फेरि युरोप र दक्षिण अमेरिकाकै वर्चस्व
असार २४, २०७५
विश्व फुटबलमा दुई महाशक्ति महादेश छन्, युरोप र दक्षिण अमेरिका । यो तथ्य फेरि एकपटक सावित भएको छ, विश्वकप–२०१८ का क्रममा । अहिले विश्वकप क्वाटरफाइनल चरणमा पुगेको छ । यसको अर्थ अब प्रतियोगितामा आठ टिमको मात्र चुनौती बाँकी छ । आजदेखि नै यी क्वाटरफाइनलका खेल सुरु हुनेछन् । अब प्रतियोगितामा के–कसो हुन सक्छ, त्यसको रूपरेखा पनि तयार छ ।
अन्तिम आठमा पुगेका टिममध्ये ६ वटा टिम युरोपका छन् भने बाँकी दुई दक्षिण अमेरिकाका । यहाँ फेरि एउटा प्रश्न सान्दर्भिक भएको छ र त्यो हो— किन एसिया तथा अफ्रिकी टिम विश्वकपमा धेरै अघिसम्म पुग्न सक्दैनन् । अन्तिम आठको चरणसम्म पनि पुग्न नसक्नु एसिया र अफ्रिकी टिमका लागि असफलताको संकेत हो । कम्तीमा जापान अन्तिम १६ सम्म पुगेको थियो, कुनै पनि अफ्रिकी टिमले त्यति पनि सफलता हात पार्न सकेनन् ।
प्रतियोगिता दोस्रो चरणमा प्रवेश गर्दा केही अपेक्षित नतिजा आए भने केही नितान्त अनपेक्षित नतिजा आए । जस्तो साविकको विजेता जर्मनी अघिल्लै चरणमा बाहिरियो भने अन्य दुई पूर्व विश्वकप विजेता यही चरणमा रोकिए । फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हरायो भने स्पेन आयोजक रूसको हातबाट टाइब्रेकरमा स्तब्ध भयो । पेनाल्टी सुटआउटमा स्पेन ४–३ ले पछाडि पर्यो । युरोपेली च्याम्पियन पोर्चुगललाई पनि उरुग्वेले २–१ ले पराजित गर्यो ।
ब्राजिल र बेल्जियमको जित भने धेरै हदसम्म अपेक्षित थियो । ब्राजिलले मेक्सिकोलाई २–० ले हरायो । बेल्जियमले भने उत्कृष्ट पुनरागमन रच्दै जापानलाई ३–२ ले निराश तुल्यायो । उक्त खेलमा बेल्जियम एक समय दुई गोलले पछाडि थियो र जापानले अप्रत्याशित नतिजा निकाल्ने छाँट देखाएको थियो, तर अन्त्यमा उक्त समीकरण फेरियो । बेल्जियम तीन गोल फर्काउन सफल भयो ।
प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो खेल्न सफल क्रोएसियाले डेनमार्कलाई हराउन भने संघर्ष गर्नुपर्यो । टाइब्रेकरमा पुगेको उक्त खेलमा अन्तत: क्रोएसिया ३–२ ले विजयी भयो । दुई युरोपेली देशको भिडन्तमा स्वीडेनले स्वीजरल्यान्डलाई १–० ले हरायो । कोलम्बियामाथि इंग्ल्यान्डको जितपनि टाइब्रेकरमै सम्भव भयो । त्यसमा युवा खेलाडीले भरिएको इंग्ल्यान्ड ४–३ ले विजयी रह्यो ।
अब अन्तिम आठमा चार पूर्व विश्वकप विजेता बाँकी छन्— ब्राजिल, उरुग्वे, फ्रान्स र इंग्ल्यान्ड । अबको प्रश्न के पनि हुनेछ भने के विश्वकपले नयाँ विजेता पाउनेछ अथवा फेरि एकपटक यसअघि नै विश्वकप जितिसकेका टिमले फेरि त्यस्तै सफलता दोहर्याउनेछन् । अहिलेसम्म विश्वकप नजितेका दुई टिमबाट त्यस्तो केही अपेक्षा गर्न सकिन्छ, अर्थात् बेल्जियम र क्रोएसियाबाट ।
क्वाटरफाइनलमा सबैभन्दा ठूलो खेल हुनेछ, ब्राजिल विरुद्ध बेल्जियम । यही ‘पोल’ मा उरुग्वे र फ्रान्सबीच पनि प्रतिस्पर्धा हुनेछ । त्यो दुई पूर्वविजेताको खेल हुनेछ । यिनै चार टिममध्ये एकले फाइनलको यात्रा गर्नेछन् । संयोग कस्तो छ भने यहाँबाट बेल्जियम अघि बढ्न सफल भयो भने विश्वकपले नयाँ विजेता पाउनेछ । त्यसका लागि बेल्जियम सक्षम पनि देखिन्छ, तर उसले सबैभन्दा ठूलो खड्गो ब्राजिललाई पन्छाउन सक्नुपर्छ ।
अर्को ‘पोल’ मा पूर्व विजेता इंग्ल्यान्ड मात्र छ । इंग्ल्यान्डको तत्कालको प्रतिद्वन्द्वी स्वीडेन हो । यस्तै अर्को खेलमा आयोजक रूसले क्रोएसियाको सामना गर्नेछ । रूसको अहिलेसम्मको यात्रा पनि आफैमा रोमाञ्चक छ । विश्वकप सुरु हुनुअघिसम्म फिफा वरियतामा (विश्वकप–२०१८ का सहभागीहरू मध्ये) सबैभन्दा पुछारमा रहेको रूसले केही गर्नेछ भनेर कसैले विश्वास गरेका थिएनन्, अहिले यही टिम अन्तिम आठमा पुगेको छ ।
अहिले पूरा रूस फुटबलमय भएको छ र सबै रूसी फुटबल समर्थक खुसीले उत्सव मनाइरहेका छन् । स्पेनलाई पन्छाएको रूसले अब त्यो भन्दा पनि ठूलो चुनौतीका रूपमा क्रोएसियाको सामना गर्नेछ । इंग्ल्यान्डले अहिलेसम्म तय गरेको यात्रामा भने उसका समर्थक खुसी छन् । इंग्ल्यान्डले युवा खेलाडीको टिम उतारेकाले पनि यहाँसम्मको यात्रा तय गरेको हो । पूर्व विजेताका आधारमा अर्को ‘पोल’ को तुलनामा इंग्ल्यान्डलाई केही सजिलो पनि छ । उसले अब क्वाटरफाइनलमा स्वीडेनको सामना गर्नुपर्नेछ, जुन चाहिँ त्यति सहज हुनेछैन ।
प्रकाशित :असार २४, २०७५



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्