
थ्री एम र प्लस टु पुस्ता
श्रावण १६, २०७१
कक्षा १२ मा विज्ञान पढिरहेकी निशा तामाङ भन्छिन्- 'घर र कलेज आउजाउ गर्न झन्डै एक घण्टा हिँडेपछि मात्र बस चढ्ने ठाउँ पुगिन्छ। कलेजको बस घरसम्म पुग्ने बाटो छैन। यस्तो अवस्थामा मोटरसाइकल/स्कुटर चढ्नुको विकल्प हुँदैन।' निशाको घर मूलखर्क हो। उनी नयाँ बानेश्वरको नोवेल एकेडेमीमा अध्ययनरत छिन्। सम्भवत: यातायातकै समस्याले हुनसक्छ, निशा होस्टलमा बस्छिन्। यद्यपि उनका सहपाठीहरू अझै पनि समस्यामै छन्। यो समस्या निम्त्याएको छ, प्लस टुका लागि तय गरिएको आचरसंहिताले।
प्लस टुलाई लक्षित गरेर मोटरसाइकल चढ्न, स्कर्ट लगाउन र मोबाइल प्रयोग गर्न निधेष गरिएको छ। मोटरसाइकलले दुर्घटना, स्कर्टले उच्छृंखलता तथा मोबाइलले अध्ययनमा बाधा पुगेको भन्दै प्लस टुमा आचरसंहिता जारी गरिएको हो। यद्यपि यसलाई व्यवहारिक रूपमा कति स्वीकार गर्न सकिन्छ ? आशंका ज्यूँका त्यूँ छ।
कलेजमा मोटरसाइकल चढ्न नदिने हो भने गौतम खत्रीले दैनिक एक घण्टा पैदल हिँड्नुपर्ने हुन्छ। उनको घरबाट सार्वजनिक यातायात चढ्ने स्थान बालकोटसम्म पुग्न ३० मिनेट हिँड्नुपर्छ। भनेका बेला सार्वजनिक यातायात पनि भेटिँदैन। भेटिए पनि त्यसले निर्धारित समयमा गन्तव्यसम्म पुर्याउँदैन।
'सार्वजनिक यातायात चढेर कलेज आउजाउ गर्दा धेरै समय व्यर्थ खर्च हुन्छ,' गौतम भन्छन्-'असुविधाको त कुरै छाडौं।' मोटरसाइकल चढ्नु सौख नभै आवश्यकता भएको उनको बुझाइ छ।
दुर्घटनाको आँकडाले युवाहरूलाई जोखिम समूहमा देखाएको छ। उनीहरू अनियन्त्रित रूपमा मोटरसाइकल हुइँक्याउँछन् र दुर्घटनामा पर्छन्। सौखका लागि बाइक चढ्ने यही पुस्तालाई मोटरसाइकल चढ्न दिइएन भने दुर्घटना न्यून हुन्छ भन्ने एकथरीको तर्क छ। यद्यपि यसलाई 'हचुवाको भरमा गरिएको निर्णय' मान्छन्, नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई। महासचिव भट्टराई भन्छन्- 'मोटरसाइकल कुदाउन नदिँदा दुर्घटना कम हुन्छ भन्ने कुरा एकदमै हास्यास्पद छ।' दुर्घटनाको खास समस्या उमेर समूहमा नभई 'स्किल'मा भएको उनको ठम्याई छ।
'दुर्घटनाको मूल कारण भनेकै ड्राइभिङ स्किल हो' भट्टराई भन्छन्- 'यसमा उमेरको कुनै भूमिका छैन।' ड्राइभिङको सही विधी नअपनाएकै कारण दुर्घटना हुने उनको जिकिर छ। त्यसैले 'प्लस टु पुस्तालाई मोटरसाइकल चलाउन नदिँदा दुर्घटना न्यून हुन्छ' भन्ने मान्यता कुनै पनि कोणबाट वैज्ञानिक नभएको भट्टराइले बताए।
मोटरसाइकलसँगै प्लस टुमा मिनिस्कर्ट र मोबाइल पनि प्रतिबन्धित छ। मिनिस्कर्ट 'भड्किलो हुने' भएकाले प्लस टुमा यसलाई निधेष गरिएको बताइन्छ। उक्त कुरामा भने निशा सहमत देखिइन्। 'अहिलेको फेसनेबल पुस्तालाई मिनिस्कर्ट लगाउन दिनै हुँदैन भन्ने होइन,' उनको तर्क थियो- 'तर, कस्तो पहिरन कहाँ लगाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। स्कल/कलेज फेसन शो गर्ने ठाउँ होइन।'
यता विधाइका कोइरालाको धारणा अलिक फरक छ। स्कर्ट लगाउँदैमा भड्किलो हुने र त्यसले विकृति फैलाउने कुरामा उनी पटक्कै सहमत छैनन्। 'त्यो हेर्ने दृष्टिकोणमा फरक पर्छ' शान्तिनगरस्थित एभरेस्ट फ्लोरिडावाट प्लस टु सकेकी विधाइका भन्छिन्- 'स्कर्ट लगाउनु आफैंमा नराम्रो चाहिँ होइन।'
अरूलाई देखाउन भन्दा पनि आफ्नो सहजताका लागि पहिरन लगाउनुपर्ने उनको तर्क छ। 'कतिपयले स्कर्टमा आफूलाई सहज महसुस गर्न सक्छन्,' कोइराला भन्छिन्- 'उनीहरूलाई पाइन्ट नै लाउनुपर्छ भनेर बाध्य बनाउनाले मानसिक समस्या उत्पन्न गर्छ।' मिनिस्कर्ट लगाउँदैमा विकृति फैलिने हो भने युरोप, अमेरिकामा त्यसको सबैभन्दा बढी असर देखिनुपर्ने विधाइकाको तर्क छ।
प्रविधिसँग सधैं एकाकार हुन खोज्ने प्लस टु पुस्तालाई मोबाइलबाट पनि अलग गरिएको छ। मोबाइल प्रयोग गर्दा पढाइमा ध्यान केन्दि्रत नहुने बताइन्छ। त्यस्तै, यसको 'मिसयुज' पनि बढेकाले प्लस टुमा मोबाइल बोक्न नपाइने नियम लागू गरिएको छ। कतिपय कलेजले चाहिँ मोबाइललाई 'आवश्यक भएको' भन्दै बोक्न छुट दिएका छन्। यद्यपि क्लास रूममा मोबाइल प्रयोग गर्न भने पाइँदैन। प्रविधिको जमानामा मोबाइलबाट यो पुस्तालाई अलग गर्न नसिकने स्वयं कलेज सञ्चालकहरू बताउँछन्। त्यसैले मोबाइललाई निषेध गर्नुभन्दा त्यसलाई सही ढंगले प्रयोग गर्न सिकाउनुपर्ने साउथ वेस्टर्न इन्टरनेसनल कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी बताउँछन्।
स्कर्ट जेनरेसन
- रोजिन शाक्य
दृश्य १ : मिनीस्कर्टमा सजिएका प्लस टुका तीन-चार जना छात्राको समूह उकालो बाटो उक्लिँदै थियो। तिनीहरूभन्दा केही पछाडि युवाहरूको समूह थियो। छोटो स्कर्ट लगाएकाले होला, छात्राहरू उकालो बाटोमा असहज महसुस गरिरहेका थिए। स्कर्टलाई तलतिर तानेजस्तो गरी पटक-पटक मिलाउँदै उनीहरू अगाडि बढ्दै थिए। तलतिर तानेर वास्तविकता परिवर्तन हुने थिएन, अर्थात् त्यसले स्कर्टको लम्बाइ बढ्ने थिएन।
दृश्य २ : घुँडाभन्दा तीन-चार इन्च माथिसम्म स्कर्ट लगाएर स्कुटीमा हुइँकिएकी छात्रालाई त्यतिबेला अप्ठ्यारो पर्यो, जतिबेला उनी हुइँकिरहेको विपरीत दिशाबाट तीव्र गतिको हावा चल्यो। छोटो स्कर्टलाई हावाको गतिले माथितिर उल्टयाइदियो। धन्न उनले स्कर्टमुनि स्ल्याक्स लगाएकी थिइन्। नत्रभने लगाउनेलाई भन्दा देख्नेलाई लाज भनेझैं उनले कुन रंगको अन्तवस्त्र लगाएकी छिन् भन्ने कुरा पनि थाहा हुन सक्थ्यो।
दृश्य ३ : सडकको एउटा किनारमा चिया पिइरहेको युवा जमातले सडकपारि छात्राहरूको नयाँ फेसनलाई पछयाइरहेका थिए। ती छात्राले लगाएका स्कर्टको लम्बाई एक भित्ताभन्दा सायदै बढी थियो। त्यसैले युवा जमातको आँखा एकनासले त्यतैतिर थियो। ती मैयाँहरूलाई हेर्दै आ-आफ्नो गन्तव्यतिर दुई विपरीत दिशाबाट अगाडि बढेका दुई जना बटुवा एक आपसमा ठोक्किए।
उल्लेखित प्रसंगले प्लस टु जेनरेसनमा स्कर्टको बढ्दो प्रयोग र त्यसमा घट्दो लम्बाईको प्रभावलाई इंगित गर्छन्। संसार नै फेसनबाट प्रभावित भएको छ भने हामी मात्र किन पछि पर्ने? यो अभिव्यक्तिसँगै अगाडि बढेका छात्राहरूमध्ये अधिकांश छोटो स्कर्टलाई आधुनिकताको संज्ञा दिन्छन्। उनीहरूको बुझाइमा कलेजको पहिरनमा लामो स्कर्ट नै लगाउनुपर्छ भन्ने छैन। समय परिवर्तन भैरहेको छ र त्यो परिवर्तनलाई आत्मसात् गर्ने क्रममा फेसनको प्रभावलाई पनि अँगाल्नु बुद्धिमानी हुने उनीहरूको तर्क छ। अहिलेको समयमा फेसनेवल देखिने चाहना नराख्ने को होला? कसैले घुँडाभन्दा माथिको स्कर्ट लगाउन चाहन्छ र त्यसमा स्मार्ट एवं सुन्दर देखिन्छ भने उसले बिनासंकोच लगाउन पाउनुपर्ने उनीहरू बताउँछन्। हरेक कुरामा सीमितता हुँदैन, यदि आफूले गरिरहेको कार्यमा सही छु भन्ने लाग्छ भने अरूले के सोच्छन् वा के भन्छन् भनेर अनावश्यक चिन्ता गर्नु मूर्खता मात्र हो भन्ने उनीहरूको बुझाइ छ।
प्लस टु अध्ययनरत छात्राहरू कलेज पहिरनमा छोटो स्कर्टको प्रयोगमा अभिभावक वा शिक्षक शिक्षिकाको नकारात्मक टिप्पणीलाई जेनरेसन ग्यापको संज्ञा दिन्छन्। परम्परागत मान्यतालाई स्कर्टको लम्बाइसँग जोड्नु उचित नभएको उनीहरूको धारणा छ। आफूखुसी खाने-लगाउने भनेकै उमेर र बैंस छँदै हो, स्कर्टलाई ३० वर्षको उमेरमा लगाउन सकिँदैन— छोटो स्कर्टप्रतिको लगावलाई यसरी प्रस्ट्याउँछन् प्लस टुका छात्राहरू। नीलेन्थ स्कर्टमा आफू स्मार्ट, स्टाइलिस, कुल एवं ट्रेन्डी देखिने स्कर्ट प्रेमीहरू बताउँछन्। स्कर्ट गर्मी मौसममा सुहाउँदो, सजिलो र आरामदायक पनि हुन्छ। कसैको ध्यान आफूतर्फ आकृष्ट गर्न नभै आफ्नो सहजता र आरामका लागि स्कर्ट लगाउने युवतीहरू बताउँछन्। प्लस टु युनिर्फममा स्कर्टको प्रयोगका सम्बन्धमा केहीले घुँडाभन्दा माथि वा मिनीस्कर्ट लगाउनुका पछाडि केटाहरूको अटेन्सन आफूतिर रहोस् भन्ने चाहना पनि रहेको बताउँदै भने— तर धेरैले यस्तो कुरा व्यक्त गर्दैनन्।
प्लस टु छात्राहरू कसैले मन पराउँदैन भनेर आफूले स्कर्ट लगाउन किन छोड्ने भन्ने तर्कका साथ प्रस्तुत हुन्छन्। एक छात्राले भनिन्— 'मलाई मेरो परिधि थाहा छ र मैले प्रयोग गरेको शैलीले मलाई र अरू कसैलाई पनि हानि पुर्याउँदैन भने मैले आफ्नो खुसीका लागि किन लगाउन नपाउने?' यद्यपि उनी माइक्रो स्कर्ट नै लगाएर उत्ताउलोपन प्रस्तुत गर्नु ठीक होइन भन्ने कुरामा सहमत देखिइन्। आफ्नो सहजताअनुसार मिनीस्कर्टसम्म ठीकै हो, माइक्रो स्कर्ट लगाएर बाटोमा हिँड्न असहज हुन्छ, कक्षाकोठामा बस्ने पो कसरी? अर्की छात्राले थपिन्।
प्लस टुको पहिरनमा स्कर्टको पक्षमा मात्र होइन, त्यसको विपक्षमा पनि त्यही जेनरेसन पाइन्छ। कुनैबेला ललितपुरको कुमारीपाटी र्र्स्ित क्याम्पियन कलेजमा पनि पहिरनका रूपमा स्कर्ट प्रयोग गरिन्थ्यो, तर अहिले त्यहाँका सबै छात्रा पाइन्ट लगाउँछन्। अति नै छोटो लगाइन थालेपछि कलेज प्रशासनले नै स्कर्टलाई ड्रेसकोडबाट हटाएको थियो। शिक्षामा फेसनको प्रभाव बढ्नु राम्रो नभएको कतिपय छात्राको तर्क छ। केही वर्षअघि लिटिल एन्जेल्स कलेजमा अध्ययन गरेकी छात्रा जुलिया अर्याल कलेज विद्यार्थीको पहिरनमा मिनीस्कर्ट पटक्कै हुँदैन भन्ने पक्षमा छिन्। उनी नीलेन्थसम्मको स्कर्ट स्वीकार्य भएको बताउँछिन्।
दस जोड दुई अध्ययनरत रमा शर्माको बुझाइम्ाा समयअनुसार परिवर्तन हुनुपर्छ,
तर निश्चित मापदण्डभित्रको अनुशासित एवं मर्यादित परिवर्तन स्वीकार्य हुन्छ।
चितवनस्थित शान्ति एकेडेमीकीले स्कर्टमा प्रतिबन्ध लगाएपछि सबै छात्राले पाइन्ट
लगाउन थालेका छन्। स्कर्ट प्रतिबन्धित हुनुको कारण बताउँदै एक छात्रा भन्छिन्— 'स्कर्टको लम्बाइ घट्नाले बढी उत्ताउलोपन देखियो। केटाहरूले पनि कति बित्ताको भनेर लम्बाइमा कमेन्ट गरेर हैरान गरेपछि स्कर्टमा असहजता बढेको महसुस गरी त्यसलाई युनिर्फमबाट हटाइएको हो।'
कुनै पनि कुराको सकारात्मक र नकारात्मक पाटो हुनु स्वाभाविक हो। व्यक्तिपिच्छे हरेक विषयमा फरक-फरक मत हुनु पनि अस्वाभाविक होइन, तर कुनै पनि युनिर्फमले समानता, मर्यादा र अनुशासनको परिचय दिनुपर्छ र युनिर्फमको उद्देश्य पनि त्यही नै हो भन्ने कुरामा सायदै कसैको विमति होला। फेसन र परिवर्तनलाई आत्मसात् गर्दा त्यसमा सकारात्मक परिवर्तन आउनुलाई स्वीकार्य मान्नुपर्छ।
स्कर्टकै सम्बन्धमा पनि पहिले लङस्कर्ट, त्यसपछि घुँडासम्म र अहिले केहीले घुँडाभन्दा एक-दुई इन्च माथि वा केहीले मिनीस्कर्टलाई पछयाएको पाइन्छ। केहीले भने माइक्रो स्कर्टसित पिरती गाँसेको देखिन्छ, जुन विद्यार्थीको युनिर्फमको अनुशासन र मर्यादाको हदभन्दा बाहिरको कुरा हो। त्यस्ता स्कर्ट लगाउनेहरूले पनि सायदै सहज महसुस गर्लान्। त्यसबाट ऊसँगै पढ्ने पुरुष सहपाठी र उसलाई पढाउने शिक्षक-शिक्षिकाको मनोविज्ञानमा पनि पक्कै सकारात्मक प्रभाव पर्दैन। पहिरनमा स्कर्टको लम्बाइमा विविधतासँगै अहिले प्लिटेड, बक्स प्लिटेड, रिभर्स बक्स प्लिटेड, प्यापिङ, पेन्सिल, स्ट्रेट आदि विभिन्न शैलीका स्कर्ट लोकप्रिय छन्, जुन युनिर्फमभन्दा बढी फेसन, आकर्षण र सुन्दरताप्रतिको सजगता हो।
समयसापेक्ष परिवर्तन अपनाउने क्रममा स्मार्टनेस बढ्छ, व्यक्तित्व थप आकर्षक देखिन्छ। लगाउने व्यक्तिलाई आराम र सहजता महसुस हुन्छ र त्यो समाजसापेक्ष छ भने त्यस्तो परिवर्तनलाई सकारात्मक मान्नुपर्छ, तर त्यसको ठीक विपरीत त्यसखालको परिवर्तन अमर्यादित छ वा त्यसले सामाजिक अनुशासनलाई चुनौती दिन्छ, समाजमा विकृति एवं उच्छृङ्खलताले प्रश्रय पाउँछ भने व्यक्ति स्वंयले आफूलाई सच्याउनु आवश्यक हुन्छ। हामी सबै सामाजिक प्राणी भएकाले समाजबाट अलग हुन सक्दैनौं। सामाजिक अनुशासनलाई आत्मसात् गर्नु पनि हामी सबैको दायित्व हो।
प्लस टुमा प्रतिबन्ध
- एकराज सुवेदी
आफ्ना छोराछोरी वा नजिकको नातेदारले एसएलसी पास गरे भने कस्तो उपहार दिनुपर्ला ? मोटरसाइकल, स्कुटर वा मोबाइल ? यी नै उनीहरूको रोजाइका उपहार बन्न सक्छन्।
यद्यपि यो उपहारका पछाडि अर्को पक्ष तगारो बनेर आएको छ। एसएलसी पास भएर के
गर्नु ? अब कलेज पढ्न जानु छ। कलेजमा मोटरसाइकल वा स्कुटर र मोबाइलको प्रयोग
गर्न पाइँदैन।
मोटरसाइकलभन्दा पनि मोबाइल 'कडा प्रतिबन्धमा' परेको छ। मिनीस्कर्टले विद्यार्थीको ध्यान पढाइमा केन्दि्रत नहुने भन्दै कलेजहरुले मिनीस्कर्टमाथि बन्देज लगाएका छन्।
स्कुटर/मोटरसाइकलमा हुइकिने प्लस टु जेनेरेसनका विद्यार्थीहरू दुर्घटनाका सिकार बन्ने गरेका छन्। कलेज जीवनमा प्रवेश गरेलगत्तै आफूलाई स्वतन्त्र महसुस गरेर उत्तेजक एवं भड्किलो शैलीमा मोटरसाइकलमा सवार हुन रुचाउँछन्, उनीहरू। साथीको देखासिकीमा आवश्यकताभन्दा तीव्र गतिमा मोटरसाइकल हाँक्ने नवयुवाहरू सधै दुर्घटनाको जोखिममा हुन्छन्। प्लस टु जेनेरेसनको यही मानसिकता र शैलीलाई बुझेर राजधानीका कलेजहरूले यस्ता साधनमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। यद्यपि कतिपय कलेजले भने आवश्यकताको सिद्धान्तअनुसार यसमा अलिकति खुकुलोपन अपनाएका छन्, तर मोबाइलको प्रयोगमा भने धेरैले कडाइ नै गरेको पाइन्छ। खासगरी कक्षा सञ्चालन भएका बेला यसमा पूर्णत: प्रतिबन्ध नै लगाइएको पाइन्छ।
नासा इन्टरनेसनल कलेजका प्रिन्सिपल नरेन्द्र अधिकारी कम उमेरका व्यक्तिले सवारी लाइसेन्स नै नपाउने व्यवस्था भएको अवस्थामा उनीहरूले यस्ता सवारी साधन चढ्नु पनि उपयुक्त नभएको बताउँछन्। यही कुरालाई मनन गरेरै हिसानले यो निर्णय गरेको उनको तर्क छ। अरुणिमा कलेजका केशव जोशी यसलाई दुर्घटना न्यूनीकरण गर्ने एउटा उपायका रूपमा औंल्याउँछन्। विद्यार्थीहरूले मोटरसाइकल, स्कुटर तथा मोबाइलजस्ता साधनको उपयोगभन्दा दुरुपयोग गर्ने गरेको पाइएकाले यसलाई बाध्यात्मक उपायका रूपमा अपनाइएको उनले बताए। एभरेस्ट कलेजका सिइओ विष्णुहरि पाण्डेको तर्क अलि फरक छ। आफ्नो कलेजले मोटरसाइकलभन्दा पनि मोडिफाई गरेर मोटरसाइकल चढ्ने र अनावश्यक हाउभाउ प्रदर्शन गर्ने विद्यार्थीहरूमा मात्र प्रतिबन्ध लगाएको उनी बताउँछन्। विद्यार्थीको आवश्यकता हेरेर त्यसै अनुसार निर्णय गर्ने गरेको उनको भनाइ छ। नाइटिंगेल कलेजका प्रिन्सिपल टिएल चौधरी पनि विद्यार्थीले आवश्यक मात्रामा यसको प्रयोग गरे पनि समय-परिस्थिति अनुसार यसमा प्रतिबन्ध लगाइएको बताउँछन्।
अहिलेको जमानामा मोटरसाइकल कुदाउने विद्यार्थी अनुशासनहीन, पढाइमा कमजोर हुन्छन् भन्नु 'पुरातनवादी सोच' भएको कतिपय विद्यार्थीको तर्क छ। यात्राका लागि सहज माध्यम भएकाले नै मोटरसाइकल प्रयोग गर्ने गरेको उनीहरूको भनाइ छ। 'मोटरसाइकल चढ्नुको फाइदा पनि हेर्नुपर्छ' नोबेल एकेडेमी नयाँ बानेश्वरवाट प्लस टु सिध्याएका सुरज थापा भन्छन्- 'यसको नकारात्मक कुरा मात्र हेरेर भएन।' बरु संयमित र सभ्य ढंगमा मोटरसाइकल कुदाउनुपर्ने उनको तर्क छ।
विद्यार्थीका निम्ति समय निकै मूल्यवान् हुन्छ। करियर निर्माणका क्रममा रहेका उनीहरू समय व्यवस्थापनमा थोरैमात्र चुके भने सम्पूर्ण जीवन नै बर्बाद हुन सक्छ। अत: यो संवेदनशील घडीमा उनीहरू घण्टौं सार्वजनिक यातायात पर्खनुपर्ने बाध्यतावाट मुक्ति चाहन्छन्। चिप्लेकीराको गतिमा गुड्ने सार्वजनिक यातायातमा यात्रा गर्दा समय व्यर्थ नष्ट गर्नुपर्ने विद्यार्थीहरूको बुझाइ छ।
निजी उच्च माविहरूको छाता संगठन उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले प्लस टुमा मोटरसाइकल प्रतिबन्ध लगाउने नीति लिएको छ। हिसानसहित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) तथा अभिभावक संघले पनि प्लस टु वा सो सरहको तहमा मोटरसाइकल प्रयोगमा निरुत्साहित गर्न महानगरीय ट्राफिक महाशाखासँग सम्झौता गरेका छन्। हिसानले त प्लस टु तहका विद्यार्थीले मोटरसाइकल हाँकेर कलेज आउन नपाउने आचरसहिंता नै वनाएको छ। यद्यपि सबै कलेजले उक्त आचरसहिंतालाई स्वीकार गरेका छैनन्। 'छोराछोरीको क्षणिक खुसीका लागि अभिभावकहरू मोटरसाइकल किनिदिन्छन्,' हिसान अध्यक्ष उमेश श्रेष्ठ भन्छन्- 'तर, उनीहरु मोटरसाइकल लिएर निस्किएका छोराछोरी घर सकुशल नर्फकलान् कि भन्ने चिन्ताले हरेक क्षण पिरोलिइरहेका हुन्छन्।' उनको कुरालाई अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी पनि स्वीकार गर्छन्। भण्डारी भन्छन्- 'समाजमा धनको भद्दा प्रदर्शन गर्ने होड छ तर यस्तो आडम्बरले कलिला छोराछोरीको ज्यान गएर जीवनभर पछुताउनुपर्ने हुनसक्छ।'
अल्लारे जोसले बिगार्छ
एसएलसी सिध्याएका विद्यार्थीहरू टिनएजमै हुन्छन्। साथीको लहलहै र देखासेखीमा बहकिने उमेर हो यो। मोटरसाइकल चलाउने लहड पनि त्यसकै नतिजा हो। आफ्ना साथीले चढेको देखेरै कतिपयले मोटरसाइकल किन्छन् र नजानिँदो किसिमको प्रतिस्पर्धामा सामेल हुन्छन्। मोटरसाइकलको ब्रान्ड, डिजाइन एवं क्षमतामा मात्र होइन हुइँक्याउने कुरामा पनि प्रतिस्पर्धा चल्छ, उनीहरूबीच। यसरी साथीहरूसँगको होडमा अनियन्त्रित रूपमा मोटरसाइकल हुइँक्याउने क्रममै उनीहरू दुर्घटना पर्न सक्छन्। प्लस टु जेनेरेसनका लागि मोटरसाइकलका यतिमात्र बेफाइदा छैनन्। उनीहरू मोटरसाइकल किनेपछि कलेजमा भन्दा अन्यत्रै रमाइलोमा भुलिने, कलेज बंक गर्ने समस्या छ। त्यसैगरी मोटरसाइकल नहुनेहरूले आफ्ना अभिभावकमाथि अनावश्यक दबाब दिन्छन्। यसले गर्दा कलेजको वातावरण नै बिथोलिन सक्छ।
१६ वर्षमै लाइसेन्स
१६ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँछन्। नागरिकता लिएका हरेक नागरिकले सवारी चालक इजाजतपत्र लिन सक्ने व्यवस्था छ। जबकि उनीहरू यतिबेलासम्म कसरी सवारी कुदाउने, ट्राफिक नियमको पालना कसरी गर्ने, मर्यादित एवं जिम्मेवार चालक कसरी वन्ने भन्ने कुरा बुझेकै हुँदैनन्। सवारी दुर्घटना डरलाग्दो तरिकाले बढ्नुमा कच्चा उमेरमै लाइसेन्स दिनु पनि भएको जानकारहरू बताउँछन्।
राजधानीका लगभग सबै कलेजले विद्यार्थी बोक्न छुट्टै बसको व्यवस्था गरेका छन्। यद्यपि कलेजले उपलब्ध गराएको यो सुविधाबाट सबै विद्यार्थी लाभान्वित हुन्छन् भन्ने छैन। कतिपय विद्यार्थी अलि विकट स्थानमा पनि बसेका हुन सक्छन्। कलेजको दूरी लामो छ भने हिँडेरै कलेजसम्म पुग्न सम्भव हुँदैन, यी विद्यार्थीहरूलाई। आफूले अध्ययन गर्ने कलेज र सार्वजनिक यातायातको रुट पनि नमिल्न सक्छ। यस्तो वेला मोटरसाइकलको विकल्प छैन। त्यसैले यस्ता समस्यामा रहेका विद्यार्थीहरू 'मोटरसाइकल निषेध कलेजमा' पढ्नबाट वञ्चित हुनुपरेको अवस्था पनि छ।
'कतिपय विद्यार्थी बाध्यतामा हुन्छन्' ह्वाइट फिल्ड कलेज, सोह्रखुट्टेका संस्थापक प्रिन्सिपल पारस श्रेष्ठ भन्छन्- 'यस्तो अवस्थामा मोटरसाइकल प्रतिबन्धित गर्नु भनेको उनीहरूमाथि अन्याय गर्नु हो।' स्वभाबैले प्रविधिमैत्री यो पुस्तालाई प्रविधिबाट अलग्याउन नहुने उनको धारणा छ।
प्रकाशित :श्रावण १६, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्