
स्मार्टफोन किन्नुअघि
भाद्र १३, २०७१
स्मार्टफोन, हरेक युवाको गोजीको आवश्यकता बनिसकेको छ। स्मार्टफोन मोबाइल फोनको पछिल्लो पुस्ता हो। यसमा दूरसञ्चारका साथै कम्प्युटरको सुविधा पनि उपलब्ध हुन थालेपछि यो आम आवश्यकताको साधन बनेको छ। यसबाट फोन, इमेल आदि गर्न सकिनुका साथै क्यामेरा र गीत-संगीतको आनन्द पनि लिन सकिन्छ। गुगलको मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडको विकास पछि त चीन र भारतजस्ता ठूला र सस्ता बजारका लागि बन्न थालेका फोनले नेपालीहरूलाई पनि सस्तो मूल्यमै स्मार्टफोन गोजीमा राख्न सक्ने बनाएको छ।
मूल्यमा सस्तो, सुविधा पनि प्रशस्तै भएको दाबी गरिएका स्मार्टफोनहरूको बिगबिगी नै छ बजारमा। यद्यपि स्मार्टफोन किन्दा केही कुरामा ध्यान पुर्याउनुपर्छ, जसले गर्दा सस्तो फोन लिने चक्करमा हैरानी बेहोर्नुका साथै पैसा पनि गुमाउनु नपरोस्।
ब्याट्री ब्याकअप
स्मार्टफोन किन्दा सबैभन्दा चासो दिएर सोध्नुपर्ने र बुझ्नुपर्ने कुरा ब्याट्रीको ब्याकअप हो। फोन चल्ने नै ब्याट्रीको ब्याकअपमा भएकाले आफूले किन्न लागेको फोन एक पटक चार्ज गरेपछि कति समयसम्म चल्छ, ध्यान पुर्याउनुपर्छ। सस्तो मूल्यमा पनि लामै समय सम्म ब्याट्री ब्याकअप दिने फोन किन्न सकिन्छ।
र्याम र प्रोसेसर
स्मार्टफोन एन्ड्रोइड र स्क्रिनले मात्र राम्रो हुँदैन। त्यसको महत्वपूर्ण कुरा भनेको त्यसमा रहेको र्याम तथा प्रोसेसरको क्षमता हो। बजारमा १२८ एमबी देखी १ जीबी सम्म र्याम भएका सस्ता स्मार्टफोन उपलब्ध छन्। आफूले किन्ने फोनको र्याम ५१२ भन्दा कम हुनुहुँदैन। प्रोसेसरको क्षमता पनि ६११ मेगाहर्ज भन्दा कम हुनु हुँदैन।
अपरेटिङ सिस्टम
स्मार्टफोनलाई स्मार्ट बनाउने भनेको अपरेटिङ सिस्टमले हो। त्यसैले फोन किन्नुअघि कुन अपरेटिङ सिस्टम अन्तर्गत चल्ने फोन हो भन्ने कुरा जान्नुपर्छ। पछिल्लो समयमा सस्तो र एन्ड्रोइडको नाममा पुरानो संस्करणका अपरेटिङ सिस्टम भएका फोन पनि बजारमा आइरहेका छन्। जसका कारण कतिपय नयाँ एप र सुविधा जुन आफ्नो मोबाइलमा आवश्यक हुन्छ त्यो उपलब्ध नहुन सक्छ, जसले आफ्नो फोन हुनुपर्ने भन्दा कम स्मार्ट हुन पुग्छ। त्यसैले एन्ड्रोइड मात्र नहेरेर त्यसको संस्करण पनि हेर्नु बुद्धिमानी हुन्छ। अहिले फोनको अपरेटिङ सिस्टम जेलीबीन भएको राम्रो हुन्छ।
एप्स
स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो— एप्स। नेपालका अधिकांश प्रयोगकर्ताले अनलाइनमा डलर कारोबार गर्न नसक्ने भएकाले नि:शुल्क डाउनलोडका लागि उपलब्ध एप्समा मात्र भर पर्नुपर्ने हुन्छ। 'बोल्टवेयर' भनिने फोनमा पहिले नै इन्स्टल भएर आएका एपहरू के-कस्ता छन् जान्नु आवश्यक हुन्छ।
कनेक्टिभिटी
स्मार्टफोन किन्दा त्यसको कनेक्टिभिटी क्षमता र सुविधाका बारेमा जान्नु अर्को महत्वपूर्ण पक्ष हो। स्मार्टफोन, एन्ड्रोइड अपरेटिङ सिस्टम भन्दैमा फोनको कनेक्टिभिटी एउटै खालको हुन्छ भन्ने हुँदैन। थि्रजी तथा वाइफाइ नभएका स्मार्टफोन पनि सस्तो मूल्यमा उपलब्ध छन्। त्यसैले किन्नुअघि नै फोनमा थ्रीजी, वाइफाइ तथा ब्लुटुथ सुविधा छ-छैन, हेर्नुपर्छ।
सहज पार्ट्स तथा मर्मत सुविधा
सस्तो मूल्यको स्मार्टफोन किनेको केही महिनामै बिगि्रयो र त्यसलाई सजिलै मर्मत गर्न सकिएन भने फेरी अर्को फोन किन्नुपर्ने हुन्छ। त्यसैले फोन किन्नु भन्दा पहिले एकपटक उक्त ब्राण्डको फोनको सर्भिस सेन्टरका सम्बन्धमा जानकारी लिनु बुद्धिमानि हुन्छ। सर्भिस सेन्टरमा आएका मानिसहरूले मर्मतमा पाएको हैरानी वा सुविधाको कुरा सुनेर स्मार्टफोन खरिद गरियो भने आफ्नो छनौट अझ सही हुन्छ।
२० वर्षअघिको पहिलो स्मार्टफोन
विश्वको पहिलो स्मार्टफोन आइबिएम-सिमोनको बिक्री प्रारम्भ भएको २० बर्ष पुगेको छ। सन् १९९४ को अगस्ट १६ मा उक्त स्मार्टफोन बजारमा उपलब्ध भएको थियो। आइबिएमद्वारा निर्माण गरिएको उक्त स्मार्टफोनमा एक घण्टाको ब्याट्री पावर थियो।
आइबिएम-सिमोनको लम्बाई २३ सेन्टीमिटर थियो भने त्यसको तौल लगभग आधा किलोग्राम थियो र त्यो एउटा इँटाजस्तै देखिन्थ्यो। त्यतिबेला त्यसको मूल्य ९ सय डलर थियो। २९ वर्ष अघि ९ सय डलर निकै महँगो हो।
उक्त स्मार्टफोनमा हरियो रंगको एलसिडी डिस्प्ले स्क्रिन थियो। टचस्क्रिन प्रविधि प्रयोग गरिएको पहिलो डिभाइस भएकाले यसलाई पहिलो स्मार्टफोन भनिएको हो। यसको सहयोगले प्रयोगकर्ताले नोट लेख्न, ग्राफिक चित्र कोर्न, कन्ट्याक्ट तथा फ्याक्स पठाउन, फोन गर्न तथा रिसिभ गर्न सक्थे। त्यतिबेला उक्त मोडलका ५० हजार स्मार्टफोन बिक्री भएका थिए।
आइबिएम-सिमोनमा ४ दशमलव ५ इन्चको ब्ल्याक एन्ड ह्वाइट स्क्रिन थियो, जसको ब्याकग्राउन्ड हरियो थियो। एलसिडी स्क्रिनको रिजोल्युसन १६०.२९३ पिक्सेल थियो। यसको मेमोरी १ एमबि थियो, जसलाई कार्डको सहायताले १ दशमलव ८ एमबिसम्म बढाउन सकिन्थ्यो। यसमा १६ मेगाहर्जको प्रोसेसर थियो।
प्रयोगकर्ताहरूको काम सहज बनाइदिने भएकाले त्यसको नाम सिमोन राखिएको बताइन्छ। विश्वकै पहिलो स्मार्टफोन भएकाले आगामी अक्टोबर महिनादेखि यसलाई लन्डन साइन्स म्युजियममा राखिनेछ। उक्त स्मार्टफोन आइबिएम र अमेरिकी सेल्युलर कम्पनी बेलसाउथले मिलेर बनाएका थिए।
सूर्यजस्तै चम्किलो पदार्थ लुमिनोफोर
एलईडीका बारेमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले नयाँ चम्किलो पदार्थ पत्ता लगाएका छन्। लुमिनोफोर नाम दिइएको उक्त पदार्थले ऊर्जा क्षमता बढाउनुका साथै सूर्यजस्तै चम्किलो किरण दिन्छ। जर्मनीको म्युनिखस्थित सोलिड स्टेट केमिस्ट्रीका प्रोफेसर स्निक र उनको समूहले विकास गरेको उक्त पदार्थलाई एलइडी बल्बमा प्रयोग गर्न सकिन्छ। कुनै पनि पदार्थको कलर रेन्डरिङ इन्डेक्स जति धेरै भयो, प्रकाशको तीक्ष्णता उति राम्रो हुन्छ। सूर्यको किरणको इन्डेक्स १ सय हुन्छ भने एलइडीको ८०। लुमिनोफोरको इन्डेक्स ९० भएको पाइएको छ।
क्यान्डी क्रसबाट छुटकारा
फेसबुकमा क्यान्डी क्रस गेम खेल्ने रिक्वेस्ट आएर हैरान हुनुभएको होला। कतिपयले त यसरी रिक्वेस्ट नपठाउन अनुरोधसमेत गरेका हुन्छन्। यसरी पठाइएका अनुरोधका बारेमा विभिन्न कार्टुनसमेत बनेका छन्भने यसका बारेमा विभिन्न चुट्किलासमेत बन्न थालेका छन्। यस्ता चुट्किला र तस्बिर फेसबुकमा भाइरलसमेत बनेका छन्। त्यसैले यो गेम खेल्न नचाहनेहरूका लागि यस्ता रिक्वेस्ट नआउने बनाउन सिक्नु आवश्यक छ।
आएका रिक्वेस्ट हटाउन पहिले फेसबुकको बायाँ साइडमा रहेको एप्सअन्तर्गत गेममा क्लिक गर्नुपर्छ। अर्को पेज खुल्छ। त्यसमा रहेको 'एक्टिभिटी' मा क्लिक गरेर रिक्वेस्ट पेजमा लगइन गर्नुपर्छ। उक्त पेजमा कुनै रिक्वेस्ट छ भने त्यसमा भएको ह मा क्लिक गर्नुपर्छ। यति भए यो गेम खेल्नु आवश्यक छैन। पहिले आएका इन्भिटेसन हेर्न त्यसैमा रहेको इन्भिटेसनमा क्लिक गर्नुपर्छ। यदि कुनै इन्भिटेसन देखिन्छ भने त्यसमा पनि हृ मा क्लिक गरेपछि उक्त इन्भिटेसन ब्लक हुन्छ।
यस्ता रिक्वेस्ट सधैंका लागि नआउने पनि बनाउन पनि सकिन्छ। त्यसो भए मात्र यो गेमको नोटिफिकेसनबाट छुट्कारा प्राप्त गर्न सकिन्छ। त्यसका लागि फेसबुक लगइन गरेपछि त्यसको दायाँतिरको छेउको बटनमा क्लिक गरी सेक्युरिटी सेटिङ्समा जानुपर्छ। जुन पेज खुल्छ, त्यसको बायाँतिर रहेको ब्लकिङमा क्लिक गर्नुपर्छ। सबैभन्दा तलतिर रहेको ब्लक एप्समा एप सर्च गरी क्लिक गर्दा पूरै एप्स ब्लक हुन्छ। यो एप्सलाई अनब्लक गर्न मन लाग्यो भने यही उपाय अबलम्बन गर्दै अनब्लक पनि गर्न सकिन्छ।
एसियन ब्याट्री एप्स
ब्याट्री दैनिक जीवनका लागि अत्यावश्यक सामग्री हो। हामी इन्भर्टर तथा विभिन्न सवारी साधनमा ब्याट्री प्रयोग गर्छौं। ब्याट्रीको नियमित मर्मत-सम्भार हुनु पनि त्यत्तिकै आवश्यक छ, तर सबैलाई यसको समय तथा प्रक्रिया थाहा नहुन सक्छ। यही कुरालाई ध्यानमा राखेर एसियन ब्याटि्रज लिमिटेडले ब्याट्रीसम्बन्धी एप्स निर्माण गरेको छ।
बिराटनगरमा मुख्य कार्यालय रहेको मेगाटेक ग्रुपअन्तर्गतको एसियन ब्याट्रीले उक्त एप्सको निर्माण गरेको हो। एन्ड्रोइड तथा विन्डोज भर्सनमा उपलब्ध उक्त एप्स एसियन मात्र होइन, जुनसुकै ब्याट्रीका लागि पनि उपयोगी छ। यसको सहयोगले ब्याट्रीको मर्मत र टप अप गर्नुपर्ने समय थाहा पाउन सकिन्छ। सजिलोका लागि यसमा लोडसेडिङ तालिका पनि राखिएको छ। ब्याट्रीको लोड कति छ र त्यसले अब कति घण्टा काम गर्छ भन्ने कुराको जानकारी दिने यो एप्सले सर्भिस र मर्मतका लागि बोलाउने समयको संकेत पनि दिन्छ। घरमा भएको इन्भर्टर, गाडी तथा मोटरसाइकलमा प्रयोग भैरहेको ब्याट्रीको समग्र पक्षको जानकारी लिन यो एप्स निकै उपयोगी छ। यो एप्स जुनसुकै कम्पनीको ब्याट्रीमा प्रयोग गर्न सकिन्छ।
www.project360.mammut.ch
पहाड चढेको अनुभव गर्न मन लागेको छ ? त्यसो भए www.project360.mammut.ch लगइन गर्नुहोस्। यसमा विभिन्न प्रकारका पहाड चढेको अनुभव गर्न सकिन्छ। माउसलाई चलाएर यताउती गर्दै पहाडका विभिन्न स्थानमा घुम्न सकिन्छ। मामुट माउन्टेन स्पोर्ट्सका लागि विशेषज्ञ कम्पनी हो। स्विट्जरल्यान्डको यो कम्पनीले विभिन्न प्रकारका पहाडको सयर गराउँछ। पहाड चढ्न नसक्नेहरूले भने घरमै बसेर पनि भर्चुअल रूपमा हिमाल आरोहणको मज्जा लिन सक्छन्। पछिल्लो समयमा कम्पनीले स्विट्जरल्यान्डको प्रसिद्ध हिमाल आइगरको थ्रीडी भर्चुअल इमेज बनाइरहेको छ। यसबाट १३ हजार फिटको उचाइबाट तल हेर्दा कस्तो देखिन्छ भन्ने अनुभव समेत हुनेछ थ्रीडी क्यामेराको सहयोगले ३ सय ६० डिग्रीमा खिचिएका तस्बिर हेर्न सकिन्छ। स्विट्जरल्यान्डको आइगर पहाड ३ हजार ९ सय ७० मिटर उचाइमा छ। अहिले पनि उक्त साइटमा गएर हेर्ने हो भने विभिन्न प्रकारका पहाडको तस्बिर हेर्न र ती पहाड आरोहण गरेको अनुभव गर्न सकिन्छ। यद्यपि अब भने घरमै बसेर पहाडको चुचुरोमा पुगेको अनुभव गर्न सकिनेछ।
सानो प्रिन्टरमा अखबार
अनलाइन पेपर हेर्न रमाइलो हुन्छ, तर कतिपय अवस्थामा ती पेपर प्रिन्टमै हेर्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ। यही कुरालाई ध्यानमा राखेर लन्डनको कम्पनी वर्गले एउटा सानो प्रिन्टरको विकास गरेको छ। यसको सहयोगले आफूलाई मन लागेको अखबार वा अनलाइन पेपरको निश्चित भाग मात्र पनि प्रिन्ट गर्न सकिन्छअर्थात् आफूलाई चाहिएको समाचार सेलेक्ट गरेर प्रिन्ट अर्डर गर्न मिल्ने। यो प्रिन्टरमा लगाइएको थर्मल पेपर रोलमा ती सबै खबर प्रिन्ट भएर आउँछ। उक्त प्रिन्टर क्लाउडसँग पनि कनेक्ट हुन्छ। अखबारमा भएको खबरबाहेक यसमा म्यासेज, तस्बिर, इमेल तथा अन्य अक्षर पनि प्रिन्ट गर्न सकिन्छ। यो प्रिन्टर बजारमा अहिले प्रचलित प्रिन्टरभन्दा केही फरक देखिन्छ। यसको मूल्य लगभग १५ हजार छ।
प्रकाशित :भाद्र १३, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्