
गैरआख्यानको ठूलो बजार छ
चैत्र १३, २०७१
डा. योगी विकासानन्द
नेपालमा सबैभन्दा बढी बिक्री भएको पुस्तक 'मुनामदन' मानिन्छ । साझा प्रकाशन स्रोतका अनुसार 'मुनामदन' ५० वर्षयता करिब १५ लाख प्रति बिक्री भैसकेको छ । हालैको कुरा गर्ने हो भने सबैभन्दा बढी बिक्री भएको पुस्तक 'नव सफलता शास्त्र' लाई मानिएको छ । मनोक्रान्ति अभियानका प्रणेता डा. योगी विकासानन्दका अनुसार उनको यो पुस्तक ७ वर्षयता १ लाख २५ हजार प्रति बिक्री भैसकेको छ । डा. विकासानन्दका नाममा नेपाली भाषामा सबैभन्दा बढी पुस्तक प्रकाशित गर्ने अनौपचारिक कीर्तिमान पनि छ । डा. योगीले अहिलेसम्म ८७ वटा पुस्तक लेखिसकेका छन् ।
तपाईंका सबैजसो पुस्तक बेस्टसेलर छन् तैपनि पुस्तक चर्चामा तपाईंको नाम पर्दैन, किन होला ?
सत्य हो, मेरो नाममा प्रकाशित कुनै पनि पुस्तक ५ हजार प्रति भन्दा बढी नै बिक्री हुन्छन् । सबैभन्दा बढी 'नव सफलता शास्त्र' १ लाख २५ हजार प्रति बिक्री भैसकेको छ । 'नयाँ स्वास्थ्य रहस्य' ३२ हजार प्रति छापिएको हो भने 'सुपर लर्निङ' पनि ३० देखि ३५ हजार प्रति बिक्री भएको अनुमान छ । मासिक १ लाख रुपैयाँबराबरका मेरा पुस्तक बिक्री भैरहेका छन् । मैले लेखकस्व वापत् मासिक ५० हजार रुपैयाँ बुझिरहेको छु । यस अर्थमा म नेपालमा सबैभन्दा बढी कमाउने लेखकमा पर्छु । यस्तो स्थितिमा पनि पुस्तक चर्चामा म किन परिनँ भन्ने कुरा समीक्षकहरूसँग सोध्दा राम्रो होला ।
तपाईंको नाममा सबैभन्दा बढी पुस्तक निकालेको कीर्तिमान पनि रहेछ, कीर्तिमानका लागि लेख्नुभएको हो ?
मैले २०४८ सालदेखि पुस्तक प्रकाशन गराउन थालेको हुँ । २०५५ सालमा मैले प्रवचन दिन थालेपछि प्रत्येक साता प्रवचनमा आधारित पुस्तक निकाल्ने घोषणा गरेको थिएँ । यसरी पुस्तक निकाल्दै जाँदा पुस्तक संख्या ८७ पुगेको हो । प्रत्येक साता पुस्तक निकाल्दा कुनै-कुनै पुस्तक साह्रै साना हुन थालेपछि त्यसलाई दोस्रो-तेस्रो संस्करणमा पुगेपछि सम्पादन गर्न तथा विषय मिल्ने दुई-तीन पुस्तकलाई एउटै बनाउन थालियो । त्यसैले अहिले मेरा पुस्तकको संख्या २२-२५ मा झरेको छ ।
कुन-कुन विषयमा पुस्तक निकालिरहनुभएको छ ?
मैले सुरुदेखि नै आफूलाई ४ वटा विषयमा केन्दि्रत गरेको छु । पहिलो स्वास्थ्य, दोस्रो व्यवहारिक शिक्षा, तेस्रो सफलता र उत्साह तथा चौथो आध्यात्म । बजारमा यी विषयका विश्वसनीय पुस्तकको अभावका कारण पनि मेरा पुस्तकको माग बढेको हो ।
यसको अर्थ नेपालमा गैरआख्यानको बजार पनि ठूलो छ, होइन ?
धेरै ठूलो बजार छ । वास्तवमा पुस्तक बेचेरै मनोक्रान्ति अभियान चलिरहेको छ । हामीले पुस्तककै आम्दानीले काठमाडौंको गोदावरीमा साधना गर्ने एउटा घर बनायौं । म पुस्तक बेचेकै पैसाले गाडी चढिरहेको छु ।
पठनीय
अहिले बजारमा प्रेम र युद्धसँग सम्बन्धित उपन्यासको बाढी आएको छ । दुई दशकअघि माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका कारण पनि यस्ता उपन्यास लेख्नु फेसनजस्तै भएको छ । यी विषयभन्दा फरक रहेर अहिले नयाँ उपन्यास आएको छ- अनुराधा भवन । वीरगन्जको व्यवसायिक परिवारमा जन्मिएका साहित्यकार गणेशप्रसाद लाठको यो उपन्यास व्यापारिक घरानाको सेरोफेरोमा घुमेको छ । धनाढ्य व्यवसायीहरूको जीवन, उनीहरूले खेप्ने तनाव, भारतसँगको व्यापार, प्रेम एवं विवाहजस्ता विषयलाई लेखकले यो उपन्यासमा समेटेका छन् । यसलाई लेखकले काल्पनिक कथा भने पनि पढ्दै जाँदा यो उद्योगी-व्यापारी समुदायको केस्रा-केस्रा केलाइएको कथा जस्तो लाग्छ ।
अप्रिल फूल— १
कुखराको फुल हो कि
हाँसको फुल
सयपत्रीको फूल कि
बाँसको फूल
सिउरिने फूल
हैन के हो
यो अप्रिल फूल !
पहिले त लाग्थ्यो
खाने फुल हो कि
मन्दिरमा चढाउने फूल
तरुणीलाई हिर्काएर
कराउने फूल
पछि लाग्थ्यो
उड्न्याको हो कि गुड्न्याको हो
के दुई खुट्टाले हिंड्न्याको हो
अस्टि्रचको हो कि कौवा हो
पछि पो थाहा भो
मुर्ख बनाउने रहेछ
यो अप्रिल फूल ।
नमरेको बाउको खबर
मरे भनी आ'को छ
मरेका मान्छेले पनि
बिहे गरे भनी हल्ला चला'को छ
कोही प्रेमिकाले बोलाई भनी
पार्क धा'को छ
कोही प्रेमीले बोलायो भनी
मन्दिरतिर गा'को छ
कुरो-कन्थो नबुझी
कति मूर्ख भा'को छ
मान्छेलाई तनावमा कुदाकुद
कुदाउनेमा क्या मज्जा आ'को छ
न आमाको साख, न बाउको साख
गोरु बेचेको साइनो
लोकप्रिय हँुदै गा'को छ
त्यसै त यो देशमा पर्वहरूको हूल
अब सरकारी बिदा नै माग्ने हो कि
मनाउन यो अप्रिल फूल !
अप्रिल फूल —२
धेरै पछि
केपी ओलिले
टन्न रक्सी धोके
र प्रचण्डलाई फोन ठोके
उखान टुक्का जोडेर
पोख्नु रिस पोखे ।
प्रचण्डलाई असह्य भएपछि
श्रीमती ढोगे
थोत्रो बन्दुक बोके
र कुलेलम ठोके ।
केपी दाइ, सुशील दाकैं रहेछन्
प्रचण्ड बालुवाटार नै गएछन्
केपी ओलीलाई
भोटे कुकुरले झैं भुके
सुशील दा मुसुमुसु हाँस्दै थिए
चल्यो मुक्का हानाहान
बन्दुक पनि तानातान
एकछिन त सुशील आत्तिए
त्यसपछि ताप्केझंै तात्तिए
तपाईंहरूलाई लाज छैन— घिन छैन
कम्युनिस्ट भएर नलडेको दिन छैन
खाली कुकुर, बिरालोजस्तो गर्या छ
संविधान नबनाएर अलपत्र पार्या छ
उनले दारा कड्काए
ओलीको कान पट्काए
प्रचण्डलाई त
नराम्रैसँग गालामा चड्काए ।
ओलीलाई के गरे त्यो थाहा छैन
प्रचण्डले त तीन त्रिलोक देखे
बिचराले घुँडै टेके र भने—
सुशिल दा, अब हुँदैन यस्तो भूल ।
तर पत्याउनुहोला नि
यो त हो— अप्रिल फूल !
प्रेम ओली
प्रकाशित :चैत्र १३, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्