Teej banner
कराँतेमा नयाँ पुस्ता

कराँतेमा नयाँ पुस्ता

श्रावण ३०, २०७१

नेपालमा फुटबल र क्रिकेटको जति क्रेज छ, त्यो मार्सल आर्टका खेलमा पाइँदैन, तर नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा पदक दिलाउने काममा भने अग्र श्रेणीमा पर्छन्, मार्सल आट्र्सका खेलहरू। मार्सल आर्टमध्ये पनि सबैभन्दा अग्रस्थानमा छ— तेक्वान्दो।

तेक्वान्दोमा त नेपालका दुई खेलाडीले छनोट चरण पार गरेरै ओलम्पिकमा सहभागिता जनाइसकेका छन्। सन् २००४ को एथेन्स तथा सन् २००८ बेइजिङको ओलम्पिकमा क्रमश: संगिना वैद्य र दीपक विष्टले सहभागिता जनाएका थिए। नेपालले आधिकारिक रूपमा अन्तर्राष्ट्रिय खेलकुदमा जितेको सबैैभन्दा ठूलो पदक तेक्वान्दोले नै ल्याएको छ, जुन काम गरेकी थिइन्—सबिता राजभण्डारीले। उनले एसियाली खेलकुद (एसियाड) मा रजत पदक जितेकी थिइन्।

तेक्वान्दोपछि सफल खेलमा पर्छ— कराँते। यही खेलमा अहिले नयाँ पुस्ताको उदय भएको छ। प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्, 'राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई वर्षदेखि लगातार नियमित प्रशिक्षण गर्ने काम अघि बढाएपछि नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्यो।'

दक्षिण कोरियाको इन्चोनमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म १७ औं एसियल खेल हुँदैछ। त्यसका लागि कराँतेमा महिला र पुरुषका ४/४ गरी ८ खेलाडी छनोट भए। गत शुक्रबार भएको छनोटमा महिलाको ६९ केजीमा गंगा अधिकारीबाहेक सबै नयाँ खेलाडी पहिलो पटक एसियन खेलकुदमा सहभागिता जनाउन लागेका हुन्। कराँतेमा गंगाले मात्र दोस्रो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेकी हुन्। 'नयाँ खेलाडीमा अनुभवको कमी छ, तर प्रतियोगिता अघि संघले जापानमा लगेर बन्द परीक्षण गराएर कोरिया जाने योजना बनाउँदैछ,' प्रशिक्षक श्रेष्ठले भने, 'त्यसपछि युवा खेलाडीहरूलाई केही अनुभव पनि प्राप्त हुनेछ।'

एसियाड छनोटमा पुरुषतर्फ भने सबै खेलाडी नयाँ छन्। ७५ केजीमा दिवस श्रेष्ठ, ६७ केजीमा मुकुन्द महर्जन, ५५ केजीमा विजय लामा तथा एकल कातामा पर्शुराम बास्तोला छानिएका छन्। विजय लामाले ११ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल सुनिल लामालाई पछि पारेका थिए भने विनोदलाई मुकुन्दले हराए। विजय, मुकुन्द र दिवस नेपाली कराँतेका नयाँ पुस्ता हुन्। नेपालले यी तिनै प्रतिभावान खेलाडीबाट पर्याप्त अपेक्षा पनि गरेको छ। पर्शुरामले भने ११ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेका थिए।

रवीन्द्र दहाल, सुनिल लामा, विनोद लामा, विनोद शाक्यजस्ता खेलाडीको चुनौती पन्छाएर अघि बढेका यी खेलाडीहरू नेपाली कराँतेका नयाँ पुस्ता भएको प्रशिक्षक श्रेष्ठले बताए। महिलामा पनि नयाँ खेलाडी अघि आएका छन्। ५० केजीमा अनु अधिकारी, ५५ केजीमा मलिका थापा र एकल कातामा चन्चला दनुवार अघि देखिएका छन्। यो पुस्ताले रोजी नगरकोटी र कल्पना बस्नेत, सन्नी तामाङजस्ता खेलाडीलाई पछि पारेको हो।  

चार वर्षअघि चीनको गोन्जाउमा भएको थियो एसियाली खेलकुद। उक्त १६ औं एसियाडमा कराँतेबाट पर्याप्त अपेक्षा गरिएको थियो, तर कराँते टिम पुरै फ्लप भयो। त्यतिबेला बक्सिङका दीपक महर्जनले नेपालका लागि एउटा पदक दिलाउने क्रममा कास्य जितेका थिए।

कराँते यसपटक गोन्जाउको इतिहास दोहोर्‍याउन चाहँदैन। अनुभवी गंगा र युवा जोसका साथ इन्चोन जाने टिम पदकसहित र्फकने लक्ष्यमा छ। कराँतेको प्रदर्शन कस्तो होला, त्यो अब बाँकी समयमा हुने तयारीमा पनि भर पर्नेछ।

प्रकाशित :श्रावण ३०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्