Teej banner
आकर्षण जापानको

आकर्षण जापानको

- रामजी बलामी

आश्विन २४, २०७१

पछिल्लो समय नेपाली विद्यार्थीहरू जापानतर्फ आकषिर्त छन् । जापानमा अध्ययन गरेका विद्यार्थीहरूले राम्रो अवसर पाएकाले पनि विद्यार्थीहरूको आकर्षण जापानतर्फ केन्दि्रत भएको परामर्शदाताहरूको ठम्याइ छ । अहिले वाषिर्क रूपमा करिब १ हजार ५ सय नेपाली विद्यार्थी जापान जाने अनौपचारिक तथ्यांक छ ।

स्नातक उत्तीर्ण गरेका सुमन भण्डारी जापान जाने तयारीमा छन् । भरपर्दो परामर्शदाताको खोजी गरिरहेका भण्डारी वातावरण र अवसर दुवै दृष्टिकोणले जापान उपयुक्त लागेको बताउँछन् । 'जापानको हावापानी, अध्ययन र अवसर सबै कुरा हाम्रा लागि उपयुक्त छ, त्यसैले जापान जान लागेको हुँ,' भण्डारीले भने ।

आउँदो वर्षको जनवरीका लागि इन्टेकको तयारीमा रहेकी रमिला श्रेष्ठको नजर पनि जापानतर्फ केन्दि्रत छ । 'म त जापान नै जाने हो,' उनले संक्षिप्त प्रतिक्रिया दिइन् । अन्य मुलुकको तुलनामा जापान जाने प्रक्रिया सहज र सरल भएकाले आफू जापान जान लागेको उनले बताइन् । ई-क्यान मेलामा रहेका जापानकेन्दि्रत परामर्शदाताहरूको स्टलमा अवलोकनकर्ताहरूको भीड देखिन्थ्यो । यसले पनि अहिले जापान जान तम्सिने विद्यार्थीको संख्या बढेको अनुमान गर्न सकिन्छ । विगतमा भन्दा अहिले भिसा प्रक्रिया झन्झटिलो भए पनि विद्यार्थीहरूको आकर्षण नघटेको परामर्शदाताहरूको अनुभव छ ।

जापान जानुपूर्व

जापान जानु पूर्व नेपालमै आधारभूत भाषा सिक्नुपर्छ । भाषा अध्ययनका क्रममा जेएलपीटी, एनएटी, टोपजे, जेटेस्ट मध्ये कुनै एक अध्ययन गर्नुपर्छ । जापानी भाषा परीक्षा विश्वभर एकसाथ सञ्चालन हुन्छ । जापानका विश्वविद्यालयहरूले भाषाको दक्षताअनुसार विद्यार्थी भर्ना गर्ने हुँदा भाषामा जति राम्रो भयो त्यति नै राम्रो विश्वविद्यालयमा पढ्न पाइने सम्भावना हुन्छ । जापानी ल्याङ्ग्वेज टिचर्स एसोसिएसनले लिने परीक्षामा विद्यार्थीको लेखाइ, पढाइ, सुनाइ, व्याकरण तथा शब्दहरूको परीक्षण हुन्छ ।

प्लस टु उत्तीर्ण गरेका विद्यार्थीहरूले सहजै जापानमा अध्ययन गर्ने अवसर पाउँछन् । जापान जान जनवरी, अपि्रल, जुलाई र अक्टुबर गरी वर्षमा चार पटक आवेदन खुला हुन्छ भने अपि्रल र अक्टुबरमा इन्टेकका लागि नेपाली विद्यार्थीको चाप बढ्छ । आवेदनसँगै स्थानीय क्षेत्रको सिफारिसदेखि शैक्षिक योग्यता, भाषा आदिको प्रमाणपत्र पेस गर्नुपर्छ । जापानका कलेजले पेश गरेको कागजात छानबिन गरी 'सिइओ' पठाइसकेपछि मात्र अरू प्रक्रिया अघि बढाइन्छ ।

जापान जान न्यूनतम ७ देखि ११ लाख रुपैयाँ खर्च हुन्छ । होस्टल तथा कलेजको ६ महिना अथवा १ वर्षको शुल्क अगि्रम रूपमा बुझाएपछि मात्र जापान जान पाइन्छ । नेपालबाट जापान पुगेपछि दुई वर्ष भाषा अध्ययन गर्नुपर्छ । त्यसपछि मात्र सम्बन्धित विषय अध्ययनका लागि विश्वविद्यालयमा भर्ना पाइन्छ ।

जापानमा विशेषगरी होटल म्यानेजमेन्ट, टुरिज्म, आइटी, फेसन, मार्केटिङ आदि विषय अध्यापन गराइन्छ । अध्ययनका लागि जापान जाने अधिकांश विद्यार्थीको पहिलो नजर रोजगारीतर्फ हुन्छ । कतिपय विद्यार्थी अध्ययनभन्दा पनि काम गर्नतिर लाग्दा कलेजमा न्यूनतम हाजिरी नपुग्दा थप समस्या उथ्पन्न हुने गरेको छ ।

विद्यार्थीहरूले सुरुमा ६ महिनादेखि २७ महिनासम्मको भिसा पाउँछन् । पछि भने भिसा नवीकरण गर्दै बस्नुपर्छ । जापानको शैक्षिक प्रणाली नेपालको भन्दा पृथक् छ । त्यहाँ प्रारम्भिक शिक्षा अथवा प्लस टु जुनसुकै विषय लिएर अध्ययन गरे पनि उच्च तहमा आफूले चाहेको विषय अध्ययन गर्न पाइन्छ ।

नेपाली विद्यार्थीहरूले जापानमा दिनको चार घण्टासम्म काम गर्ने अनुमति पाउँछन् । बिदाका दिन र लामो बिदामा ८ घण्टासम्म काम गर्न पाइन्छ भने हप्तामा २८ घण्टासम्म काम गर्न छुट हुन्छ, जसबाट कामअनुसार मासिक १ देखि २ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।

महेश श्रेष्ठ, अध्यक्ष

हार्डफोर्ड इन्फोटेक सेन्टर

विगतको तुलनामा अहिले जापान जाने विद्यार्थीहरूको आकर्षण कति छ ?

जापान जान चाहने विद्यार्थीहरू निकै बढेका छन् । हरेक इन्टेकमा विद्यार्थीहरूको भीड छ ।

जापान जानुपूर्व के-कस्तो तयारी गर्नुपर्छ ?

सबैभन्दा पहिले त भाषा नै सिक्नुपर्छ । जसरी भए पनि भाषा राम्रोसँग सिकेर जानुपर्छ । यहाँ आलटाल गरेर गयो भने उता पढ्न सकिँदैन । भाषा राम्रो नभएपछि राम्रो विश्वविद्यालयमा भर्ना हुन गाह्रो हुन्छ । राम्रो काम पाउन पनि भाषा नै राम्रो हुनुपर्छ । त्यसबाहेक अन्य सीप सिकेर गएको खण्डमा आफैंलाई राम्रो हुन्छ ।

जापानमा अवसर कस्तो छ ?

नेपालीहरूको आकर्षण बढ्नुको कारण नै त्यहाँ पाइने अवसर हो । जापानमा आफ्नो योग्यता र क्षमता अनुसार काम पाइन्छ ।

जापानमा पनि थुप्रै विद्यार्थी अलपत्र परेका छन् नि ? आत्महत्या पनि बढ्दो छ ?

विद्यार्थीहरूलाई अनावश्यक लोभलालच देखाउनु हुँदैन । नेपाली विद्यार्थीहरू अलपत्र पर्नुमा कतिपय अवस्थामा विद्यार्थीहरूकै कमजोरी पनि छ । यहाँबाट ऋण लिएर गएका हुन्छन्, त्यहाँ सोचेजस्तो आम्दानी नभएपछि 'डिप्रेसन' हुन्छ । ऋण तिर्ने धुनमा पढाइभन्दा काममा जोड दिन थाल्छन् र कलेजमा आवश्यक न्यूनतम हाजिरीसमेत पुग्दैन । यस्तो अवस्थामा कलेजले भिसा नविकरण गर्ने स्वीकृति नदिन सक्छ र समस्या आउँछ । त्यसकारण मुख्यतः पढाइमा ध्यान दिनुपर्छ, त्यसपछि अवसर आफैं देखा पर्छ ।

जापान जान कन्सलटेन्सीपिच्छे फरक लागत लाग्छ भनिन्छ नि ?

यो स्वाभाविक हो । त्यहाँको कलेज एवं भौगोलिक क्षेत्रअनुसार शुल्क फरक पर्छ । अर्को कुरा, कतिपयले कलेज र होस्टल शुल्क वाषिर्क रूपमा बुझाउँछन् भने केहीले ६ महिनाको मात्र बुझाउँछन् । यसले गर्दा पनि फरक देखिएको हो ।

प्रकाशित :आश्विन २४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्