अशोकसँग मायामा परेकी छु
असार १२, २०७३
विनिता बराल, नायिका/लेखिका
तपाईं आफूलाई के भनेर परिचय दिनुहुन्छ ?
‘ब्युटी लेडी विद् ब्रेन’ भन्दा घमन्डी भइछे भन्ने आरोप लाग्ला । बरु यसरी भनौं, एउटी कलाकार जो आफ्नो अनुभव लेख्ने प्रयास गरिरहेकी छिन् ।
अनि चपली गर्ल ?
यो ‘चपली हाइट’की नायिका भएपछिको परिचय हो, अहिले पनि मलाई धेरैले त्यही भन्छन् । परिचयको दायरा बढेको छ, अब ‘जुइनो लेडी’ पनि ।
चपली हाइटको सिक्वेलमा अटाउनु भएनछ नि ?
म अमेरिकामा थिएँ । यहाँ भएकी भए पनि अटाउन्नथेँ, किनभने निर्माण पक्षसँग मेरो सम्बन्ध राम्रो छैन ।
किन त्यस्तो भयो ?
यति बुझ्नुस् कि ‘अन्डरस्ट्यान्डिङ’ राम्रो भएन ।
चपली हाइटपछिका तपाईंका चलचित्रलाई दर्शकले झुर भने त ?
म कुनै पनि चलचित्रमा त्यो ‘झुर’ हुन्छ भनेर काम गर्दिनँ र म आफ्ना चलचित्रलाई ‘झुर’ पनि मान्दिनँ ।
अमेरिकामा के गर्दै हुनुहुन्छ ?
एटलान्टामा एमबीए गर्दैछु । एक वर्ष बाँकी छ ।
अनि यहाँको अर्गानिक कृषि खेती ?
साथीहरूले चलाएका छन् । पढाइ सकेर फर्किएपछि फेरि सक्रिय हुन्छु ।
अहिले किन आउनुभएको ?
मैले लेखेको उपन्यास ‘जुइनो’ बजारमा ल्याउन फाइन प्रिन्टका अजित बरालले बोलाउनुभयो, त्यसैले ।
लेखिका हुने जाँगर र प्रतिभा कहाँबाट आयो ?
सानैदेखि चलचित्र नायिका बन्ने रहर थियो । मभित्र लेखिका पनि रै’छिन् । अहिले उनी फुत्त बाहिर आइन् ।
अनि अभिनय ?
कुनै–कुनै कुरा लेखेर मात्र अभिव्यक्त गर्न सकिन्छ, त्यसैले ‘जुइनो’ लेखेँ । अभिनय गरेर अभिव्यक्त गर्ने बेलामा अभिनय गर्छु ।
चलचित्रबाट प्रस्ताव आएका छैनन् ?
म उता (अमेरिका) छु । फर्किएपछि काम गर्छु चलचित्रमा ।
मोडल, नायिका, कृषक अब लेखिका विवाह गर्ने फुर्सदचाहिँ कहिले जुर्छ ?
भर्खर त जीवनको ‘सिल्भर जुब्ली’ सकेँ । पख्नुस् न, दुई वर्षपछि गर्छु ।
प्रेम त परेको होला नि ?
अशोकसँग मायामा परेकी छु । अशोक अर्थात् ‘जुइनो’को केन्द्रीय पात्र ।
प्रकाशित :असार १२, २०७३
















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्