हाँसो मुहान खोज्दै जाँदा–४
जेष्ठ १९, २०७५
तीन वर्षको विदेश बसाइले मलाई राम्रो भयो । गएको पाँच महिनामा साहूको ऋण तिरें । त्यसपछिको कमाइले आमा–बाबाका लागि टिभी किनें । बच्चा र परिवारका लागि मोबाइल र पकेट खर्च पठाएँ । आफ्ना लागि घडी र सेलफोन लिएँ । भिसा फिनिस भएर घर आउँदा सबै खर्च कटाएर मसँग ५ लाख रुपैयाँ थियो ।
फर्किएर आएपछि गाउँमा एक कठ्ठा जग्गा खरिद गरें । जग्गाको सानो एरियामा टाटीको घर निर्माण गरें । एउटा भान्सा कोठा, अर्को बुबा–आमाको कोठा अनि अर्को हाम्रा लागि ।
बा–आमालाई गोरस पनि हुने, बाँकी रहेको दूध बेचेर खर्च पनि चल्ने । यस्तै सोचेर एउटा गाई किनें र घरपछाडि ऊ अट्ने सानो गोठ बनाएँ ।
घाँसका लागि दु:ख गर्न नपर्ने । उभ्रिएको खाना र आँगनकै करेसाबारीको झारपातले अघाउँथ्यो । दैनिक दुई माना दूध बेच्दा श्रीमतीको पकेट खर्च र सन्तानको स्कुल फिस चल्थ्यो । आमाले पेवा भनेर घरमै दुई–चारवटा कुखुरा पाल्नु भएको थियो भने बा चिना सिना हेरेर आफ्नो खर्च जुटाउनुहुन्थ्यो ।
तीन वर्षको वैदेशिक रोजगारीले मेरो परिवारलाई ठीकैको जीवन दियो । एक हिसाबले परिवारका सबै जना रोजगार भए, मबाहेक ।
एक दिन एउटा पत्रिकामा समाचार देखें, थोरै जमिनबाट कसरी धेरै फाइदा लिने ? त्यही सुझावका आधारमा घर पछाडिको १० धुर जग्गामा माछा पाल्ने निर्णय गरें । पोखरी खनें । माछाका भुरा ल्याएँ । पोखरीमा हालें । बिस्तारै भुराहरू हुर्कन थाले ।
माछा हुर्कंने क्रममा पोखरीको डिलमा सिसौं र टिक रोपें । पोखरीमाथि बाँसको एउटा अग्लो कोठा निकालें र त्यसमा च्याउ खेती गरें । घर र पोखरी बनाएर कुनामा अलिकति जग्गा बाँकी थियो, त्यसमा सानो माछा बिक्री केन्द्र खोलें ।
माछा हुर्कंदै गए । व्यापार बढ्दै गयो । होलसेलमा लानेहरूको भीड बढ्न थाल्यो । रिटेलमा किन्ने पनि त्यति नै थिए । साथीहरूले सुझाव दिए, यो माछा पसलको छेउमा एउटा माछा रेस्टुराँ खोल्ने । त्यो पनि खोलें, त्यो पनि राम्रो चल्न थाल्यो ।
माछा पोखरी, अग्र्यानिक च्याउ, माछा पसल, रेस्टुराँ सबै तिर भ्याउन गाह्रो भयो । गाउँकै दुई जना भाइलाई सहयोगी राखें । उनीहरू पनि रोजगार भए । मैले पनि साथी पाएँ । ऋण काढेर वैदेशिक रोजगारीमा गएको म आज गाउँमा सफल उद्यमीका रूपमा परिचित हुन पुगें ।
पाँच वर्षभित्रमा म निम्न वर्गबाट मध्यम वर्गमा पुगें, त्यही विदेशको ५ लाख कमाइ, स्वदेशको १ कठ्ठा जग्गा र आफ्नो श्रमशील स्वभावका कारण ।
पोखरीको किनारमा रोपेका सिसौ र टिकका रूख परिपक्व भैसकेका थिए । तिनलाई बेचेर झन्डै डेढ लाख रुपैयाँ प्राप्त भयो । टाटीको घर भत्काएर दुईतले आरसीसी घर बनाएँ ।
माथिल्लो तलामा हाम्रो परिवार बस्न थाल्यो । तल्लो तल्ला जेटिएले भाडा लिए । यसरी मेरो आम्दानी बढेको बढ्यै थियो ।
अरबको गर्मीमा २५ हजार रुपैयाँ तलब खाने म, नेपाल फर्किएपछि तीन जनालाई २५ हजारको जागिर दिने भैसकेको थिएँ । कोही यसलाई चमत्कार भन्थे । कोही मेरो भाग्य बलियो मान्थे । कोही ग्रहदशा सप्रिएको विश्वास गर्थे । म भने, यो सबै श्रमलाई सम्मान गर्ने, स्वदेशमै पसिना बगाउने आँट र साहसको परिणाम मान्थें ।
अहिले म बेरोजगार युवाहरूलाई रोजगार बन्ने तरिका सिकाउने मोटिभेटर भएको छु । देश–विदेशबाट मेरो अग्र्यानिक चमत्कार हेर्ने, रिपोर्टिङ गर्नेहरूको भीड लाग्छ । यी आज पनि एक जना विदेशी महिला पत्रकार आएकी छिन् । उनलाई मैले आफ्नो सफलताको कथा सुनाउनुपर्नेछ, अंग्रेजीमा ....।
म झसंग ब्युँझन्छ । मेरो अगाडि एयर होस्टेज उभिएकी छिन् । भन्दैछिन्– जहाज ल्यान्ड गर्ने बेला भयो, सिट सिधा गर्नु होस् ।
क्रमश:
प्रकाशित :जेष्ठ १९, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्