पोखराको पानीमा नयाँ खेल

पोखराको पानीमा नयाँ खेल

- शिव शर्मा

मंसिर २६, २०७१

साहसी खेलको गन्तव्य नै हो— पोखरा । प्याराग्लाइडिङ, अल्ट्रलाईट, बन्जीजम्प, जिप फ्लायर, क्यानोनिङजस्ता साहसी खेलहरू यहीं छन् । आकाशमा कावा खाँदै, जम्प हान्दै र छहरामा झुन्डिएर मज्जा लिइने यी खेलसँगै अहिले पोखरामा पानीमा खेलिने अनेकौं खेल पनि भित्रिएका छन् ।

यी नयाँ रोमाञ्चकारी खेलले पोखराका तालहरूमा जलक्रीडाको आनन्दका लागि आउनेहरूको मन तानिरहेका छन् । फेवातालमा डुङ्गा मात्र चढ्न पाइन्छ भन्ने पुरानो मान्यतालाई यी खेलले भत्काइदिएका छन् । यी खेलमा स्वदेशीसँगै विदेशी पर्यटकहरूको पनि उत्तिकै आकर्षण देखिएको छ । पोखराका तालमा यतिबेला 'स्ट्यान्ड-अप प्याडल' (उठेर चलाउने डुङ्गा), 'वाटर साइकल,' 'स्कुभा डाइभिङ' तथा 'वाटर बल' जस्ता नयाँ खेल भित्रिएका छन् । यी सबै खेल अहिले परीक्षणका रूपमा रहे पनि यसको मज्जा लिनेहरूको संख्या बढ्दै गएको सञ्चालकहरू बताउँछन् । समुन्द्रमा देखिने यी खेल नेपालका लागि बिल्कुलै नयाँ हुन् ।

 'सुरुवातकै चरणमा भए पनि यी खेलमा आकर्षण बढेको छ,' स्ट्यान्ड-अप प्याडल नेपालका अनिल गुरुङले भने, 'व्यवसायिक रूपमा सञ्चालनमा आएपछि यसले पोखरामा थप पर्यटक ल्याउन मद्दत पुर्‍याउनेछ ।' गुरुङलगायत नौ जनाले संयुक्त रूपमा फेवातालमा वाटर साइकल, स्ट्यान्ड-अप प्याडल तथा स्कुभा डाइभिङ सञ्चालनमा ल्याएका हुन् ।

सडकमा कुदाएजस्तै साइकल कुदाउनेहरूबीच तालमा पनि होडबाजी देखिन्छ । तालमा कुदाइने साइकल एक जना र दुई जना बस्न मिल्ने गरी दुई प्रकारका छन् । यतिबेला १० वटा साइकल दिनहुँतालको चक्कर काटिरहेका छन् । एकसिटे साइकलको प्रतिघण्टा १ हजार र दुई सिटको १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । शुल्क जति नै भए पनि चढ्नेहरूको कुनै कमी छैन । उठेर चलाउन मिल्ने स्ट्यान्ड-अप प्याडल चलाएको प्रतिघण्टा ७ सय तथा पानीभित्र लुकामारी खेल्ने स्कुभा डाइभ गरेको ४५ मिनेटको ८ हजार ५ सय रुपैया तिर्नुपर्छ । यी खेलमध्ये स्कुभा डाइभ सबैभन्दा महँगो छ ।

 टिनएजरहरूको आकर्षण वाटर वाकिङ बलमा देखिएको छ । स्कुल तथा कलेज पढ्नेहरू बलभित्र पसेर फेवातालको पानीमा हराउँछन् । सञ्जय पौडेलले नेपाल भित्र्याएको यो खेल अहिले १५ मिनेट मात्र खेलाइन्छ । ४५ मिनेटसम्म बलभित्र अक्सिजन रहन्छ । यो खेल खेल्न विदेशीहरूका लागि ५ सय तथा नेपालीहरूका लागि ३ सय रुपैयाँ शुल्क तोकिएको छ । अब यसबाहेक पानीमा चल्ने रिक्सालगायतका अन्य नयाँ खेल पनि आउँदैछन् । तालको वातावरणलाई कुनै हानि नपुर्‍याउने बिनाइन्जिनका यस्ता खेलले तालको शोभासमेत बढाएका छन् ।

'परीक्षणकै रूपमा खेल सञ्चालन गर्दै आएका छौं,' तालमा वाटर बल भित्र्याएका सञ्जय पौडेलले भने, 'व्यवसायिक अनुमति पाएपछि खेलको आकर्षण र रफ्तार अझ बढेर जानेछ ।' यतिबेला तालमा नयाँ खेलको आनन्द लिने, हेर्ने तथा तस्बिर खिच्नेहरूको हूल पनि त्यत्तिकै देखिन्छ । परीक्षण सफल भएपछि फेवासँगै वेगनास, रूपातालमा समेत यस्ता खेल सञ्चालन हुनेछन् । तालमा सञ्चालन हुने यस्ता खेलले पर्यटकको बसाइ लम्ब्याउनसमेत सहयोग गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीकाराम सापकोटा बताउँछन् । 'यस्ता नयाँ खेलले तालको आकर्षण बढ्नुका साथै पर्यटकका लाग नयाँ गन्तव्यको विकास गर्न मद्दत गर्नेछ,' सापकोटाले भने, 'जल जीवनलाई असर नपर्ने गरी पर्यटकलाई नयाँ स्वाद दिने यस्ता गतिविधि सञ्चालन हुनु सकारात्मक कुरा हो ।'

जिल्ला विकास समितिले अहिले यी खेललाई परीक्षणका लागि मात्र अनुमति दिएको छ । नियमित हुने अनुमति पाएपछि व्यावसायिक रूपमै यी खेल सञ्चालनमा आउनेछन् । फेवातालमा आएर डुङ्गा मात्र चढेर फर्कनेहरूलाई अब जलक्रीडाको विविध आनन्द यी खेलले प्रदान गर्ने व्यवसायीहरूको विश्वास छ ।

प्रकाशित :मंसिर २६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्