नयाँ वर्षको उमंग

नयाँ वर्षको उमंग

पुस ११, २०७१

यतिबेला हाम्रो संसार वर्ष २०१५ को सँघारमा छ । विश्वव्यापी रूपमा मनाइने नयाँ वर्षको यो उमंगलाई नेपालीहरू पनि ठूलो उत्साहका साथ प्रतीक्षा गरिरहेका छन् । यतिबेला नयाँ वर्षका लागि नै भनेर काठमाडौंलगायत मुलुकका प्रमुख सहरहरूमा रहेका होटल, रेस्टुराँलगायत अन्य सार्वजनिक स्थल सजाउने क्रमले तीव्रता पाएको छ । काठमाडौंमा देखिने नयाँ वर्षको उमंग आफ्नो ठाउँमा छँदैछ, यतिबेला खासगरी विदेशी पर्यटकहरूको घुइँचो लाग्ने पोखरा तथा चितवनको तयारी हेर्नलायक छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य लेकसाइड र चितवनको सौराहाका व्यवसायीहरूलाई भ्याइनभ्याइ छ ।

झुम्दै पोखरा

पोखराको रात प्राय: रंगीन नै हुन्छ । डिस्को, गजल, दोहोरीदेखि लाइभ म्युजिकको रन्कोले सहर रातभर तात्तिन्छ । यसले पोखराको रातलाई अनिदो तुल्याउँछ । अझ क्रिसमस इभ र अंग्रेजी नयाँ वर्ष नजिकिँदै गएपछि वातावरण थप उल्लासमय हुन्छ । युवायुवतीहरू नयाँ वर्षमा नयाँ-नयाँ कार्यक्रम बनाउँदै पार्टीहरूमा मदमस्त हुन्छन् ।

अहिले पोखराका सामान्यदेखि स्टार होटलसम्म न्यू इयरका कार्यक्रमले रंगिएका छन् । डान्सपार्टीका कारण त वातावरण अझ अर्कै छ । महिना दिन अघिदेखि न्यू इयर स्पेसल कार्यक्रमहरूले सहर गुन्जिएको छ । देश तथा विदेशबाट आउने तन्नेरीहरू न्यू इयरको रमाइलो पोखरामै गर्न चाहन्छन् । न्यू इयर मनाउन कहाँ जाने भन्दा धेरैबाट एउटै उत्तर आउँछ— पोखरा । पोखरासँगै आसपासका पर्यटकीय गाउँमा सूर्योदय र सूर्यास्त हेर्न तथा रमाइलो गर्न तन्नेरीहरू धम्पुस, घान्द्रुक, सराङकोटसम्म पनि पुग्छन् । यस्तै वातावरणले गर्दा नै अंग्रेजी नयाँ वर्षमा पोखरा गुल्जार बन्न पुग्छ । यतिबेला पोखराको रात्रिजीवन निकै चम्किन्छ । देश विदेशका आगन्तुकहरू अहिले क्रिसमिस इभ तथा न्यू इयरका लागि पोखरा ओइरिएका छन् । गाला डिनरदेखि विविध कार्यक्रमले तारे होटलहरू बुक भैसकेका छन् ।

यतिबेला पोखरामा फेसन शो, कन्सर्ट, डान्सपार्टी तथा कल्चरल कार्यक्रमको बाढी नै आउँछ भने सानादेखि ठूला होटल म्युजिकल इभेन्टले भरिन्छन् । यस्ता कार्यक्रममा तन्नेरीहरूको बाक्लै उपस्थिति देखिन्छ । डान्स मात्र होइन, दोहोरी साँझहरू पनि उत्तिकै रनधन हुन्छन् । 'देश-विदेश सबै ठाउँका पर्यटक पोखरा आउने भएकाले यो सहरको रौनक नै अर्कै हुन्छ, पर्यटन व्यवसायी बासु त्रिपाठीले भने- 'न्यू इयरमा पोखरा आउने युवाहरू निकै हुन्छन् ।' त्रिपाठीले अंग्रेजी नयाँ वर्षमा विगत केही वर्षयता पोखरा घुम्न आउने नेपाली युवाहरू निकै बढेको बताए ।

 नाइट क्लब, होटल तथा रेस्टुराँमा देखिने भीडभाडले पनि उक्त कुरालाई पृष्टि गर्छ । 'न्यू इयरका बेला आउने पाहुनाहरूका कारण भ्याइनभ्याइ हुन्छ,' लेकसाइडस्थित इमोन क्याफेका सञ्चालक पृथ्वी गुरुङले भने- 'न्यू इयरको मज्जा पोखरामै छ ।'

स्वदेशी तथा विदेशीहरू न्यू इयरको मज्जा ताल आसपासका होटल तथा रेस्टुराँमा टहलिएर मनाउँछन् । न्यू इयरका लागि पाँचतारे होटल फूलबारीदेखि पोखरा ग्रान्ड, ब्लुबर्ड, होटल बाराही आदि म्युजिकल कार्यक्रमले भरिएका छन् । सामान्यदेखि भीआईपी न्यू इयर पार्टीसम्मका लागि होटल, रेस्टुराँहरू अगि्रम बुकिङ भैसकेको स्थानीय व्यवसायीहरू बताउँछन् । 'न्यू इयरका लागि होटलका सबै कोठा भरिभराउ छन्,' होटल ल्यान्डमार्कका बजार प्रबन्धक पुष्प चालिसेले भने, 'कल्चरलदेखि पाश्चात्य संगीतसम्मका कार्यक्रम छन् ।'

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) को आयोजनामा हरेक वर्ष हुने सडक महोत्सवको वातावरणका कारण पनि तन्नेरीहरू पोखरा पुग्छन् । न्यू इयरको स्वागतमा आयोजित गरिने सडक महोत्सवमा रमाउनेहरू रातभर लेकसाइडका सडकमै बरालिन्छन् । उक्त अवसरमा म्युजिकल कन्सर्टदेखि विभिन्न सांगीतिक कार्यक्रमले सडक गुन्जायमान हुन्छ ।

 पुस १५ देखि प्रारम्भ हुने महोत्सवमा राष्ट्रिय कलाकारको लोकदोहोरी, बाल उद्यान, ख्यातिप्राप्त ब्यान्डहरूको प्रस्तुति, फुड फेस्टिबल, आतिसबाजी, नृत्य, पञ्चैबाजालगायत विविध सांस्कृतिक कार्यक्रम समावेश छन् । यस्तै रेवान स्टाफ रेस, डुङ्गा दौड, टप अफ वार, वेटर रेस, टुरिस्ट रेसजस्ता आकर्षक इभेन्ट पनि सञ्चालन हुन्छन् । न्यू इयरका बेला लेकसाइडको सडक महोत्सवमा रमाउन बेग्लै मज्जा हुन्छ' जिन्स डिजाइनर बिक्कु नवाङले भने । न्यू इयरको अघिल्लो दिन लेकसाइडमा खुट्टा टेक्ने ठाउँ हुँदैन । न्यू इयरका बेला पोखरामा राष्ट्रिय स्तरका कलाकारहरूको जमघट पनि हुने गरेको छ । फलस्वरूप फरक-फरक संगीतको स्वादमा रमाउँदै न्यू इयर सेलिब्रेट गर्न पाइन्छ ।

अंग्रेजी नयाँ वर्षमा देश-विदेशका पर्यटकहरू ओइरिने हुँदा होटलहरू ओभरलोड भएर व्यवसायीहरूले पनि यही बेला राहत महसुस गर्छन् । 'अहिले पर्यटकीय सिजन पनि भएकाले होटलहरू प्राय: भरिएका छन्,' पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्माले भने, 'अंग्रेजी नयाँ वर्षमा पर्यटकको भीड थेगिनसक्नु हुन्छ ।'

नयाँ वर्षको अवसरमा नेपालीलाई खानामा १० तथा बेडमा २५ प्रतिशत छुट प्रदान गरिने भएकाले पनि बुकिङ राम्रो देखिएको हो । यद्यपि न्यू इयरमा होटलमा कोठा नपाएर हैरानी बेहोर्नुपर्ने झझन्ट पनि उस्तै छ । न्यू इयरमा पोखरा साँच्चिकै ब्लास्ट हुन्छ । काठमाडांैमा गगन ट्याटु चलाउँदै आएका टाटुकार गगन थापाले भने, 'न्यू इयरमा पोखरामा रमाउन पाउँदा मनै चंगा हुन्छ ।'

शिव शर्मा

सौराहाको 'ब्रान्ड’  हात्ती दौड

सौराहा- चितवनको सौराहामा हात्ती दौड हुन थालेको एक दशक पुग्यो । जब क्रिसमस आउँछ, तब हात्ती दौडको तयारी प्रारम्भ हुन्छ । यतिबेला पर्यटक आउने क्रम कम हुन्छ । त्यसैले पर्यटकको आगमन बढाउन हात्तीको प्रतिभा देखाइन्छ । अंग्रेजी नयाँ वर्ष नजिकिने क्रममा सौराहाले बेहुलीको रूप लिन्छ । राप्ती नदी किनारमा आगन्तुकहरूको भीड लाग्छ भने गर्मीमा नदी किनारमा हात्तीमाथि चढेर नुहाउनेहरूबीच प्रतिस्पर्धा नै चल्छ । यतिबेला राप्ती नदी 'ग्लामरस' बन्छ ।

छोटा पहिरनमा हात्तीमाथि चढेर पर्यटकले रोमाञ्चक अनुभव लिन्छन् । सन् २००४ मा प्रारम्भ भएको अन्तर्राष्ट्रिय हात्ती दौडलाई केही वर्षयता महोत्सवका रूपमा आयोजना गर्न थालिएको छ । आज पुस ११ गते सुरु हुने ११ औं चितवन हात्ती महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।

नेपालका विभिन्न जिल्ला तथा विदेशबाट आउने आगन्तुक हात्तीले देखाउने कलाबाट मोहित हुन्छन् । महोत्सव नसकिँदासम्म उनीहरू हात्तीकै कला हेर्न व्यस्त हुन्छन् । 'हात्तीको कला हेर्न आउनेहरूको संख्या बर्सेनि बढ्दो छ,' क्षेत्रीय होटल संघका उपाध्यक्ष सुमन घिमिरे भन्छन्- 'हात्ती दौड सिंगो जिल्लाको ब्रान्ड भएको छ ।'

हात्तीले देखाउने कलामा नरमाउने कोही हुँदैनन् । हात्ती अहिले चितवनमा पर्यटक लोभ्याउने प्रमुख माध्यम बनेको छ । त्यसैले अफ सिजनमा पर्यटक भित्र्याउन व्यवसायीले हात्ती महोत्सवको आयोजना गर्दै आएका छन् । यतिबेला हात्तीलाई विशेष रूपमा सिंगारिन्छ, मीठा खानेकुरा ख्वाइन्छ अनि दर्शकको माझमा उभ्याइन्छ । 'वन्यजन्तु हाम्रा राष्ट्रिय सम्पत्ति हुन्,' संघका महासचिव राममणि खनाल भन्छन्- 'त्यसैले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यून गर्न यस्तो महोत्सव आयोजित गरिएको हो ।'

के छ महोत्सवमा  

यस पटक हात्ती दौडमा परिवर्तन गरिएको छ । अघिल्ला वर्षहरूमा हात्तीलाई दुईतर्फी दौडाएर प्रतिस्पर्धा गराइन्थ्यो । यसपटक एकतर्फी मात्र दौड हुने भएको छ, जसअन्तर्गत २० वटा हात्तीले १ सय ५० मिटर दौड पूरा गर्नुपर्ने हुन्छ । त्यस्तै यसपटक नौलो कार्यक्रमका रूपमा हात्तीहरूबीच वनभोज कार्यक्रम गरिँदैछ, जसले आगन्तुकहरूको ध्यान तान्नेछ । वनभोजमा घरपालुवा हात्तीलाई सँगै राखेर फलफूल ख्वाइनेछ । वनभोजमा १ सय हात्तीलाई सहभागी गराइने आयोजकहरूको दाबी छ । हात्तीलाई एकै ठाउँमा राखेर उखु, बन्दा, काउली, गाजर, स्याउ आदि फलफूल ख्वाइनेछ ।

एउटा हात्तीको भागमा ५० किलो फलफूल पर्नेछ । आगन्तुकहरू हात्तीको छावाबीच हुने फुटबलमा पनि लोभिन्छन् । उक्त खेल हेर्न चौरमा दर्शकको ठूलै भीड लाग्छ । छावाले माहुतेको इसारामा फुटबललाई खुट्टाले धकेल्दै पोष्टमा लगेर गोल गर्छन् । यसैगरी हात्तीको गराइने सौन्दर्य प्रतियोगिताले पनि महोत्सव आकर्षण थप्ने गरेको छ । यो प्रतियोगिताअन्तर्गत हात्तीको नङ काटेर गरगहनाले सजाइ प्रतिस्पर्धा गराइन्छ । यस पटकको हात्ती सौन्दर्य प्रतियोगितामा ५ वटा हात्तीले प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै गाडा, टांगा र डुंगा दौडसमेत आयोजना हुनेछ । अर्कातिर गायक हेमन्त शर्मा र गायिका इन्दिरा जोशीले गीतमार्फत दर्शकलाई नचाउने छन् भने थारु समुदायको नृत्य एवं झाँकीले पनि दर्शकको ध्यान खिच्ने पक्का छ ।

यसरी सुरु भयो दौड

सन् २००४ मा एक जना कोरियाली पत्रकार सौराहा घुम्न आएका थिए । त्यति बेला उनले हात्ती चढ्ने पर्यटक मात्र देखे । हात्तीबाट पर्यटन प्रवर्द्धन गर्न सकिने हुँदा उनले नयाँ जुक्ति निकाले- हात्ती दौडाएर पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने । त्यसका लागि उनले १ सय डलरसमेत सहयोग गरे । उनले हात्ती दौडाएर भिडियो खिची विदेशमा देखाइ पर्यटक भित्राउन सहयोग गर्ने भएपछि क्षेत्रीय होटल संघको अगुवाइमा हात्ती दौड प्रतियोगिता प्रारम्भ भएको थियो । 'द्वन्द्वको समय थियो,' संघका पूर्वअध्यक्ष शंकर सैजु भन्छन्- 'पर्यटक आउँदैनथे, त्यसैले हात्ती दौड नौलो लागेर सुरु गरेका थियौं ।' ८ वटा हात्तीबाट प्रारम्भ गरिएको थियो । 'हात्ती दौड सबैले मन पराए,' सैंजूले भने, 'जसले गर्दा आज सिंगो चितवन जिल्लाको ब्रान्ड हात्ती बनेको छ ।' सैंजूका अनुसार अहिले हात्ती दौडमा अपेक्षाभन्दा बढी दर्शकको उपस्थिति हुने गरेको छ । सौराहामा झन्डै ६० वटा निजी हात्ती छन् भने १ सयजति होटल छन् ।

विमल खतिवडा

हिउँ खेल्नेको भीड

गुफापोखरी क्षेत्रमा हिउँ परेको खबर सुनेपछि राजधानीबाट खाँदबारी आइपुगेका सुजनकुमार श्रेष्ठ त्यसतर्फ लागे । मादीमूलखर्कको मंगलबारे बजारबाटै हिउँ भेटिन थालेपछि श्रेष्ठको खुसीको सीमा रहेन । ५ दिनअघि हिउँ परे पनि जाडो र घाम नलाग्ने ठाउँ भएकाले त्यहाँ आइतबार बिहानसम्म पनि  हिउँ पग्लिएको थिएन ।

मंसिरको अन्तिम सातामै उक्त क्षेत्रमा बाक्लो हिमपात भएपछि तीनजुरे क्षेत्र हुँदै गुफापोखरी जाने आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेको छ । मंगलबारे बजारबाट गुफापोखरी नपुगुन्जेल बाटैभरि हिउँ देखिन थाल्यो, सुजनले भने, हिउँसँगै कन्चनजंघा र मकालु हिमालको दृश्यले मनै लोभ्यायो । चैनपुरबाट मादीराम्बेनी हुँदै मंगलबारेबाट गुफा पोखरी पुग्ने सडक खनिएको रहेछ, आउँदा त्यतैबाट आयौं, जाँदा गुराँसको राजधानी तीनजुरे हुँदै देउरालीबाट चैनपुर फर्कियौं । श्रेष्ठले बताए ।

चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्य पनि गुफापोखरीसम्म पुगेर हिउँमा रमाए । अरू बेला पनि गुफा त पुगेकै हो तर, हिउँ परेका बेला अर्कै आनन्द आउँदो रहेछ, शाक्यले भने, यो सिजनमा एक दिन हिउँ परे पनि १० दिनसम्म नपग्लिने भएकाले पछि जाँदा पनि भेट्यौ । गुराँसको जंगल हुँदै यात्रा गर्नुपर्ने भएकाले सार्‍है रमाइलो महसुस भयो, शाक्यले बताए ।

गुफा पोखरीमा यति शुद्ध पानी छ कि त्यहाँ कुनै पनि पातपतिङ्गर देख्न पाइँदैन । स्थानीय बासिन्दाका अनुसार गुफा पोखरीमा कुनै चीज खसे वा परे सुनौलो रङको चराले टिप्दै बाहिर फाल्ने काम गर्छ । त्यही चराले पोखरीमा कुनै पनि चीज पर्न नदिने स्थानीय वृद्ध हरिप्रसाद खनालले बताए । उक्त क्षेत्रमा नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइन्छ ।

दीपेन्द्र शाक्य

प्रकाशित :पुस ११, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्