
पल्सर डेयर भेन्चर
कार्तिक १, २०७१
कान्तिपुर टेलिभिजनबाट बाइक रियालिटी शो 'पल्सर डेयर भेन्चर' प्रसारणमा आउने भएको छ । यो नौलो कार्यक्रम प्रत्येक शनिबार राति ९ बजेदेखि प्रसारण हुनेछ । यो कार्यक्रमबाट पल्सर बाइक चढ्ने २२ देखि ३५ वर्षका ग्राहकले आनन्द लिन पाउने छन् । कार्यक्रममा सहभागिता जनाउन ८ सयभन्दा बढीले र्फम दर्ता गरेका थिए । त्यसबाट पहिलो चरणका लागि विभिन्न पद्धतिअनुसार ५० जनालाई छनौट गरिएको थियो । कार्यक्रमका लागि ५० बाट १० जनालाई छनौट गरिनेछ र उनीहरूले एड्भेन्चर स्पोर्टसको मज्जा लिन पाउने छन् । १० जना फाइनलिस्टलाई कान्तिपुर टेलिभिजनमार्फत प्रस्तुत गरिनेछ, जसमा सबैभन्दा बढी भोट पाउने विजेता बन्नेछन् । चालकहरूले माथिल्लो मुस्ताङसम्मको यात्रा गर्ने यो कार्यक्रमको सञ्चालन गायक रबिन तामाङले गर्दैछन् ।
टिभी फिल्मीमा ६० सेकेण्ड
गोपीकृष्ण टिभी फिल्मीले 'फिल्मी समाचार ६० सेकेन्ड' प्रारम्भ गरेको छ । यसअघि दिनको आठ पटक ३० मिनेटको समाचार बुलेटिन 'फिल्मी समाचार' प्रसारण गर्दै आएको टिभी फिल्मीले तिहारको अवसर पारि गत मंगलबारदेखि फिल्मी समाचार ६० सेकेण्डको प्रसारण प्रारम्भ गरेको हो । टेलिभिजनका समाचार प्रमुख विष्णु सुवेदीका अनुसार चलचित्रसम्बन्धी समाचारलाई सकेसम्म चाँडो दर्शकमाझ पुर्याउने उद्देश्यले यो नयाँ शैलीको समाचार प्रसारण गर्न थालिएको हो । फिल्मी समाचार ६० सेकेन्ड दिनको ३ पटक प्रसारण भैरहेको छ ।
केटिभीमा नयाँ श्रृंखला
कान्तिपुर टेलिभिजनले हिजो बिहीबारदेखि नयाँ हास्य श्रृंखला 'इर्किनी मिर्किनी' को प्रसारण प्रारम्भ गरेको छ । दृश्य दर्शन प्रोडक्सन इटहरी तथा प्रकाश ओझाको यो प्रस्तुति प्रत्येक बिहीबार राति ७:३० बजेदेखि प्रसारण हुनेछ । पूर्वाञ्चलमा रमणीय लोकेसनमा छायांकन गरिएको यो श्रृंखलाको निर्देशन प्रकाश सुब्बाले गरेका हुन् । श्रृंखलामा प्रकाश ओझा, प्रकाश सुब्बा, तीर्थ याक्सो, राजन थापा, अशेष तिमिल्सिना, अशोक सुब्बा, अर्पणा सुब्बा आदि कलाकारले अभिनय गरेका छन् ।
प्रकाशित :कार्तिक १, २०७१













तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्