
नासुका लागि ४ सय ८२ जनाको विज्ञापन
माघ १६, २०७१
यदि सरकारी जागिरको तयारीमा हुनुहुन्छ भने लोकसेवा आयोगले नायब सुब्बाको विज्ञापन खुला गरेको छ । आयोगद्वारा सार्वजनिक गरिएको सूचनाअनुसार विभिन्न सेवा, समूह तथा पदका लागि ४ सय ८२ जनाका लागि उक्त विज्ञापन गरिएको हो । न्याय, प्रशासन, लेखा, राजस्व, सरकारी वकिल आदि पदका लागि आफ्नो योग्यताअनुसार समावेशी र खुला दुवै तर्फ दरखास्त दिन सकिन्छ । यी पदका लागि आगामी माघ २० गतेसम्म आवेदन दिइसक्नुपर्छ । दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । आयोगका क्षेत्रीय कार्यालयहरू तथा जिल्ला हुलाक कार्यालयमार्फत पनि आवेदन दिन सकिनेछ ।
कहाँ कति
लोकसेवा आयोगले सार्वजनिक गरेको सूचनाअनुसार पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट विभिन्न सेवा र समूहका लागि जम्मा १ सय ४ जना माग गरिएको छ । खुलामा ५८ जना, महिला कोटाअन्तर्गत १६ जना, आदिवासी जनजाति कोटाबाट १२ जना, मधेसी ९ जना, दलित ३ जना, अपाङ्ग ३ जना तथा पिछडिएका क्षेत्रबाट ३ जना माग गरिएको छ । त्यसैगरी मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौंबाट २ सय २ जनाका लागि विज्ञापन गरिएको छ । यो क्षेत्रका लागि खुला अन्तर्गत १ सय ९ जना, महिलाअन्तर्गत ३१ जना, आदिवासी जनजाति अन्तर्गत २५ जना, मधेसी अन्तर्गत २१ जना, दलित अन्तर्गत ८ जना, अपाङ्गअन्तर्गत ३ जना तथा पिछडिएको क्षेत्रअन्तर्गत ५ जना माग गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रबाट जम्मा ८३ जना माग गरिएको छ । यसमा खुलातर्फ ४६ जना, महिलातर्फ १३ जना, आदिवासी जनजातितर्फ ९ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ४ जना, अपाङ्गतर्फ १ जना तथा पिछडिएका क्षेत्रबाट १ जना माग गरिएको छ ।
त्यसैगरी मध्यपश्चिमाञ्चलबाट ५५ जना माग गरिएको छ । यसमा खुलातर्फ २९ जना, महिलातर्फ ८ जना, आदिवासी जनजाति तर्फ ७ जना, मधेसीतर्फ ६ जना, दलिततर्फ २ जना, अपाङ्गतर्फ १ जना तथा पिछडिएका क्षेत्रबाट २ जना माग गरिएको छ । सुदुर पश्चिमाञ्चलबाट जम्मा ३८ जना माग गरिएको छ । यो क्षेत्रमा खुलातर्फ २२ जना, महिलातर्फ ७ जना, आदिवासी जनजातितर्फ ३ जना, मधेसीतर्फ ३ जना, दलिततर्फ १ जना एवं अपाङ्गतर्फ २ जना माग गरिएको छ ।
दरखास्त दिँदा ख्याल राखौँ
जागिरका लागि दरखास्त दिन जाँदा घरबाटै पूर्वतयारीका साथ जानुपर्छ, किनभने कार्यालयमा भीडभाड हुने भएकाले आफ्नो सानो गल्तीले निकै ढिलाइ हुन सक्छ । लोकसेवाको नासु पदमा दरखास्त दिन ४ सय रुपैयाँ शुल्क लाग्छ । प्रत्येक थप समावेशी समूहका लागि २ सय रुपैयाँ लाग्छ । परराष्ट्र सेवाका लागि २ सय रुपैयाँ थप शुल्क बुझाउनुपर्नेछ । दरखास्त फारम आयोगका कार्यालयहरू अथवा वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।
यदि समावेशी कोटाबाट पनि दरखास्त दिँदै हुनुहुन्छ भने त्यसका लागि आवश्यक कागजातहरू मिलाउनुपर्छ । आदिवासी जनजातिको हकमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोहीअनुसार र सुचिकृत नभएको जातिको हकमा स्थानीय निकायको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गराई कागजात पेस गर्नुपर्छ ।
दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत जातिको हकमा सोहीअनुसार र सूचीकृत नभएको थर भए सम्बन्धित निकायको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले प्रमाणित गरेको कागजात पेस गर्नुपर्छ । अपाङ्गको हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाजकल्याण परिषद्बाट अपांगता प्रमाणित भएको कागजात हुनुपर्नेछ । त्यस्तै मधेसीको हकमा सम्बन्धित निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराएको कागजात हुनुपर्छ । पिछडिएका क्षेत्र भन्नाले निजामती सेवा ऐन २०४९ को दफा ७ को उपदफा ७ मा उल्लेख भएका जिल्लाहरूमा स्थायी बसोवास गरी आएको हुनु पर्नेछ ।
नासुमा दरखास्त दिन पुरुषले १८ वर्ष उमेर पुगी ३५ वर्ष ननाघेको र महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको हुनुपर्छ । नासुका हरेक सेवा समूहका लागि शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ । परराष्ट्र सेवाका लागि मान्यता प्राप्त शिक्षण सस्थाबाट अंग्रेजी विषयसहित प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ । लेखा समूहका लागि प्रवीणता प्रमाणपत्र तहमा अर्थशास्त्र, गणित, तथ्यांकशास्त्र वा जनप्रशासन विषय लिएर अध्ययन गरेको हुनुपर्छ । विज्ञापन, परीक्षा कार्यक्रम तथा पाठ्यक्रमका बारेमा आयोगको वेबसाइट धधध।उकअ।नयख।लउ बाट विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
प्रकाशित :माघ १६, २०७१









तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्