Teej banner
सिर्जनालाई ग्ल्याम हन्टको उपाधि

सिर्जनालाई ग्ल्याम हन्टको उपाधि

- कृष्ण भट्टराई

भाद्र ६, २०७१

'ब्युटि विद द पर्पोस भनेको सुगन्धसहितको फूल जस्तै हो। बाहिरी सौन्दर्य आँखाको आनन्द र क्षणिक समयका लागि मात्र हुन्छ, समयसँगै त्यो धमिलो पनि हुन्छ। भित्री सौन्दर्यले हामीलाई संसारसँग जोडिने अवसर प्रदान गर्छ। ब्युटि विद द पर्पोसले मानिसलाई अरूबाट अलग बनाउँछ। एकअर्कालाई सहयोग गर्ने भावना जगाउँछ। जीवनलाई नै सुन्दर बनाउँछ।'  

साप्ताहिकको सहकार्यमा शुक्रबार राति सोल्टी होटलमा सम्पन्न 'जोय पपैया सन् ग्ल्याम हन्ट-२०१४' को निर्णायक चरणमा माथि उल्लेखित धारणा व्यक्त गर्दै बाजालु, काठमाडौंकी २१ वषर्ीया सिर्जना रेग्मीले ग्ल्याम हन्टको उपाधि आफ्नो पोल्टामा पारिन्। मिस नेपाल-२०१३ इशानी श्रेष्ठले मिस वल्र्ड-२०१३ मा 'ब्युटि विद द पर्पोज' विधामा उपाधि जितेपछि ग्ल्याम हन्ट-२०१४ को निर्णायक चरणमा 'ब्युटि विद द पर्पोस भनेको के हो ?' भन्ने सामूहिक प्रश्नमा सबै २४ जना प्रतिस्पर्धीको धारणा जान्न खोजिएको थियो। निर्णायकले यही विषयमा आधारित एउटा सामूहिक प्रश्न सोधेका थिए। सात जना निर्णायकले सिर्जनाको जवाफलाई उत्कृष्ट मान्दै उनलाई 'ग्ल्याम हन्ट-२०१४' उपाधि विजेता घोषणा गरेका हुन्। उपाधिसँगै सिर्जनाले नगद ५० हजारका साथमा एक वर्षका लागि जोय पपैया सनको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गरेकी छिन्।

यसै वर्ष बीबीएसको अध्ययन पूरा गरेकी सिर्जना ५ फिट साढे ६ इन्च अग्ली छिन्। वर्ष २०१४ को मिस नेपालमा समेत प्रतिस्पर्धा गर्ने योजना बनाइरहेकी सिर्जना विगत एक वर्षदेखि मोडलिङमा सक्रिय छिन्। अघिल्लो वर्ष सम्पन्न मेकअप आर्टिस्टहरूको एउटा प्रतियोगिताका लागि मोडलका रूपमा प्रतिस्पर्धा गर्दै फस्ट रनर्सअपको उपाधि जित्न सफल सिर्जनाले यस अवधिमा करिब एक दर्जन फेसन शोमा क्याटवाक गरिसकेेकी छिन्। भविष्यमा बिजनेस उमन बन्ने लक्ष्य लिएकी सिर्जनाले 'ग्ल्याम हन्ट-२०१४' को उपाधिलाई अहिले सम्मको आफ्नो सबैभन्दा ठूलो सफलताका रूपमा लिएकी छिन्।

सोल्टी होटलमा सम्पन्न प्रतियोगितामा विजेता भएर क्राउन लगाइसकेपछि साप्ताहिकलाई प्रतिक्रिया दिँदै संखुवासभाको वानामा जन्मिएकी सिर्जनाले भनिन्— 'विजेताका रूपमा मेरो नाम घोषणा हुँदा म आफैं आश्चर्यमा परेकी थिएँ। तीन महिना लामो तयारीको परिणाम सुखद् भएको अनुभव गरेँ। कुनै न कुनै उपाधि जित्छु भन्ने कुरामा ढुक्क थिएँ तर विजेता नै बन्न सफल भएकोमा म आफूलाई भाग्यमानी मानिरहेकी छु।' 'अबको एक वर्ष पपैया सन जोयको ब्रान्ड एम्बेसडरका रूपमा रहनेछु, आगामी दिनका लागि तयार पारिएको योजना सुनाउँदै सिर्जनाले भनिन्- 'नीरकमल ज्ञानकुञ्ज फाउन्डेसनद्वारा सञ्चालित प्रोजेक्ट वान रुपिज एजुकेसनको ब्रान्ड एम्बेसडरका रूपमा समेत काम गर्नेछु।' यो प्रतियोगितामा भाग लिनुअघि सिर्जनाले बीबीसीका लागि तयार पारिएको एउटा इन्स्टुमेन्टल गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन्। राम्रो भूमिका भएको चलचित्रबाट प्रस्ताव आए नायिकाका रूपमा डेब्यू गर्नसमेत इच्छुक रहेको सिर्जनाले स्पष्ट पारिन्। आगामी एक वर्ष उनी जोयका विभिन्न कस्मेटिक्सका उत्पादनमा मोडलका रूपमा समेत प्रस्तुत हुनेछिन्। प्रतियोगितामा सिर्जनाले पर्फेक्ट वाकको उपाधिसमेत जितेकी थिइन्।

विभिन्न तीन चरणमा विभाजित उक्त प्रतियोगितामा स्मृति दाहालले फस्ट रनर्सअपको उपाधि जित्दै नगद ३० हजार रुपैयाँ प्राप्त गरिन् भने आस्था कार्कीले सेकेन्ड रनर्सअपको उपाधिसहित नगद २० हजार रुपैयाँ जितिन्। आस्थाले मिस फोटोजेनिकको उपाधि पनि हासिल गरिन्। प्रतियोगितामा ऋतु मगरले पर्फेक्ट फिगर, मनीषा कर्माचार्य तथा मोनिका कर्माचार्यले बेस्ट स्किन, अनिता चन्दले पपुलर फेस, रञ्जु ठकुरीले बेस्ट पर्सनालिटी तथा रोजिना श्रेष्ठले बेस्ट हेयरको उपाधि जितेका थिए। शीर्षक उपाधिमा नगद ५ हजार रुपैयाँ समावेश थियो। पपुलर फेस एवार्डका लागि फेसबुक लाइकलाई आधार बनाइएको थियो। प्रतियोगिताको निर्णायकमा कान्तिपुर पब्लिकेसन्सका सम्भव सिरोहिया, फोटोग्राफर राजभाइ सुवाल, अभिनेता अनुपविक्रम शाही, फेसन डिजाइनर अन्नु श्रेष्ठ, मिस नेपाल-२०१३ इशानी श्रेष्ठ, फिट्नेस इन्स्ट्रक्टर रोजी पुन तथा नायिका नम्रता श्रेष्ठ सम्लग्न थिए।

हास्य श्रृंखला मेरी बास्सैका कलाकारहरू सीताराम कट्टेल धुर्मुस, सुरवीर पण्डित तथा राजु मास्टर साबले प्रहसन प्रस्तुत गरेको प्रतियोगिताको पहिलो तथा दोस्रो सिक्वेन्समा प्रतिस्पर्धीहरूले विभिन्न पहिरन प्रदर्शन गरेका थिए।

प्रकाशित :भाद्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्