
मनाइयो गुगल डे
मंसिर १९, २०७१
गुगल अब सर्च इन्जिन मात्र रहेन । यसको प्रयोगबाट धेरै काम सम्पन्न गर्न सकिन्छ । पछिल्लो समयमा नेपालमा समेत गुगलको एन्ड्रोइड एप्सलाई व्यापारिक तथा व्यवहारिक कार्यमा प्रयोग गर्नेहरू बढिरहेका छन् । यसै सन्दर्भमा केही दिन पहिले मात्र नेपाली डेभलपरहरूले गुगललाई व्यापारिक कार्यमा समेत प्रयोग गर्न हौस्याउने उद्देश्यले 'गुगल बिजनेस ग्रुप' अर्थात 'जिबिजी' को निर्माण गरेका थिए । त्यही गुगल बिजनेस ग्रुपले गत शनिबार नेपालमै पहिलो पटक गुगल डे मनायो ।
गुगल बिजनेस ग्रुपले गुगलसँग सम्बन्धित विभिन्न इभेन्टको आयोजना गर्छ । त्यसरी गरिने इभेन्टलाई गुगल डे भनिन्छ । नेपालमा गुगल एप्स निर्मातादेखि लिएर यसमा चासो राख्ने सर्वसाधारणको समेत सहभागी उक्त कार्यक्रममा गुगलका तर्फबाट दक्षिण-पूर्वी एसियाका लागि प्रोग्राम म्यानेजर इरिका ह्यान्सनको विशेष उपस्थिति थियो । ह्यान्सनले गुगलका विभिन्न मेटरियल डिजाइनका वारेमा आकर्षक प्रस्तुतिसमेत दिइन् । त्यसपछि नेपालका विभिन्न स्टार्टअप कम्पनीहरूका सफलताका कथा प्रस्तुत गरिए । भर्खरै जिबिजीको बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेको 'यल्लो नेपाल' का वारेमा यसका संस्थापक अनिश श्रेष्ठले बताए । त्यसैगरी ध्रुवकेदार अधिकारीले पिकोभिको, केशवराज महर्जनले गुगल म्याप अफ नेपाल र नेपाली पात्रो, भुपाल सापकोटाले एप्स झोला, सुदिप बिष्टले माइ टि्रप टु नेपाल तथा देव न्यौपानेले थिएटर हबका बारेमा जानकारी दिएका थिए भने मनोज घिमिरेले एन लोकेट र सुभाष नेपालले मोकोका बारेमा जानकारी दिए । उनीहरूले ती एप्स निर्माण गर्दाको समय र अहिलेको अवस्थाका सम्बन्धमा विभिन्न प्रस्तुति दिएका थिए ।
त्यसबाहेक नेपालमा गुगल बिजनेस ग्रुपले के गर्दैछ ? नेपालमा एन्ड्रोइडको अवस्था कस्तो छ ? गुगलले अनलाइनमा आएका बिजनेसलाई अघि बढ्न कसरी सहयोग गर्छ ? गुगल टेक्नोलोजी प्रयोग गरेर अहिले के-कस्ता कार्य भैरहेका छन् ? नेपालमा कुन-कुन अनलाइन बिजनेस आएका छन् र
आउँदैछन् ? जस्ता विभिन्न विषयका बारेमा समेत छलफल भएको थियो । ती विभिन्न विषयमा शिल्पा मोदी, संरक्षण घिमिरे, मोनिल अधिकारी, हेमपाल श्रेष्ठ, सरोज ढकाल तथा आकार अनिल घिमिरेले आवश्यक जानकारी प्रदान गरेका थिए ।
झम्सिखेलस्थित एक रेस्टुराँमा सम्पन्न उक्त कार्यक्रममा सर्वसाधारणलाई समेत विभिन्न मोबाइल एप्सका बारेमा जानकारी दिने स्टलहरू राखिएको थियो । उक्त कार्यक्रममा गुगलले आधिकारिक रूपमा सहयोग पुर्याएको थियो । नेपालमा गुगलका विभिन्न टुल्स प्रयोग गरी व्यापारिक कार्य समेत गर्न सकिने सम्भावना बढ्दै गएको छ ।
गुगल नेक्सस-६
गुगलले नेक्सस-६ डिभाइसलाई विश्व बजारमा उतारेको छ । यसलाई मोटोरोला कम्पनीले निर्माण गरेको हो । यसमा ५ दशमलव ९६ इन्चको क्युएचडी डिस्प्ले छ, जसको रिजोल्युसन २५६० × १४४० पिक्सेल छ । यसमा ड्युअल एलइडी फ्ल्यासका साथ १३ मेगापिक्सेलको रियर तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । इन्टरनल स्टोरेजमा ३२ तथा ६४ जिबीको अप्सन उपलब्ध छ । यसमा २ दशमलव ७ गिगाहर्जको क्वाडकोर क्वालकम स्न्यापड्रागन ८०५ प्रोसेसर एवं ३ जिबी र्याम छ । गुगल नेक्सस-६ मा दुईवटा फ्रन्ट स्पिकर पनि उपलब्ध छ । यसमा ३२२० एमएएचको ब्याट्री जडान गरिएको छ ।
६ महिनामा ५० करोड फेसबुक म्यासेन्जर
पछिल्लो ६ महिनाको अवधिमा फेसबुक म्यासेन्जर एपको प्रयोग दोब्बर बढेर ५० करोड पुगेेको छ । गत अप्रिलसम्म यसका प्रयोगकर्ता २० करोड मात्र थिए । फेसबुकले केही समय अघि आफ्नो एप्लिकेसनबाट च्याटिङ सुविधा हटाएको थियो । त्यसपछि प्रयोगकर्तालाई च्याटका लागि म्यासेन्जर एप डाउनलोड गर्न आग्रह गरेको थियो । यसका कारण पनि धेरै प्रयोगकर्ता म्यासेन्जरतर्फ आकषिर्त भएका हुन् ।
अब वेब भर्सनको स्काइप
अब चाँडै नै ब्राउजरबाटै स्काइपमा कुराकानी गर्न सकिनेछ । यसको अर्थ स्काइपलाई छुट्टै डाउनलोड गर्नुपर्ने छैन । माइक्रोसफ्टले अब छिटै भिडियो कन्फ्रेन्सिङ प्लेटर्फमका रूपमा स्काइपलाई बजारमा उतार्ने घोषणा गरेको छ । नयाँ भर्सनको स्काइप प्रयोग गर्न स्काइपको वेबसाइट लग इन गर्न सकिनेछ । क्रोम, फायरफक्स, सफारी र इन्टरनेट एक्स्प्लोरर प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् । लग इन गर्नासाथ म्यासेजिङ सुविधा उपलब्ध हुनेछ भने भ्वाइस र भिडियो कलका लागि अर्को स्टेपको आवश्यकता पर्नेछ । स्काइपको यो सुविधा अहिले भने बेटा भर्सनमा छ । अबको केही महिनामै यसको प्रयोग गर्न सकिनेछ । स्काइप एकाउन्ट भएका केही प्रयोगकर्तालाई पहिले यसको 'इन्भिटेसन' आउनेछ । त्यसपछिको परीक्षण सफल भए यो सबैका लागि उपलब्ध हुनेछ ।
नेपाली डिक्सनरी
विद्यार्थीहरूले नेपालीबाट अंग्रेजी वा अंग्रेजीबाट नेपालीमा विभिन्न शब्द रूपान्तरण गर्नुपर्ने हुन्छ । विद्यार्थीबाहेक भाषा जान्नुपर्ने आवश्यकता अरू धेरैलाई छ । यही कुरालाई दृष्टिगत गरी नेपाली डेभलपरहरूले 'नेपाली डिक्सनरी' नामक एप निर्माण गरेका छन् । उक्त एप डाउनलोड गरेपछि मोबाइलमै डिक्सनरी प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड प्लेटर्फममा उपलब्ध उक्त एपलाई एकपटक डाउनलोड गरेपछि अफलाइन मै पनि प्रयोग गर्न सकिन्छ । यसका लागि इन्टरनेट कनेक्सन आवश्यक छैन । यो नेपाली भाषामा उपलब्ध पहिलो अफलाइन डिक्सनरी पनि हो । यसमा भाषा वा शब्द रूपान्तरण बाहेक वर्ड गेम, अफलाइन फाइल अपडेट मेकानिज्म वर्ड अफ द डे, स्पोकन वर्ड प्रोनाउन्सिएसन आदि विभिन्न जानकारीसमेत उपलब्ध छ । मोबाइलमा भएको एसडी कार्डमा डिक्सनरी फाइल स्टोर हुन्छ । यसलाई नेपाली भाषामा भएको पहिलो वर्ड सर्च गेमका रूपमा पनि लिइएको छ ।
एंग्री बर्ड नयाँ भर्सनमा
एंग्री बर्ड निर्माता कम्पनी रोयिबोले उक्त गेमको नयाँ भर्सन सार्वजनिक गरेको छ । यस पटक एंग्री बर्डलाई ट्रान्सर्फमरका रूपमा उतारिएको छ, जसका कारण यो थप आकर्षक भएको छ । गुगल प्ले स्टोरमा यसको नयाँ भर्सन उपलब्ध छ ।
ट्रान्सर्फमरको मुभी तथा कार्टुनमा गाडीहरू पनि ठुला सैनिकका रूपमा परिवर्तित हुन्छन् । त्यसैगरी एंग्री बर्ड पनि अब अटो बर्डका रूपमा रूपान्तरित हुन्छन् । गेम खेल्ने नियम भने पहिले जस्तै नै हो । यो गेम आइओएस भर्सनमा पहिलेदेखि नै उपलब्ध छ ।
बालकदेखि प्रौढसम्म सबैको प्रिय गेम एंग्री बर्डमा एंग्री बर्डले आफ्नो शत्रुका रूपमा पिगलाई आक्रमण गर्छन् । यो दृश्य निकै आकर्षक लाग्छ । यसमा रातो, पहेंलो तथा सेतो रंगका एंग्री बर्ड हुन्छन् । यो गेम डाउनलोड गर्न १ सय २९ एमबीको मेमोरी मात्र आवश्यक हुन्छ ।
प्रकाशित :मंसिर १९, २०७१

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्