Teej banner
बोल्न चाहने धेरै छन्

बोल्न चाहने धेरै छन्

फाल्गुन २३, २०७१

रुपेश श्रेष्ठ, समाचारवाचक

कान्तिपुर टेलिभिजनका लोकप्रिय समाचारवाचक हुन्— रूपेश श्रेष्ठ । एक दशकअघि क्लासिक एफएममा रेडियो जक्की तथा समाचार प्रस्तोताका रूपमा करियर प्रारम्भ गरेका रूपेशले यो अवधिमा अन्य केही रेडियो तथा बेलायतबाट प्रसारण हुने नेपाली टेलिभिजनमा समेत समाचारमूलक सामग्री प्रस्तुत गरिसकेका छन् । पत्रकारितामा स्नातकोत्तर रूपेश कान्तिपुर टेलिभिजनमा विगत आठ वर्षदेखि समाचारवाचकका रूपमा आवद्ध छन् । यो अवधिमा उनले समाचारवाचनबाहेक टक शो कार्यक्रम 'राइज एन्ड साइन' समेत सञ्चालन गरे । करिब दुई वर्षसम्म उक्त कार्यक्रम सञ्चालन गरेका रूपेश पछिल्लो समय समाचारवाचकका रूपमा मात्र सक्रिय छन् । लामो समयदेखि प्रशिक्षकका रूपमा सक्रिय रूपेशले केही हजार विद्यार्थीलाई प्रशिक्षण दिइसकेका छन् । यसबीच गत पुस १ गतेदेखि रेडियो कान्तिपुरका रेडियो जक्की राजेश पाण्डेको समेत सहभागितामा आई इभल्भ नामक संस्था स्थापना गरी देशभरिका १६ जटा जिल्लामा विभिन्न उमेरका मानिसहरूलाई नि:शुल्क रूपमा पब्लिक स्पिकिङ तथा लिडरसिप सिकाएर चर्चामा आएका छन् । ४० दिनको यो यात्रामा रूपेश र राजेशको जोडीले ३३ वटा तालिम कक्षा सञ्चालन गर्‍यो । कपिलवस्तुको तौलिहवाबाट प्रारम्भ भएको उनीहरूको यात्रा इलाम हुँदै कास्कीको पोखरामा पुगेर टुंगिएको थियो । उक्त प्रशिक्षणपछि मात्र आफूले वास्तविक नेपाल बुझेका बताउने रूपेशसँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न :

तपाईंहरूले सञ्चालन गर्नुभएको देशव्यापी अभियानको उद्देश्य के हो ?

देशभरि बोल्न चाहनेहरू धेरै छन् । देशैभरि आ-आफ्नो क्षेत्रमा नेतृत्वमा पुग्न चाहने र काममा सफलता प्राप्त गर्न चाहनेहरू छन्, तर कसरी यी सीप हासिल गर्ने भन्ने जानकारी थोरैलाई मात्र छ । हामी आफ्नो कुरा अरूका अगाडि कसरी प्रभावकारी ढंगमा प्रस्तुत गर्नेदेखि आफ्नो भविष्यको बाटो कसरी तय गर्ने भन्नेसम्मका कुरा सिकाउन हिंडेका हौं ।

यो अभियान कत्तिको सफल रह्यो ?

हामी विभिन्न सीपका सम्बन्धमा अध्ययन-अनुसन्धानबाट प्राप्त परिणामहरूलाई समावेश गरेर त्यसको विज्ञान बोकेर निस्किएका थियौं र देशका १२ सयभन्दा बढी मानिसलाई त्यो विज्ञान बतायौं, अभ्यास गरायौं र त्यसको असर पनि कक्षामै देखायौं । हाम्रो यो पहिलो अभियान सफल रह्यो । आगामी वैशाखदेखि हामी पश्चिम नेपालको यात्रामा निस्कनेछौं ।

आगामी दिनमा के गर्ने योजना बनाइरहनुभएको छ ?

कान्तिपुर टेलिभिजनका लागि अनुसन्धानमा आधारित एउटा गम्भीर शैलीको कार्यक्रमको परिकल्पना गरेको छु । समाजलाई सही मार्ग देखाउने उद्देश्यसहितको उक्त कार्यक्रमका लागि अनुसन्धान कार्य प्रारम्भ गरिसकेको छु ।

प्रकाशित :फाल्गुन २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्