Teej banner

नेपाली कलाकारलाई लाग्यो इद

- साप्ताहिक संवाददाता

असार २४, २०७३

मुसलमानहरूको ठूलो पर्व इदको अवसर पारेर यो साता मलेसिया, कतार तथा दुबईमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रममा नेपाली कलाकारहरूको उल्लेख्य सहभागिता रह्यो । इदको दिन गत बुधबार मलेसियामा मात्र आधा दर्जन सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिए । 

मलेसियामा आयोजित कार्यक्रमहरूमध्ये ‘फ्रेन्डसिप धमाका’ शीर्षकको कार्यक्रममा हास्य श्रृंखला ‘हाक्का हाक्की’ का लोकप्रिय कलाकारहरूले विभिन्न प्रसहनमार्फत दर्शकको मन जिते । कार्यक्रममा श्रृंखलाका निर्देशक तथा कलाकार दमन रुपाखेती, राम थापा तथा कविता शर्मा पूतुत भए । यही कार्यक्रममा गायिका ज्योति मगरले आफ्ना लोकप्रिय गीत तथा नृत्यमार्फत दर्शकको मन जितिन् भने गायक दुर्गेश थापाले आफ्ना गीत सुनाए । कार्यक्रममा डिआईडी स्टार तेरिया मगरको नृत्य आकर्षक रह्यो । बुधबार तथा बिहीबार दुई भिन्न स्थानमा सञ्चालित उक्त कार्यक्रम पर्सि आइतबारसमेत प्रस्तुत हुने बताइएको छ । 

इदकै अवसरमा गत बुधबारदेखि मलेसियाका विभिन्न सहरमा नेपाली कलाकारहरूले ‘विजयाहिल कन्सर्ट–२०१६’ मार्फत मनोरञ्जक प्रस्तुति दिइरहेका छन् । विजयाहिल एक्सपोर्ट इम्पोर्टले आयोजना गरेको उक्त कार्यक्रममा गायक डम्बर नेपाली, गायिका सपना लामिछाने, अभिनेता प्रदीप खड्का, अभिनेत्री अशिष्मा नकर्मी, हास्य कलाकारद्वय निरु खड्का र राजु मास्टर तथा लोकगायिका जानकी मगरले विभिन्न प्रस्तुतिमार्फत दर्शकको मन जितिरहेका छन् । 

मलेसियाकै विभिन्न सहरमा यही बुधबारदेखि ‘रिमिक्स धमाका—११’ शीर्षकको सांस्कृतिक कार्यक्रम प्रस्तुत भैरहेको छ । विभिन्न चारवटा सहरमा सञ्चालन हुने यो कार्यक्रममा अभिनेता जीवन लुइँटेल, अभिनेत्री वर्षा राउत, गायक रमेशराज भट्टराई, गायिका सावित्री जोशी, कलाकार बल्छी धुर्वेसहितको समूहले नेपाली दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछ । 

हास्यकलाकार धुर्मुस तथा सुन्तली भने इदको भोलिपल्ट अर्थात् हिजो बिहीबार कतारमा आयोजित सांस्कृतिक कार्यक्रममा प्रस्तुत भए । गिरान्चौरमा निर्माणाधीन सामूहिक बस्तीका लागि सहयोग राशि जुटाउने क्रममा उनीहरू कतार पुगेका हुन् । सास क्रिएसनले आयोजना गरेको उक्त कार्यक्रममा धुर्मुस तथा सुन्तलीका अतिरिक्त नायिका रेखा थापा, हास्यकलाकार राजाराजेन्द्र पोखरेल, दोहोरी गायक राजु गुरुङ, गायिका मुना थापामगर, डान्सर निर्मल तामाङ, नायिका तथा नृत्यांगना रानी चटर्जी, भोजपुरी नायिका परिनिका शर्मा, कार्यक्रम सञ्चालक सुशील नेपाल आदि सहभागी छन् । 

इदकै अवसर पारेर आज शुक्रबार कतारको दोहामा ‘चितवन धमाका साँझ–२०१६’ शीर्षकको सांस्कृतिक कार्यक्रम प्रस्तुत हुँंदैछ । यो कार्यक्रममा हास्यकलाकार ज्योति काफ्ले, गायक सञ्जीव सिंह, दोहोरी गायक नेत्रजी पन्त, गायिका सरिता गुरुङ, नृत्यांगना सपना राई, गायक टंक बुढाथोकी आदि सहभागी हुनेछन् । 

इदकै अवसर पारेर नेपाली क्लब बहराइनले बहराइनमा नेपाली सांगीतिक कार्यक्रम–२०१६ को आयोजना गरेको छ । इदकै दिन अर्थात् बुधबार सम्पन्न उक्त कार्यक्रममा गायक अनिल सिंह, गायिका मेलिना राई, दोहोरी गायक राजन कार्की तथा नायिका रजनी गुरुङले आ–आफ्नो प्रस्तुतिमार्फत दर्शकको मन जितेका थिए । 

यसैगरी अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका कोमल वली, नायिका नम्रता सापकोटा तथा हास्य कलाकार जितु नेपाल ‘ रक स्टार धमाका २०१६’ शिर्षकको कार्यक्रम प्रस्तुत गर्न मलेशिया पुगेका छन् ।

 

प्रकाशित :असार २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्