पछाडि छुट्दै महिला फुटबल

पछाडि छुट्दै महिला फुटबल

मंसिर १२, २०७१

पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो वुमेन्स साफ च्याम्पियनसिपले स्पष्ट सन्देश दिएको छ, नेपाली महिला फुटबल अहिले जसरी चलिरहेको छ, त्यसरी नै यसभन्दा अघि बढ्न सक्दैन । चाँडै केही नगर्ने हो भने महिला फुटबल पछाडि छुट्नेछ । त्यसो त नेपाली टिम यसपल्ट पनि साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सफल भयो, तर पनि इस्लामावादमा के महसुस भएको छ भने अरू प्रतिद्वन्द्वीको तुलनामा हाम्रो तयारी कमजोर हुन थालेको छ ।

यसपल्ट पनि फाइनलमा नेपाल भारतकै हातबाट पराजित भयो । यसअघिका दुई संस्करणमा पनि नेपाल फाइनल पुगेको थियो र दुवैपल्ट नेपाल भारतकै हातबाट हार्न बाध्य थियो । सन् २०१० को फाइनलमा १-० हारेको नेपाल त्यसको दुई वर्षपछि ३-१ ले पराजित भयो । यसपल्ट फाइनलमा हारको अन्तर बढेर ६-० पुग्यो । फाइनलमा यो नेपालको अहिलेसम्मकै सबैभन्दा खराव प्रदर्शन हो ।

सेमिफाइनलमा बंगलादेशले नेपाललाई बलियो चुनौती पेस गरेको थियो जसमा नेपाल १-० को जित निकाल्न मात्र सफल भयो । उक्त खेलमा पनि नेपालको प्रदर्शन ओहो भन्न लायक थिएन र नेपालको निर्णायक गोल पनि पेनाल्टीबाट सम्भव भएको थियो । आफ्ना खेलाडीको प्रदर्शनबाट प्रशिक्षक कुमार कटुवाल समेत खुसी हुन सकेनन् । उनलाई लागेको छ, नेपाली फुटबलका लागि अब ठोस केही गर्ने समय आएको छ ।

केही खेलाडीको भनाइ मान्ने हो भने प्रशिक्षक कटुवाल टिमको नेतृत्व र व्यवस्थापनसँगै नाखुस छन् । सम्भवत: उनी एउटा प्रतिवेदन तयार पार्दै छन् र त्यसमा उनले नेपाली महिला फुटबलको कमजोरी कहाँ छ स्पष्ट उल्लेख गर्ने छन् । यसपल्टको वुमेन्स साफ च्याम्पियनसिपलाई सरसर्ती हेर्दा भने स्पष्ट दुई तथ्य अगाडि आउँछ । पहिलो, भारत दक्षिण एसियाका बाँकी सात टिमभन्दा निकै बलियो छ ।

इन्चन एसियाली खेलकुद खेलेर फर्किएको अहिलेको भारतीय टिम पहिलेका टिमको तुलनामा निकै सुधारिएको छ । खासमा भारत र बाँकी टिमबीचको अन्तर आकाश पातालजस्तै छ, कित्तै छुट्टन्िछ । दक्षिण एसियामा भारतपछि दोस्राे बलियो टिम नेपाल नै हो, तर समस्या के छ भने नेपाल र बाँकी छ टिमबीचको अन्तर भने कम हुँदैछ । यसको अर्थ नेपाली महिला फुटबल जहाँको त्यहीं छ, बरु यसको, स्तर घट्दैछ ।

दक्षिण एसियाका अरू टिमको स्तर भने बढ्दै छ, ढिलो-चाँडो उनीहरूले नेपालको बराबरी गर्नेछन् । यसपल्ट सेमिफाइनलमा बंगलादेशले नेपालसामु तेर्साएको चुनौतीले पनि त्यसलाई प्रस्ट पार्छ । एउटा अर्को तथ्य के पनि हो भने नेपाली महिला फुटबल टिम अहिले परिवर्तनको बाटोमा छ, यसपल्ट खेलिएका २० मध्ये १० खेलाडी नयाँ थिए । यही टिमबाट आशा भने राख्न सकिन्छ । नेपाली टिमलाई एक्सपोजरको ठूलै आवश्यकता देखिन्छ ।

प्रकाशित :मंसिर १२, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्