इन्डोनेसियन व्यापारीले पूरै गाउँ बनाइदिन्छन् !

इन्डोनेसियन व्यापारीले पूरै गाउँ बनाइदिन्छन् !

- मनोज गजुरेल

जेष्ठ ८, २०७२

इन्डोनेसियन व्यापारीले पूरै गाउँ बनाइदिन्छन् ! त्यसपछि गाउँमा आफ्नो पसल थाप्लान्– त्यो अर्कै कुरा हो । चिनियाँ अरबपतिले सिंगै बस्ती बसाइदिन्छन् ! अनि त्यहाँ चिनियाँ सामान बेच्लान्– त्यो अर्कै कुरा हो । बेलायतले नगर नै निर्माण गरिदिन्छ ! नगरमा अंग्रेज राज्य खडा गर्ला– त्यो अर्कै कुरा हो । अमेरिकाले सहर नै स्थापित गर्दिन्छ ! सहरलाई सांस्कृतिक साम्राज्यको अखडा बनाउला– त्यो अर्कै कुरा हो । विपद् व्यवस्थापनको सम्पूर्ण जिम्मा भारतले लिन्छ ! बिस्तारै सिंगो देश नै जिम्मा लेला, त्यो अर्कै कुरा हो ।

अर्कै कुरा हो, शक्तिकेन्द्रको क्रीडाले देश थिलथिलो बन्ला ! तर एनजिओहरूले हामीलाई अस्पताल बनाइदिन्छन् । अर्कै कुरा हो, हामी परजीवी बनौंला ! तर, आइएनजीओहरूले हाम्रा लागि खाद्यान्न उपलब्ध गराइदिन्छन् । अर्कै कुरा हो, हाम्रा नानीहरू उनीहरूको संस्कृति सिक्न बाध्य पारिएलान् ! तर मिसनरीहरूले हाम्रो देशमा स्कुल बनाइदिन्छन् । अर्कै कुरा हो, एजेन्सीहरू हाम्रो राष्ट्रियता लिँदै हिंड्लान् ! तर, तिनले हाम्रा लागि किताब र कम्प्युटर अनुदान दिनेछन् ।

राष्ट्रिय उद्योगपतिहरूले खानेपानीको व्यवस्था गर्नेछन् ! पाइप र सिमेन्ट उनीहरूबाट खरिद गर्नुपर्ला, त्यो अर्कै कुरा हो । टुहुरा बालबालिका पढाउन निजी स्कुलहरू तयार छन् ! शिक्षा मन्त्रालयसँग बजेट माग्लान्, त्यो अर्कै कुरा हो । लत्ताकपडा दिन ठूला व्यापारी तयार छन् ! त्यसका लागि सरकारसँग अनुदान माग्लान्, त्यो अर्कै कुरा हो । पुनर्निर्माणमा सहभागी हुन निर्माण व्यवसायीहरू आतुर छन् ! कमिसन र ठेक्का आफ्नै कम्पनीले पाउनुपर्ने माग गर्लान्, त्यो अर्कै कुरा हो ।

विदेशीहरू सहयोगको घोषणा गरेका गर्‍यै छन् ! पाउने बेलामा २५ प्रतिशत पनि मुस्किलले आउला, त्यो अर्कै कुरा हो । राहत वितरणमा प्रत्येक देशवासी लागिरहेका छन् ! फेसबुकमा तस्बिर राख्नेहरूको संख्या अझ बढी होला, त्यो अर्कै कुरा हो । राहत लिने खुसी देखिन्छन् ! त्यसमा डबल–चौबर पाउनेहरू पनि होलान्, त्यो अर्कै कुरा हो । गाडी रोकेर चाउचाउ माग्ने केटाकेटी खुसी देखिन्छन् ! माग्ने संस्कृतिको विकास होला, त्यो अर्कै कुरा हो ।

राहत, उद्धार र पुनर्निर्माणमा ‘सत्य कुरा’ कुरा कम र ‘अर्कै कुरा’ ज्यादा भैरहेको गजुरियल बुझाइ छ । सबै थोक विदेशीले नै गरिदिन्छु भनेपछि हामी ढुक्क भएर निदाउने त होइनौं ? हामी निदाएको मौकामा उनीहरूले चौका हान्ने त होइनन् ? गजुरियल विश्लेषण भन्छ, अरूको सहयोग तत्काल बाँच्नका लागि साधन हुनसक्छ, जिन्दगीभरका लागि साध्य बन्न सक्दैन ।

भूकम्पपीडित नेपालीलाई दिन हामीसँग आर्थिक सहयोग कम होला, तर उनीहरूको जीवन सहज बनाउन सहयोग पुग्ने धेरै कुरा दान गर्न सकिन्छ । घर बनाउने सीप दान गर्न सकिन्छ । तरकारी खेती सिकाउने वैज्ञानिक विद्या दान गर्न सकिन्छ । पशुपालन, स्वास्थ्य र सीप विकासको सहयोग गर्न सकिन्छ । सबैभन्दा ठूलो दान भनेको श्रमदान हो, प्रेमदान हो, हौसला र आत्म विश्वासको दानले भूकम्पपीडित नेपालीहरूलाई परजीवी हुनबाट रोक्न सकिन्छ भन्ने गजुरियल ठम्याइ छ ।

प्रकाशित :जेष्ठ ८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्