निश्चल बस्नेत, निर्देशक

निश्चल बस्नेत, निर्देशक

- सुव्रत आचार्य

कार्तिक २१, २०७१

काठमाडौंमा 'टलकजंग भर्सेज टुल्के’ राम्रै चलेको हो त ?

राम्रै सुरुवात गरेको छ । आजबाट उपत्यकाबाहिर पनि प्रदर्शन हुन थालेको छ ।

'कबड्डी’मा त राम्रै अभिनय गर्नुभएको थियो, टुल्के पनि आफैं बन्नु भएको भए पनि त हुने थियो नि ?

'कबड्डी' मा त काकताली परेर अभिनय गरेको हो । टुल्केमा खगेन्द्र लामिछाने नै फिट छन् ।

'टलकजंग भर्सेज टुल्के’ चाहिँ 'लुट’ जत्तिको भएन भन्नेहरू पनि छन् नि ?

दुवै भिन्दा-भिन्दै परिवेशका चलचित्र हुन् । त्यसैले त्यस्तो भएको हुनसक्छ ।

यसले 'लुट’ले जस्तो चर्चा कमाउला त ?

कामका हिसाबमा 'लुट'भन्दा राम्रो मान्छु म यसलाई । यसपटक भने टुल्के बनेका खगेन्द्र लामिछानेले 'लुट'का हाकु कालेकै जस्तो चर्चा पाउँछन् होला ।

'टलकजंग भर्सेज टुल्के’ नबनाएर ’लुट-टु’ बनाएको भए पनि हुन्थ्यो नि ?

स्क्रिप्टको काम सकिएको भए बनाउँथे होला । सकिएन, त्यसैले टुल्के बनाएँ ।

कहिले बनाउने त ?

तुरुन्तै लुट टु बनाउँदिनँ । बरु अब एउटा कमेडी चलचित्र बनाउँछु । त्यसपछि चाहिँ सोच्नुपर्ला ।

हिट निर्देशकलाई नायिका हुन खोज्नेहरूले निकै पछ्याउँछन् होला हैन ?

पछ्याएका भए म यसरी एक्लै लुखुर-लुखुर हिंड्थे होला त ?

निश्चल बस्नेत विवाहित हो भन्ने हल्ला पनि छ ?

ए, त्यही भएर पो कोही पछि नलाग्या रहेछन् ।

विवाह नगर्ने ?

गर्न त गर्ने हो नि । लगन जुर्ला नि कुनै दिन ।

लभ त पक्कै परेको होला ?

कतिपटक पर्‍यो, अनि छुट्यो पनि । अब फेरि पनि पर्ला ।

एउटी नायिकासँगको चक्कर पनि चर्चामा थियो ?

लौ, तपाईंले त नायिका मात्र सुन्नुभएछ । मैले त नायिका, सञ्चारकर्मीलगायत दुई तीन जनासँग पो सुनें त ।

सत्यचाहिँ के हो ?

अघि भनिहालें नि म एक्लो छु । अब मेरो विवाह भएको छैन भन्ने थाहा पाएपछि आउलान् नि कोही ।

मन नपर्ने सेलिब्रेटी ?

राखी सावन्त ।

सेक्सी लाग्ने दुई नायिका ?

ऋचा शर्मा र मेनुका प्रधान ।

त्यो कलाकार जसलाई आफ्नो चलचित्रमा भूमिका दिने रहर छ ?

कामेश्वर चौरसिया ।

सौगात मल्ललाई फेरि किन आफ्ना चलचित्रमा रिपिट नगर्नुभएको ?

उहाँलाई चित्त बुझ्ने भूमिका दिन नसकेर ।

विवाहको पहिलो रात श्रीमती समलिंगी हुन् भन्ने कुरा थाहा पाउनुभयो भने ?

थाहा पाउने बित्तिकै बत्ती निभाउँछु र टाप कस्छु । त्यसपछि उनले जेसुकै गरुन् ।

बिहान उठ्दा राम्री युवतीमा परिवर्तन हुनुभएछ भने ?

आफैंलाई देखेर तर्सिन्थें होला ।

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्