै’को वर्चस्व

असार ६, २०७१

नायिका निश्मा घिमिरे नायक गजित विष्टसँग मञ्चमा नाचेर फर्किन लागेका बेला कार्यक्रम उद्घोषक दिनेश डिसीले उनलाई रोके। दर्शकहरूकै सामु उनले निश्मालाई जिस्क्याउन थाले र गजितसँग घुमेको जसरी आफूसँग नाचेर घुम्न आग्रह गरे। निश्माले पनि दिनेशको हात समातेर साल्सा शैलीमा घुमिदिइन् अनि दिनेशले एउटा घुँडा टेकेर निश्माको हातमा चुमे। दर्शकहरू सिट्ठी र ताली बजाउन थाले। दिनेशले भने- 'कार्यक्रम उदघोषण गर्नुको एउटा फाइदा दर्शकहरूकै बीचमा नायिकासँग फ्लर्टिङ गर्न पाइन्छ।'

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालित तेस्रो म्युजिक खबर म्युजिक एवार्ड वितरण कार्यक्रम सञ्चालन गर्ने क्रममा डिसीलाई भने गायिका कोमल ओलीले मञ्चमा बोलाएर आफ्नो गीतमा नचाएरै छाडिन्। ओलीले दर्शकदीर्घामा आएर अभिनेता कृष्ण मल्ल, निर्मल शर्मा 'गैडा', दीपाश्री निरौला, सुरेश दर्पण पोखरेलहरूलाई पनि नचाइन्। गायक शिव परियारले ट्रयाकबिना गीत सुनाए भने एवार्ड जितेका लोकगायक पशुपति शर्माले आफ्नो चर्चित गीत 'मलाई अमेरिका यही' को मुखडा गाएर सुनाए। अर्का लोकगायक भोजराज काफ्लेले आफ्नो चर्चित लोकगीत 'बोतलको पानीले' गाएर मनोरञ्जन प्रदान गरे।

नेपाली गीतसंगीतसम्बन्धी अनलाइन पत्रिका म्युजिक खबर डटकमले आयोजना गरेको म्युजिक खबर म्युजिक एवार्डको तेस्रो संस्करणमा दम्पती गायक-गायिका कन्हैया सिंह र अञ्जना गुरुङले क्रमशः उत्कृष्ट सुगम संगीत गायक तथा गायिकाको एवार्ड हात पारे भने गीतकार गोविन्दप्रसाद उपाध्यायको एल्बम 'सत्यता' वर्षकै उत्कृष्ट एल्बम हुन सफल भयो। त्यसैगरी सुगम संगीत विधामा संगीत संयोजनमा अमूल कार्की ढली, ध्वनि मिश्रणमा महेश्वर राजभण्डारी र गीतकारमा गायत्री थापा उत्कृष्ट घोषित भए। सुगम संगीत म्युजिक भिडियोको मोडलतर्फ पुरुषमा नायक गजित विष्ट र महिलामा नायिका करिश्मा मानन्धर उत्कृष्ट भए भने म्युजिक भिडियो निर्देशकको विधामा साप्ताहिककर्मी सुव्रत आचार्यले बाजी मारे। सुगम संगीत विधामै विजय परियार र रमा अर्यालले क्रमशः नवप्रतिभा गायक र गायिकाको एवार्ड थापे।

२९ वटा विधामा एवार्ड वितरण गरिएको झन्डै पाँच घण्टा लामो कार्यक्रममा राजु सिंह पप संगीतकार, सहिमा श्रेष्ठ पप गायिका, सुरज श्रेष्ठ पप गायक, रमेश अधिकारी राष्ट्रिय भावको गीत र जानकी पन्थ गजल विधामा उत्कृष्ट भए। लोकदोहोरीमा विरही कार्की गायक, टिका पुन गायिका, गणेश चौंलागाईं शब्द, पशुपति शर्मा भाका, रत्न श्रेष्ठ नवप्रतिभा गायक, सरिता थापा नवप्रतिभा गायिका र मुना थापा मगर लोकगीत विधामा उत्कृष्ट साबित भए। लोकदोहोरी विधामै म्युजिक भिडियोतर्फ महिला मोडलमा पार्वती राई, पुरुष मोडलमा विमल अधिकारी तथा निर्देशनमा प्रकाश भट्ट विजयी भए।

बालप्रतिभा प्रोत्साहनको पुरस्कार चलचित्र 'नाइँ नभन्नु ल'का गायक प्रेम परियारलाई प्रदान गरियो। संगीत पत्रकारिता पुरस्कारबाट तुलसी गिरी भावुकलाई सम्मान गरिएको कार्यक्रममा चलचित्र संगीततर्फ चलचित्र नोटबुकको चर्चित गीत 'गाला रातै'का गायक प्रल्हाद तिमिल्सिना, गायिका मिलन अमात्य तथा संगीतकार बसन्त सापकोटाले तीनवटै विधामा अधिकार जमाए। गीतकार दयाराम पाण्डे उत्कृष्ट गीतकार बन्न सफल भएको कार्यक्रमको आरम्भमा शंकर बिसी र पार्वती राईको आकर्षक नृत्यले वातावरण तताएको थियो।

प्रकाशित :असार ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्