
जेनेलिया रितेशको खुसी
मंसिर १९, २०७१
बलिउड अभिनेत्री जेनेलिया डिसुजाले गत साता छोरा जन्माएकी छिन् । यो खुसीलाई उनका अभिनेता श्रीमान् रितेश देशमुखले तुरुन्तै सामाजिक सञ्जालमा 'सेयर' गरे । प्रेमसम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका यी दुई चर्चित कलाकार छोराको आगमनपछि दंग छन् । रितेशले टि्वट गर्दै लेखेका छन्- 'इट्स अ ब्वाइ' । त्यसपछि उनलाई बधाईको ओइरो लाग्यो । अभिषेक बच्चन, करण जौहर, अरबाज खान, दिया मिर्जा, तुषार कपुरजस्ता बलिउड सेलेब्सले उनलाई बधाई दिए । सन् २०१२ मा विवाह बन्धनमा बाँधिएका जेनेलिया र रितेश अभिभावक बन्न लागेको समाचार केही समय अघिदेखि नै सार्वजनिक हुँदै आएको थियो । उनीहरूको प्रेम सन् २००३ मा प्रदर्शनमा आएको चलचित्र तुझे मेरी कसमको छायांकनताका प्रारम्भ भएको थियो ।
शान्त अक्षयकुमार
आममानिस घरमा बाघका रूपमा प्रस्तुत हुन्छन् । एउटा उखान नै छ-'बिरालो पनि घरमा बाघ हुन्छ ।' तर अक्षयकुमारको हकमा भने उक्त भनाइ ठीक विपरीत छ । समाचारअनुसार बाहिर बाघजस्ता देखिने अक्षय घरमा शान्त रहन्छन् । अक्षयको स्टारडम एटिच्युड घरमा चल्दैन । अभिनेत्री टि्वंकल खन्ना नै घरकी मुख्य हर्ताकर्ता हुन् । टि्वंकल र अक्षयको घरको वातावरण साधारण परिवारको झैं छ । अक्षयले भनेका छन्- 'टिना र म जमिनसँग जोडिएका व्यक्ति हौं, त्यसैले हामी आफ्ना सन्तानको हकमा पनि त्यस्तै चाहन्छौं । म आफ्नो फिल्डमा बोस हुन्छु होला तर घरकी बोस टिना नै हुन् ।' टिना अर्थात् टि्वंकल र छोराछोरीले तय गरेअनुरूप अक्षयले के गर्ने के नगर्ने निर्णय लिन्छन् । टिनाले जसरी घर सम्हालेकी छिन्, त्यसबाट प्रभावित अक्षय छोरा आरभले घरको पुरुष सदस्यको जिम्मेवारी सम्हालेकोमा प्रसन्न छन् । अक्षयले भनेका छन्- 'आरभले उसकी आमा र बहिनी निताराको पूर्ण रूपमा ख्याल गरिरहेको हुन्छ ।'
ऐश्वर्याको कमब्याक
मिस वल्र्ड ऐश्वर्या राय बच्चनका प्रशंसकहरूका निम्ति खुसीको खबर छ । हालैमात्र निर्माता निर्देशक करण जौहरले ऐश्वर्यालाई एक चलचित्रका निम्ति 'साइन' गराएका छन् । प्राप्त जानकारीअनुसार ऐश्वर्याका साथ उक्त चलचित्रमा अमिर खान पनि रहनेछन् । चलचित्रमा अभिनेताकै रूपमा रणवीर कपुरको नाम पनि आएको छ । त्यसो त उक्त चलचित्रमा अनुष्का शर्माले पनि अभिनय गर्नेछिन् । ऐश्वर्याले कमब्याक चलचित्रका रूपमा बिगब्यानर पाएकी छिन्, समाचारहरू भन्छन्- चलचित्रमा रणवीर र ऐश्वर्याको जोडी देख्न पाए दर्शकले एउटा नयाँ स्वाद पाउनेछन् । ऐश्वर्याले कमब्याककै रूपमा संजय गुप्ताको चलचित्र 'जज्बा' पनि 'साइन' गरिसकेकी छिन्, जसमा जोन अब्राहम, इरफान खान, शवाना आजमी आदिले काम गर्नेछन् ।
प्रकाशित :मंसिर १९, २०७१


















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्